दमन गर्न खोजे बन्दुक उठाउने : विप्लव, महासचिव – नेकपा

अम्बिका चन्द / काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफूहरुले शान्तिकै लागि क्रान्ति गरेको बताउँदै जनताको आवाजलाई दमन गरिए बन्दुक उठाउन सकिने बताउनु भएको छ । साथै उहाँले दिल्लीको निर्देशनमा नेपाली राजनीतिक दलका नेताहरु चलेको भन्दै आफ्नो पार्टीको लडाई कुनै राजनीतिक दलहरुसँग नभएर दलाल संसदीय व्यवस्था र त्यसका मतियारहरुसँग भएको बताउनु भएको छ । कालकिोटको मालकोट, सेरापाटामा मंगलबर आयोजीत वृहत जनसभालाई सम्वोधन गर्दै महासचिव विप्लवले २०४७ सालको संविधानमा गणतन्त्र शब्द मात्रै थपेर जनतालाई झुक्याइएकोले यसको खारेज गरी जनताको नयाँ संविधान बनाउनु पर्ने बताउनुभयो । स्थानीय तहको निर्वाचनमा आफ्ना दुई जना कार्यकर्ताले बलिदान गरेको घटना उल्लेख गर्दै महासचिव विप्लवले शान्तिपूर्ण कार्यक्रमलाई दमन गरेर सरकारले आफ्नो चरित्र उदांगो पारेको पनि बताउनु भयो ।
यस्तै कार्यक्रमा पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले विदेशी शक्ति केन्द्रहरुका सामु प्रचण्ड–बाबुराम लम्पसार परेको भन्दै जनयुद्धका नायक मानिएका प्रचण्ड अहिले आफ्नै टाउकाको मुल्य तोक्ने शेरबहादुरको टाङमुनी छिरेर सत्ता लिप्सामा टाँसिइरहेको बताउनु भयो । साथै उहाँले आफ्नो पार्टीका विरुद्ध दमन र षड्यन्त्र गरिए जनताको साथमा त्यसको नयाँ ढंगले प्रतिकार गर्ने बताउनु भयो । कार्यक्रमा नेकपाका स्थायी समिति सदस्य तथा पश्चिम कमाण्ड इन्चार्ज सन्तोष बुढामगर ‘विषम’, सेती कर्णाली ब्युरो इन्चार्ज एटमले पनि संवोधन गर्नुभएको थियो । कालीकोट जिल्ला इन्चार्ज समरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सेक्रेटरी रणद्धिपले गर्नुभएको थियो ।

२०७४ भदौ २० गते १९ : २२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :