नेकपा (बहुमत) सिन्धुपाल्चोकमा प्रतीकको संयोजकत्वमा १५ सदस्यीय सम्मेलन आयोजक समिति गठन

नेकपा (बहुमत) सिन्धुपाल्चोकमा प्रतीकको संयोजकत्वमा १५ सदस्यीय सम्मेलन आयोजक समिति गठन

सिन्धुपाल्चोक : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सिन्धुपाल्चोक जिल्ला समितिको प्रथम बैठक तथा प्रशिक्षण सिन्धुपाल्चोकको खाडीचौर बजारमा सम्पन्न भएको छ ।

नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् पूर्वी बागमती ब्युरो इन्चार्ज अटलको प्रमुख आतिथ्य, नवौँ महाधिवेशन आयोजक समिति सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज विनयराज शर्माको आतिथ्यमा सम्पन्न बैठकले पार्टीको विशेष राष्ट्रिय भेलाले तय गरेको नयाँ कार्यदिशा र कार्यनीतिअनुसार सिन्धुपाल्चोक जिल्ला दृढ भएर अगाडि बढ्ने निर्णय गरेको छ । निर्णयहरूबारे स्पष्ट पार्दै अटलले समाजवादी क्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न जनतासँग हातेमालो गरेर अगाडि बढ्ने बताए ।

सिन्धुपाल्चोक जिल्ला इन्चार्ज विनय शर्माले आयोजक समितिले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा निर्देशनात्मक प्रशिक्षण दिएका थिए । उनले किसानका लागि आवश्यक समयमा सरकारले मल उपलब्ध गराउन नसकेकाले जनताको समस्या तत्काल हल गर्नुपर्ने पनि बताए ।

बैठकले राष्ट्रिय जनतन्त्रका विषयमा सङ्घर्ष सञ्चालन गर्ने, विशेषगरी सिन्धुपाल्चोक जिल्लाका प्रत्येक गाउँपालिका र नगरपालिकामा ज्ञापनपत्र बुझाउने, चर्को ब्याज असुल गर्ने, मिटरब्याजी, चर्को रूपमा भएको मूल्य वृद्धिविरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ । बैठकले एमसीसीलगायत राष्ट्रघाती सम्झौताविरुद्ध जनसङ्घर्ष गर्ने, भ्रष्टाचारविरुद्ध जनताको साथ लिएर भन्डाफोर अभियान चलाउने निर्णय गरेको छ ।

पार्टीले आफ्नो पार्टीका तत्कालीन, दीर्घकालीन र रणनीतिक एवम् कार्यनीतिक सवालहरूमा जिल्लाभरि पोस्टर–पम्प्लेट टाँस्ने, वालपेन्टिङ गर्ने, जिल्लाभरि सङ्गठन विस्तार अभियान तीव्र रूपले चलाउने, जिल्लाका सबै वडामा एकाइ समिति निर्माण गर्ने निर्णय गरेको छ । बैठकले विभिन्न विभागहरू पनि गठन गरेको छ ।

बैठकको अध्यक्षता तथा सञ्चालन सिन्धुपाल्चोक जिल्ला संयोजक प्रतीकले गरेका थिए । विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीबाट विद्रोह गरी भैरव र सुस्मिता नेकपा (बहुमत) मा ध्रुवीकृत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :