देशभरका क्रान्तिकारी युवा काठमाडौँमा

नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवकको विशेष राष्ट्रिय भेला आज सुरु हुँदै,

देशभरका क्रान्तिकारी युवा काठमाडौँमा

काठमाडौँ : नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपालको विशेष राष्ट्रिय भेला आज सुरु हुँदैछ । भेलाका लागि देशका सबै जिल्लाबाट प्रतिनिधि चयन भएका युवा काठमाडौँ आइपुगिसकेका छन् । युवा सङ्गठनका संयोजक हरिशले रातो खबरसँग कुरा गर्दै भेलाको सम्पूर्ण तयारी पूरा भइसकेको र केही समयमै भव्यतापूर्वक उद्घाटन हुने जानकारी दिए । नेकपा (बहुमत) का संयोजक कञ्चनले भेला उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । युवा सङ्गठनले राष्ट्रिय भेलाका लागि संसदीय संशोधनवाद र राष्ट्रिय आत्मसमर्पणवादका विरुद्ध सङ्घर्ष गरौँ, भ्रष्टाचार, महँगी र बेरोजगारी अन्त्यका लागि सशक्त युवा आन्दोलन सिर्जना गरौँ’ भन्ने नारा तय गरेको छ ।

प्राप्त जानकारीअनुसार आज काठमाडौँ पुरानो बानेश्वरस्थित ओम साई पार्टी प्यालेसमा देशभरका सयौँ क्रान्तिकारी युवाहरूको उपस्थितिमा भेला उद्घाटन हुनेछ । भेलामा देशका ७७ जिल्लाबाटै प्रतिनिधित्व हुने एवम् देश र श्रमिक जनताको मुक्तिका लागि जारी वैज्ञानिक समाजवादी क्रान्तिमा युवाको भूमिका कस्तो रहने भन्ने विषयमा गम्भीर छलफल र बहस भई नयाँ नीति, कार्यक्रम र नेतृत्व चयन हुने बताइएको छ ।

विप्लव समूह संसद्वादी बाटो रोज्दै चुनावमा गएपछि नेकपा (बहुमत) पुनर्गठन भएको थियो । पार्टी पुनर्गठनपछि सम्पूर्ण जवस र मोर्चाहरूका राष्ट्रिय भेला र सम्मेलनहरू भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :