कोरियाली समाजवादका प्रवर्तक नेता किम इल सुङको २८ औँ स्मृति दिवस मनाइयो

कोरियाली समाजवादका प्रवर्तक नेता किम इल सुङको २८ औँ स्मृति दिवस मनाइयो

काठमाडौँ : जनगणतन्त्र कोरियाका निर्माता एवम् जुछे विचारका प्रवर्तक साम्राज्यवादविरोधी कम्युनिस्ट नेता किम इल सुङको २८ औँ स्मृति दिवस काठमाडौँमा मनाइएको छ । नेपाल–कोरिया मैत्री सङ्घका अध्यक्ष एवम् नेकपा मालेका महासचिव सीपी मैनालीको अध्यक्षतामा काठमाडौँमा सोमबार आयोजित कार्यक्रममा नेपालस्थित जनगणतन्त्र कोरियाका राजदूत जो यङ मानको आतिथ्यमा अन्तर्राष्ट्रियतावादी नेता किमको २८ औँ स्मृति दिवस मनाइएको हो ।

मैत्री सङ्घ एवम् कार्यक्रमका अध्यक्ष मैनालीले किम इल सुङले जनताको शक्तिमा विश्वास राख्दै जापानी र अमेरिकी साम्राज्यवादलाई हराएर कोरियामा समाजवाद स्थापना गरेकाले उनी अन्तर्राष्ट्रियतावादी नेता प्रमाणित भएको बताए । नेपालका कम्युनिस्ट क्रान्तिकारीहरूले पनि कोरियाली महान् नेता किमबाट सिक्नुपर्ने उनको भनाइ थियो ।

जनगणतन्त्र कोरियाली राजदूत जो यङ मानले कोरियाले साम्राज्यवादविरुद्ध बलिदानपूर्ण लडाइँ लडेर मुलुकलाई स्वतन्त्रता र समाजवाद स्थापना गरेको स्मरण गराए । उनले भने, ‘कोरियाले विश्वका जनतालाई क्रान्ति र स्वतन्त्रताको सन्देश दिएको छ । नेपालको राज्य स्तरदेखि जनस्तरसम्म कोरियाली समाजवादलाई प्राप्त सहयोग र शुभकामना हाम्रा लागि प्रेरणा बनेको छ ।’

नेपाल–कोरिया लेखक–पत्रकार मञ्चका अध्यक्ष अशोक सुवेदीले जनगणतन्त्र कोरियाबाट साम्राज्यवादविरुद्ध निरन्तर क्रान्ति, समाजवादको स्थापना, रक्षा र विज्ञान–प्रविधिमा गरेको विकास नेपाल र संसारभरकै स्वतन्त्रताप्रेमीले सिक्न लायक विषय भएको बताए ।

कोरियाली जनताका महान् नेता किम इल सुङले जनतामा निर्भर हुन, साम्राज्यवादसँग लडेर स्वतन्त्रताको आस्वादन गर्न र समाजवाद लागू गरेर देश र जनतालाई मुक्त पार्न संसारभरका क्रान्तिकारी कम्युनिस्टहरूलाई प्रेरणा दिएको प्रस्ट पार्दै नेपालका प्रतिक्रियावादी तथा संसद्वादी अवसरवादी शक्तिका विरुद्ध क्रान्तिकारीहरूले कोरियाली समाजवादबाट सिक्ने कुरा धेरै रहेको धारणा राखे ।

अग्रज पत्रकार मञ्जुरत्न शाक्यले आफूले किम इल सुङसँग अन्तर्वार्ता लिने अवसर पाएको स्मरण गराउँदै कोरिया स्वतन्त्रता र आत्मनिर्भरताको प्रेरक मुलुक रहेको बताए । उनले समानता, स्वतन्त्रता र आत्मनिर्भरताको पाठ सिक्नका लागि प्रत्येक स्वाभिमानी नेपालीले कोरिया भ्रमण गरेर नेपालका नेताहरूलाई पाठ पढाउनुपर्ने बताए ।

सपोर्टिङ सङ्गुन पोलिसीका अध्यक्ष माणिकबहादुर लामाले साम्राज्यवादविरुद्धको लडाइँमा किम इल सुङले संसारकै उत्पीडित देश र जनतालाई राम्रो पाठ सिकाएको बताए ।

कार्यक्रममा नेपाल–कोरिया लेखक–पत्रकार मञ्चका अध्यक्ष सुवेदीले राजदूत जो यङ मानलाई मञ्चका गतिविधि, मार्सल किम जोङ उनको सन्देश र नेकपा (बहुमत) का विचारहरू छापिएको ‘जनशिक्षा’ मासिकका प्रतिहरू हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा नेपाल–कोरिया लेखक–पत्रकार मञ्चका उपाध्यक्षहरू अम्बिका चन्द, अग्निराज पौडेल ‘अराप’, महासचिव नरेन्द्र विक, सहकोषाध्यक्ष देवीप्रसाद तिम्सिना, ज्येष्ठ सदस्य ढुण्डीराज अधिकारी, नेपाल–कोरियासँग सम्बन्धित विभिन्न संस्थाका प्रमुख र कोरिया मैत्री सङ्घका सदस्यहरूको उल्लेख्य उपस्थिति थियो । मञ्चका पदाधिकारीहरूको उपस्थितिप्रति कोरियाली दूतावासले खुसी व्यक्त गर्दै बधाई पनि ज्ञापन गरेको थियो । कार्यक्रमको सञ्चालन सङ्घका महासचिव फणिन्द्रराज पन्तले गरेका थिए । उनले राष्ट्रपति किम इल सुङका योगदानहरूको पनि चर्चा गरेका थिए ।

कार्यक्रमको अर्को चरणमा कोरियाली सर्वोच्च नेता एवम् राष्ट्रप्रमुख मार्सल किम जोङ उनलाई नेपालमा क्रियाशील नेपाल–जनगणतन्त्र कोरियासँग सम्बन्धित विभिन्न १५ संस्थाका प्रमुखहरूले हस्ताक्षर गरेको कोरिया एकीकरणसम्बन्धमा दबाब–सुझावपत्र र किम इल सुङको २८ औँ स्मृति दिवसका सन्दर्भमा तयार पारिएको श्रद्धाञ्जली–पत्र राजदूतलाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :