मधेसमा गयो विप्लव समूहमा पहिरो, सर्लाहीका सयौँ नेता–कार्यकर्ता नेकपा (बहुमत) मा ध्रुवीकृत

मधेसमा गयो विप्लव समूहमा पहिरो, सर्लाहीका सयौँ नेता–कार्यकर्ता नेकपा (बहुमत) मा ध्रुवीकृत

काठमाडौँ : मधेस प्रदेशमा विप्लव समूहमा पहिरो गएको छ । सर्लाही जिल्लाका सयौँ पार्टी नेता–कार्यकर्ताले विप्लव नेतृत्वको पार्टीमा नेतृत्व तहले निजी वैभवहरू आर्जन गर्दै गएको र क्रान्तिको स्पष्ट मार्गचित्र नभएपछि सयौँ कार्यकर्ता अन्योल र अकर्मण्यताको भुमरीमा फसिरहेको भन्दै उक्त पार्टीबाट विद्रोह गरी नेकपा (बहुमत) मा लामबद्ध भएको घोषणा गरेका हुन् ।

संयुक्त वक्तव्य जारी गर्दै विप्लव पक्षबाट विद्रोह गरेका नेता–कार्यकर्ताले एकीकृत जनक्रान्तिको कार्यदिशा एउटा अमूर्त भाष्य बन्न गएको, जसलाई जति बेला जे मन लाग्छ त्यो गर्नु एकीकृत जनक्रान्ति भैरहेको, त्यति मात्र नभएर यो एक अमूर्त र रहस्यमयी कार्यदिशा बन्न गएकाले एकीकृत जनक्रान्तिको रटान गरिरहनु सहिद तथा बन्दी कमरेडहरूप्रतिको धोका मात्र नभएर आफू स्वयम्लाई धोका दिनु तथा जनता र क्रान्तिलाईसमेत धोका दिनु हुन जाने भएकाले आजैका मितिदेखि उक्त समूहाट विद्रोह गरी नेकपा (बहुमत) मा ध्रुवीकरण भएको उल्लेख गरेका छन् ।

पार्टी परित्याग गर्नेमा युवा सङ्गठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश नम्बर २ का इन्चार्ज, सर्लाही जिल्ला सचिवालय सदस्य विचारमान थिङ, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका केन्द्रीय सचिवालय सदस्य, प्रदेश नम्बर २ इन्चार्ज तथा सर्लाही जिल्ला सचिवालय सदस्य पदम मगर, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला सचिवालय सदस्य किशुनदेव शर्मा, मधेसी मुक्ति मोर्चा केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला सचिवालय सदस्य ठगा राम, युवा सङ्गठन नेपाल केन्द्रीय सदस्य तथा सर्लाही, रौतहट इन्चार्ज भरत पुलामी, तामाङ मुक्ति मोर्चा नेपाल जिल्ला अध्यक्ष मानबहादुर वाइबा, सर्लाही जिल्ला सदस्य मदन महतो, जिल्ला सदस्य रामप्रसाद महतो, जिल्ला सदस्य उमेश महतो, बागमती नगर सेक्रेटरी तथा सर्लाही जिल्ला सदस्य इन्द्रमान वाइबालगायत छन् । उनीहरूले आइतबार सामूहिक राजीनामा दिँदै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मा आबद्ध भएको घोषणा गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति सर्लाहीका तर्फबाट जारी प्रेस वक्तव्यको पूर्ण विवरण यसप्रकार रहेको छ 

नेपाली क्रान्तिकारी इतिहासको महान् आन्दोलन, दसबर्से जनयुद्धको विघटनपश्चात् क्रान्तिकारी आन्दोलनको पुनर्गठन प्रयासलाई विभिन्न चरणमा अगाडि बढाउँदै जाँदा नेपाल कम्युनिस्ट पार्टीको गठन तथा एकीकृत जनक्रान्तिको संश्लेषण भयो । यो प्रयासले देशभक्त तथा क्रान्तिकारी तप्कामा पुनः एउटा आशाको रक्तसञ्चार सुरु भयो । यही आशा र विश्वासका साथ हजारौँ कार्यकर्ता र लाखौँ समर्थक, शुभचिन्तक जनता नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्तिको झन्डामुनि गोलबन्द भए । यसक्रममा पार्टीमाथि राज्यले प्रतिबन्धसमेत लगायो । बाह्रजना योद्धाहरूको साहदत भयो । सयौँजनाले जेल–हिरासत सामना गर्नुपर्यो । आजको दिनसम्म पनि दर्जनौँ नेता–कार्यकर्ता जेलमै हुनुहुन्छ । विडम्बनाको कुरा यो भयो कि जब पार्टी र नेपाल सरकारबीच तीनबुँदे सहमति भएर प्रतिबन्ध खारेज भयो, तत्पश्चात्देखि पार्टी क्रमशः सुधारवादको ओरालो लाग्न सुरु ग¥यो । एकातिर नेतृत्व तहले निजी वैभवहरू आर्जन गर्दै जाने र अर्कोतिर क्रान्तिको स्पष्ट मार्गचित्र नभएपछि आज सयौँ कार्यकर्ता अन्योल र अकर्मण्यताको भुमरीमा फसिरहेका छन् । पलायन व्यापक बढिरहेको छ । नेतृत्व यसप्रति संवेदनशील छैन ।
एकीकृत जनक्रान्तिको कार्यदिशा एउटा अमूर्त भाष्य बन्न गएको छ जसलाई जति बेला जे मन लाग्छ त्यो गर्नु एकीकृत जनक्रान्ति भैरहेको छ । त्यति मात्र नभएर यो एक अमूर्त र रहस्यमयी कार्यदिशा बन्न गएको छ । यो स्थितिमा एकीकृत जनक्रान्तिको रटान गरिरहनु सहिद तथा बन्दी कमरेडहरूप्रतिको धोका त हुँदै हो, आफू स्वयम्लाई धोका दिनु तथा जनता र क्रान्तिलाईसमेत दिनु हुन जाने भएकाले आजैका मितिदेखि हामी तपसिलका कमरेडहरूले सामूहिक रुपमा नेपाल कम्युनिस्ट पार्टी परित्याग गरेर नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मा आबद्ध भएको घोषणा गर्दछौँ । देशैभरि रहनुभएका सम्पूर्ण इमानदार र क्रान्तिप्रति बफादार कमरेडहरूलाई क्रान्तिको नयाँ पहलकदमीमा सहभागी हुन हार्दिक अनुरोध गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :