नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनलगायत नेताद्वारा भीमफेदी कारागारका आस्थाका बन्दीसँग भेटघाट

नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनलगायत नेताद्वारा भीमफेदी कारागारका आस्थाका बन्दीसँग भेटघाट

काठमाडौँ : नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनलगायत नेताले शुक्रबार मकवानपुरको भीमफेदी कारागारमा झूट्टा मुद्दा खेपेर जेलजीवन बिताइरहेका आस्थाका बन्दीसँग भेटघाट गरेका छन् ।

प्रवक्ता सुदर्शनले भीमफेदी कारागारमा रहेका आस्थाका बन्दी मणिराम राई, दीपक बिष्ट, सन्तोषबहादुर तामाङ, विशाल राई, मुस्कान राई, छत्रबहादुर तामाङ, विजय केसी, विक्रमबहादुर गुरुङ, बमबहादुर खड्का, कुलबहादुर सिंहलगायत राजनीतिक आस्थाका बन्दीसँग भेटघाट गरेका हुन् ।

पार्टी प्रवक्ता सुदर्शनसँगै नेताहरू गम्भीर, निर्मल, मकवानपुर जिल्ला इन्चार्ज रवि, संयोजक शक्ति, मीनबहादुर गौतम, अजय पनि बन्दीहरूसँग भेट गर्न कारागार पुगेका थिए ।

भेटका क्रममा प्रवक्ता सुदर्शनले सरकारसँग तीनबुँदे सहमति तत्काल लागू गर्न पार्टीले गरेको पहल, प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँडलगायत सत्ता पक्षलाई बन्दी विवरण बुझाउनुका साथै राजनीतिक आस्थाका बन्दीहरूको रिहाइका लागि भएको छलफल र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा बताएका थिए । उनले सरकार पक्षले तीनबुँदे सहमति अक्षरशः पालना गर्नेमा आफूहरु आशावादी रहेको पनि बताएका थिए ।

भेटका क्रममा राजनीतिक आस्थाका बन्दीहरूले पार्टी प्रवक्तालगायत नेताहरूलाई महान् सहिद, बेपत्ता, बन्दी योद्धाहरूको त्याग, समर्पण र सपनाहरू पूरा गर्न र वैज्ञानिक समाजवाद स्थापनाको बाटोमा निरन्तर लागिरहन सुझाव दिएका थिए ।

यसअघि अघिल्लो साता नेकपाका संयोजक कञ्चन, प्रवक्ता सुदर्शनलगायत नेताले काठमाडौँका केन्द्रीय कारागार, भद्र बन्दीगृह, ललितपुरस्थित नख्खु कारागारमा रहेका आस्थाका बन्दीहरूसँग पनि भेटघाट गरी राजनीतिक छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :