विप्लव समूहमा अर्को पहिरो, सर्लाहीका बाँकी नेता–कार्यकर्ता पनि नेकपा (बहुमत) मा ध्रुवीकृत

काठमाडौँ : विप्लव समूहको सर्लाहीका बाँकी नेता–कार्यकर्ता पनि नेकपा (बहुमत) मा ध्रुवीकत भएका छन् । प्रेस विज्ञप्तिमार्फत विप्लव समूहको पार्टी र जवस मोर्चाहरू परित्याग गरी नेकपा (बहुमत) मा ध्रुवीकृत बनेको घोषणा गर्नेहरूमा युवा सङ्गठन नेपाल सर्लाही जिल्लाका पूर्वअध्यक्ष तारा लामा, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ सर्लाही जिल्ला सचिव अम्बरबहादुर रुजाल ‘विष्णु’, अखिल नेपाल भूमिहीन सुकुमबासी सङ्घ सर्लाही जिल्ला सदस्य मीनबहादुर आले, मिश्रीमाया तामाङ, दलमाया किङ्रिङलगायत ५ जना छन् ।

पाँचजनाले मङ्गलबार जारी गरेको संयुक्त विज्ञप्तिको पूर्ण विवरण यसप्रकार रहेको छ :

नेपाली क्रान्तिकारी इतिहासको महान् आन्दोलन दसबर्से जनयुद्धको विघटनपछि क्रान्तिकारी आन्दोलनको पुनर्गठन प्रयासलाई विभिन्न चरणमा अगाडि बढाउँदै जाँदा नेपाल कम्युनिस्ट पार्टीको गठन तथा एकीकृत जनक्रान्तिको संश्लेषण भयो । यो प्रयासले देशभक्त तथा क्रान्तिकारी तप्कामा पुनः एउटा आशाको रक्तसञ्चार सुरु भयो । यही आशा र विश्वासका साथ हजारौँ कार्यकर्ता र लाखौँ समर्थक/शुभचिन्तक जनता नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्तिको झन्डामुनि गोलबन्द भए । यसक्रममा पार्टीमाथि राज्यले प्रतिबन्धसमेत लगायो । बाह्रजना योद्धाको सहादत भयो । सयौँजनाले जेल–हिरासत सामना गर्नुपर्यो । आजको दिनसम्म पनि दर्जनौँ नेता–कार्यकर्ता जेलमै हुनुहुन्छ । विडम्बनाको कुरा, यो भयो कि जब पार्टी र नेपाल सरकारबीच तीनबुँदे सहमति भएर प्रतिबन्ध खारेज भयो, तत्पश्चात् पार्टी क्रमशः सुधारवादको ओरालो लाग्न सुरु गर्यो । एकातिर नेतृत्व तहले निजी वैभवहरू आर्जन गर्दै जाने र अर्कोतिर क्रान्तिको स्पष्ट मार्गचित्र नभएपछि आज सयौँ कार्यकर्ता अन्योल र अकर्मण्यताको भुमरीमा फसिरहेका छन् । पलायन व्यापक बढिरहेको छ । नेतृत्व यसप्रति संवेदनशील छैन ।

एकीकृत जनक्रान्तिको कार्यदिशा एउटा अमूर्त भाष्य बन्न गएको छ जसलाई जत्ति बेला जे मन लाग्छ त्यो गर्नु एकीकृत जनक्रान्ति भैरहेको छ । त्यत्ति मात्र नभएर यो एक अमूर्त र रहस्यमयी कार्यदिशा बन्न गएको छ । यो स्थितिमा एकीकृत जनक्रान्तिको रटान गरिरहनु सहिद तथा बन्दी कमरेडहरूप्रतिको धोका त हुँदै हो । आफू स्वयम्लाई धोका दिनु तथा जनता र क्रान्तिलाई समेत धोका दिनु हुन जाने भएकाले आजैका मितिदेखि हामी तपसिलका कमरेडहरू सामूहिक रुपमा नेपाल कम्युनिस्ट पार्टी परित्याग गरेर नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मा आबद्ध भएको घोषणा गर्दछौँ ।

स्मरणीय छ, १० दिनअगाडि २०७९ असार २६ गते पनि सर्लाही जिल्ला सचिवालय सदस्यहरू विचारमान थिङ, पदम मगर, किसुनदेव शर्मा, ठगा रामलगायत १३ जना जिल्ला नेताहरूले एक विज्ञप्तिमार्फत सामूहिक रूपमा पार्टी परित्याग गर्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मा आबद्ध भएको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :