दलाल पुँजीवाद रहेसम्म शिक्षा र स्वास्थ्यको समस्या पनि जारी रहन्छ : कञ्चन

दलाल पुँजीवाद रहेसम्म शिक्षा र स्वास्थ्यको समस्या पनि जारी रहन्छ : कञ्चन

काठमाडौँ : नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले दलाल पुँजीवाद कायम रहेसम्म शिक्षा, स्वास्थ्य, जनजीविका, जनतन्त्र, राष्ट्रियतालगायत सबै समस्या जारी रहने भएकाले यो व्यवस्था ढाल्न सबै परिवर्तनकारी शक्तिहरू एक हुनुपर्ने बताएका छन् । नेकपा (बहुमत) शिक्षा तथा स्वास्थ्य सेवा विभागले शनिबार काठमाडौँमा आयोजना गरेको ‘शिक्षा एवम् स्वास्थ्य क्षेत्रका समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि पार्टी संयोजक कञ्चनले शिक्षा, स्वास्थ्यलगायत जनजीविकाका समस्या हिजोदेखि ज्यूँका त्यूँ रहेको र अझै बढी असर गर्ने गरी बढिरहेको पनि बताए । यस्तै समस्या झेलेर, यिनै विषयहरूलाई आन्दोलनका विषय बनाएर सत्ता र सरकारमा पुगेका व्यक्तिहरू पुरानो व्यवस्था बदलेर जनतालाई सेवासुविधा दिनतिर नलागेर पुरानै अवस्थामा मिल्ने र भ्रष्टाचार गर्नेतिर लागेकाले समस्या समाधान हुन नसकेको पनि प्रस्ट पारे ।

यसको राजनीतिक कारण खोतल्दै नेता कञ्चनले भने, ‘आजको आजै यसका विरुद्ध क्रान्ति हुन्छ र रातारात समस्या समाधान हुन्छ भन्नेतिर भन्दा पनि यो दलाल पुँजीवादी व्यवस्थाका कारण उत्पन्न समस्या भएकाले जरैदेखि व्यवस्था बदल्नेतिर सोचौँ, लागौँ । शिक्षा र स्वास्थ्यमा राज्यले तत्काल समाधान गर्नसक्ने कुरा छन्, गरोस् ।’

संयोजक कञ्चनले अगाडि भने, ‘हामी दलाल पुँजीवादी व्यवस्थामा समन्वयवादी हुन सक्तैनौँ । देश र जनताका पक्षमा समन्वय गर्ने प्रयास गर्दा पनि भएन भने आवश्यकताअनुसार आर्थिक, नीतिगत, वैचारिक भ्रष्टहरूमाथि कालोमोसो, भाटे कारबाही र त्यसभन्दा माथिका कारबाही पनि हुन सक्छन् ।’

वीरलगायत सरकारी अस्पतालहरूमै पाँचदेखि आठ हजार प्रतिशतसम्म बढी मूल्य लिएर औषधी बेचिएका सूचना सार्वजनिक गर्दै संयोजक कञ्चनले स्वास्थ्य, शिक्षालाई राज्यले नागरिकका मौलिक अधिकारका रूपमा परिभाषा गरे पनि दलालतन्त्रले श्रमिक वर्गका जनतालाई विभेदीकरणको मारमा पारेर बाँच्न र सभ्य नागरिक हुनबाट वञ्चित गराएको प्रस्ट पारे । उनले अघि भने, ‘उत्पीडित वर्ग र सरोकारवाला पक्ष मिलेर राज्यलाई शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकता सहज, सुलभ र निःशुल्क रूपमा पूरा गर्न राज्यलाई दबाब दिऊँ । त्यति गर्दा पनि समस्या समाधान हुन नसकेमा आगो त बाल्नैपर्छ । त्यो आगो संयुक्त रूपमा बालौँ ।’

निजी विद्यालय खोलेर विद्यालय सञ्चालन गरिरहेका शिक्षा व्यवसायीतर्फ सङ्केत गर्दै प्रमुख अतिथि कञ्चनले भने, ‘विद्यालयको ढोका सबैका लागि खुला गर्नुस् । शिक्षामा व्यापार नगर्नुस् । समान स्तरको र समान प्रकारको शिक्षा दिनुस् तर त्यसको खर्च राज्यसँग लिनुस्, जनतासँग होइन । तब मात्र शिक्षा सेवा पनि हुन्छ, व्यापार मात्र हुँदैन । तब राज्य असभ्य हुँदैन । अन्यथा जुन पक्षले नागरिकलाई स्वास्थ्य, शिक्षा, खाना, आवासको व्यवस्था नगरेर जङ्गली सभ्यतातिर फर्काउने हर्कत गर्छ, उसको टाउकोमा बमवर्षा गर्नैपर्छ । यस्तै अवस्थालाई समबोधन गरेर माओले बम बार्ड द बुर्जुवाज हेडक्वार्टर भन्नुभएको थियो । हामी हाम्रो समाजलाई असभ्य बन्न दिँदैनौँ । वैज्ञानिक समाजवाद स्थापना गरेर सभ्य समाज बनाउन चाहन्छौँ ।’

त्यसअघि शिक्षा र स्वास्थ्य क्षेत्रका समस्या र समाधानविषयक डिजिटल कार्यपत्र प्रस्तुत गर्दै नेकपा (बहुमत) का कार्यालय सचिव एवम् माक्र्सवादी शिक्षाविद् गुणराज लोहनीले विद्यमान बुर्जुवा संविधानमा लेखिएको प्रावधान लागू गर भनेर आन्दोलन अघि बढाउँदा मात्र पनि शिक्षा र स्वास्थ्य क्षेत्रका धेरै समस्या सतहमा आउने बताएका थिए । उनले वर्गसमाजमा शिक्षा, स्वास्थ्य, रोजगारलगायत सबै क्षेत्र वर्गीय हुने भएकाले त्यसका विरुद्ध वर्गसङ्घर्ष नै सञ्चालन गर्नुपर्नेमा जोड दिए । वर्गसङ्घर्ष नभएसम्म, पुँजीवादी शिक्षा र स्वास्थ्य क्षेत्रका भ्रष्टाचारका अखडाहरूमा आगो नझोसेसम्म समस्या समाधान नहुनेमा जोड दिँदै उनले नीति निर्माण तहदेखि कार्यान्वयन तहसम्मै शिक्षा र स्वास्थ्य माफियाहरूले कब्जा गरेको तथ्याङ्क नै पेस गरेका थिए ।

नेकपा (बहुमत) का सचिवालय सदस्य एवम् पार्टीको शिक्षा तथा स्वास्थ्य सेवा विभागका इन्चार्ज पूर्णबहादुर सिंहले व्यवस्थाको चरित्र नै दलाल भएकाले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा चरम भ्रष्टाचार, बेथिति, कमिसन, अराजकता रहेको र यसको अन्त्यका लागि भ्रष्टाचारका अखडा र भ्रष्टहरूविरुद्ध निर्मम सङ्घर्ष गर्नुपर्ने धारणा राखे । कार्यक्रमको अध्यक्षता गरेका नेता सिंहले राज्यसत्ता जनमैत्री नभएसम्म जनताले क्रान्ति जारी राख्ने र वैज्ञानिक समाजवाद स्थापना गरेरै छोड्ने पनि बताए । त्यसको नेतृत्व नेकपा (बहुमत) ले गर्ने उद्घोष पनि नेता सिंहले गरे ।

कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निवर्तमान निर्देशक धर्मराज गोसाईं, प्याब्सनका उपाध्यक्ष शिव कार्की, एन प्याब्सनका उपमहासचिव डम्बर कार्की, फार्मेसी काउन्सिलका सञ्जीव पाण्डे, स्वास्थ्य व्यवसायी सङ्घका अध्यक्ष नवराज बस्नेत, अनेरास्ववियुका उपमहासचिव गोविन्द गिरी, अखिल छैटौँका गणेश अधिकारी, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका सचिव बाबुराम नेपाली, क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीका सचिव प्रभात भट्टराई, अखिल पाँचौँकी अध्यक्ष पवित्रा आचार्यलगायत वक्ताले नेकपा (बहुमत) ले समसामयिक विषयमा समयमै अन्तरक्रिया राखेर विषय उजागर गरेको भन्दै धन्यवाद दिएका थिए । वक्ताहरूले आआफ्नो क्षेत्रबाट समस्या समाधान गर्न पहल गर्ने तर आन्दोलन निरन्तर जारी राख्नुपर्ने सुझाव पनि दिएका थिए ।

शिक्षा तथा स्वास्थ्य सेवा विभागका सदस्य रहेका अखिल क्रान्तिकारीका अध्यक्ष मिलन राईले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरूलाई विभागका सदस्य एवम् जनस्वास्थ्यकर्मी सङ्गठनका संयोजक नरेन्द्र विकले स्वागत गरेका थिए ।

कार्यक्रममा नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्यहरू, जवस मोर्चाका पदाधिकारी र सदस्यहरू, सम्बन्धित विषयका सरोकारवालाहरूको उल्लेख्य सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :