विचारधारात्मक खडेरीका विरुद्ध नेकपाको स्कुलिङ

अम्बिका चन्द / काठमाडौं :  साना–ठूला कुनैपनि कार्यक्रम गर्नुपरेमा राजनैतिक दल तथा संघसंस्थाहरूको रोजाईमा सहरका ठूला र महङ्गा होटेलहरू पर्ने गर्दछन् । त्यसैगरी पार्टी प्यालेस र व्यवस्थित हलहरूमा झण्डा–ब्यानर टाँगिन्छन् । तर त्यसको ठीक विपरीत नेकपाले ग्रामीण इलाका काठमाडौं चन्द्रागिरीको दहचोक गहते गाउँमा एक हप्ता लामो पार्टी स्कुलिङ चलायो । ‘धनरुप–सनराईज स्मृति केन्द्रीय स्कुलिङ’ नाम दिइएको उक्त पार्टी स्कुलमा देशभरीबाट २५ जना राजनीतिका विद्यार्थीहरू सहभागी भए । उनीहरूले त्यस पार्टी स्कुलमा दर्शन राजनैतिक अर्थशास्त्र, वैज्ञानिक समाजका अतिरिक्त सौन्दर्य शास्त्र र विज्ञान प्रविधिको बारेमा पनि अध्ययन गरे । पार्टी स्कुलमा पढाउनका लागि वरिष्ठ जलस्रोतविद् एवम् अन्तर्राष्ट्रिय कानुनविद् डा. गोपाल सिवाकोटी ‘चिन्तन’ देखि जनयुद्धकालीन जनशिक्षालयका प्रमुख गुणराज लोहनीसम्म गहते गाउँ पुगे । यस्तै नेपाल–भारतलगायतका देशहरूको सम्बन्ध र त्यहाँका कम्युनिस्ट पार्टीको विषयमा जानकार नेता एवम् नेकपाका अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला र अर्थशास्त्रमा दख्खल राख्ने प्राध्यापक रमेश शर्माले माक्र्सवादी विद्यार्थीहरूलाई पढाउन चन्द्रागिरी पुगे । नेकपाको स्कुलिङ विभागले किन ग्रामीण इलाकामा स्कुल चलाउने योजना बनायो त ? स्कुलिङ विभागका सदस्य रणवीर भन्दछन्– ‘एकीकृत जनक्रान्तिको कार्यदिशालाई जनतासँग जोड्नको लागि हामीले गाउँमा पार्टी स्कुल चलाउने निर्णय गरेका हौं ।’ चन्द्रागिरीको गाउँ नै किन पार्टी स्कुलिङको लागि उपयुक्त ठाउँ बन्यो त ? नेकपाका केन्द्रीय सदस्य एवम् शिक्षक गुणराज लोहनी भन्छन्– ‘ गहते गाउँ हाम्रो आधार गाउँ पनि भएको र यहाँबाट देखिने प्राकृतिक दृश्यहरूले पढ्ने पढाउने मनोविज्ञान तयार गर्ने भएकोले हामीले त्यहीँ रोजेका हौँ ।

गहते गाउँमै भेटिएका दाङका माक्र्सवादी शिक्षालयका विद्यार्थी हरि नेपालीले आफ्नो राजनीतिक जीवनको कालखण्डमा सबैभन्दा उत्कृष्ट र विशेष समय भनेको गहते गाउँको एकहप्ते स्कुलिङ भएको प्रतिक्रिया दिए । पढ्नको लागि सगरमाथादेखि झोलामा दैनिक आवश्यकीय सामान बोकेर चन्द्रागिरीको गहते पुगेका शैलेशले एक हप्ता लामो स्कुलमा दर्शन, विज्ञान–प्रविधिको अध्ययन गरेर आफूले वैचारिक हतियार प्राप्त गरेको बताउँदै दर्शन र व्यवहार बीचको अन्तरविरोध हल गर्नको लागि यो स्कुल निकै महत्वपूर्ण भएको बताए । यस्तै जनकपुरबाट आएका राजु कार्कीले गीत–संगीतको ताल बेगर नाचिरहेकाहरूलाई तालिमले तालमा नाच्न सिकाएजस्तै यो स्कुलले आफूहरूलाई अब तालमा नाच्न, मालेमावादप्रति अझ विश्वस्त बनाउन र सही विश्वदृष्टिकोण निर्माण गर्न निकै प्रेरक बनेको वताए । यस्तै गण्डकबाट पार्टी स्कुलमा सहभागी रुपेशले कलात्मक तरिकाले यसरी भने– ‘एउटा बाबुका तीनभाई छोरा रहेछन् । बाबुले तीन छोराहरूको लागि आफूसँग भएको तीन पाथी मकै एक–एक पाथीको दरले वितरण गरिदिएछन् । तिमध्ये एउटाले मकै भुटेर खाजा खाएर सकेछ । अर्कोले बाबाले दिएको धन भनेर काठको बाकसमा साँचेर राख्दा एक वर्षपछि किराले खाएर नष्ट बनाएछ । अर्कोले उक्त मकैलाई बारीमा लगेर रोपेछ र एक बर्षपछि ३ मुरी कमै फलाएछ । ठीक यसैगरी अहिले एकभाई प्रचण्डले मकै भुटेर खाइसक्दैछन् । अर्काभाइ वैद्यले जतनले बाकसमा मकै राख्दा किराले खाएर नष्ट गर्न लाग्यो । अर्काभाइ विप्लवले बारीमा रोपेर उमारेका छन् । विप्लवले बारीमा रोपेको मकैलाई कसरी गोडमेल गर्ने र मलजल गर्ने, सैद्धान्तिक तरिका सिकाएको छ यो पार्टी स्कुलले र मैले यही सिकेँ ।’

 

आधारभूत, माध्यमिक र उच्च गरी तीन तहको पाठ्यक्रम नै तयार गरेर भाद्र १३ देखि १९ गतेसम्म सञ्चालन गरिएको उक्त पार्टी स्कुलिङमा दर्शनशास्त्र सुदर्शन, विज्ञान र प्रविधि गुणराज लोहनी, वैज्ञानिक समाजवाद रणवीर, राजनैतिक अर्थशास्त्रको विषय गोपाल शिवाकोटी ‘चिन्तन’, रमेश शर्मा र गम्भीरले पढाएका छन् । यस्तै सैन्य विज्ञानको बारेमा पूर्व जनसेना कमाण्डर प्रज्वलनले पढाएका छन् । स्कुलिङको कक्षा समयबाहेक बाँकी समय सहभागीहरूले स्थानीय जनतासँग अन्तरक्रिया र छलफल चलाएर सिद्धान्तलाई व्यवहारमा जोड्ने प्रयत्न गरेका छन् ।

एक हप्ता लामो स्कुलिङको मंगलबार समापन गर्दै नेकपाका स्थायी समिति सदस्य तथा स्कुलिङ विभाग प्रमुख हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले नेपालमा विचारको निकै खडेरी परेको बताउँदै नवसंशोधनवादका विरुद्धको लडाईंमा यो पार्टी स्कुलले नेपालमा क्रान्ति हुन्छ भन्ने विश्वास गरेको बताए । साथै कम्युनिस्ट दर्शनलाई जनतासँग जोडेर जान आवश्यक भएको भन्दै अब देशभरी नै पार्टी स्कुल सञ्चालन गरी पार्टीका नेताकार्यकर्ताहरूलाई राजनैतिक र वैचारिक रुपले माथि उठाउने योजना रहेको पनि सुदर्शनको भनाई छ ।

यसैबीच मंलगबार नै माओवादी केन्द्र, क्रान्तिकारी माओवादी र स्वतन्त्रबाट गरी ५ जना नेकपामा प्रवेश गरेका छन् । स्कुलिङ विभागको समापन समारोहको अवसरमा नेकपाका पूर्वी कमाण्ड इन्चार्ज सुदर्शन र उपत्यका विशेष ब्युरो इन्चार्ज माइला लामाले नवप्रवेशीहरूलाई टिका र दोसल्ला ओढाएर पार्टी प्रवेश गराए । पार्टी प्रवेश गर्नेहरूमा मंगल रोका, कमला रोका, रोहित हमाल, निर्माण बुढा र रामकृष्ण रोका रहेका छन् । यस्तै जनयुद्धका घाइतेयोद्धा सागर खड्कालाई सम्मान गरिएको थियो ।
२०७४ भदौ २२ गते १० ५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :