दोलखा दुग्ध संस्थानको गुणस्तरहीन काम रोक्न नेकपा (बहुमत) को चेतावनी

काठमाडौँ : दोलखा जिल्लाको दुग्ध संस्थानको भौतिक संरचना निर्माणकार्यमा गुणस्तरहीन काम भएको बन्दै नेकपा (बहुमत) दोलखाले चेतावनीपूर्ण प्रेस विज्ञप्ति जारी गरेको छ । प्रदेश सरकारअन्तर्गतको पशुपन्छी मन्त्रालयमार्फत विनियोजित बजेटको काम गुणस्तरहीन भएको सूचना पाएपछि अनुगमन गरेर प्रमाणसहित नगरपालिका र दुग्ध स्थानलाई उद्धृत गर्दै पार्टीले विज्ञप्ति जारी गरेको छ ।

दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नं ६ स्थित दोलखा दुग्ध संस्थानमा भइरहेको प्रदेश सरकारअन्तर्गतको पशुपन्छी मन्त्रालयमार्फत विनियोजित बजेटको काम भइरहेको र काम गुणस्तरहीन भएको व्यापक जनगुनासो आएपछि पार्टी अनुगमनमा जाँदा गुणस्तरहीन भएको प्रमाण भेटिएको विज्ञप्तिमा उल्लेख छ ।

यसप्रकारको स्तरहीन काममा पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै विज्ञप्तिमा गुणस्तरहीन कामको भुक्तानीसमेत रोकी पुनः काम गर्न वा गराउनसमेत विज्ञप्तिमार्फत जानकारी गराइएको छ । कामको बिल, भर्पाइ गरी योजना फस्र्योट गरेमा पार्टी जनकारबाही उत्रिन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।

अन्य विकास निर्माणका योजनाहरूमा समेत गुणस्तरहीन काम भइरहेको उल्लेख गर्दै विज्ञप्तिमा तत्काल त्यस्ता गुणस्तरहीन योजना रोकेर गुणस्तरीय काम गर्न–गराउन नेकपा (बहुमत) ले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । पार्टीको अपिललाई अवज्ञा गरिएमा जनकारबाहीबाट निस्किने परिणामको जिम्मेवारी स्वयम् दुग्ध संस्थान र नगरपालिकाको कार्यालय हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

इन्चार्ज विनयराज र संयोजक अन्जानद्वारा जारी विज्ञप्तिमा नेपालको इतिहासमा नेपाली जनताले राजनीतिक, आर्थिक, विकास र सामाजिक परिवर्तनका लागि बलिदानीपूर्ण सङ्घर्ष गर्दै आएको र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आफ्नो स्थापनाकालदेखि नै जनजीविका, राष्ट्रियता, स्वाधीनता र विभिन्नखाले विसङ्गतिका विरुद्ध आवाज बुलुन्द गर्दै आएको सन्दर्भ उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :