नेकपा (बहुमत) र जनसमाजवादी मञ्च नेपालबीच पार्टी एकता

फुटको शृङ्खला अन्त्य गरेर एकताको शृङ्खला आरम्भ भएको उद्घोष

नेकपा (बहुमत) र जनसमाजवादी मञ्च नेपालबीच पार्टी एकता

काठमाडौँ : नेकपा (बहुमत) र जनसमाजवादी मञ्च नेपालबीच शुक्रबार पार्टी एकता भएको छ । काठमाडौँमा आज आयोजित पार्टी एकता घोषणा कार्यक्रममा संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेकपा (बहुमत) र मञ्चका नेताहरूले विजयभावमा एकापसमा हात समातेर पार्टी एकता भएको घोषणा गरेका हुन् ।

नेकपा (बहुमत) का संयोजक एवम् कार्यक्रमका अध्यक्ष कञ्चनले पार्टी एकता घोषणा कार्यक्रममा सम्बोधन गर्दै न्यूनतम् कार्यक्रम जनवादी क्रान्तिको कार्यभारसहितको वैज्ञानिक समाजवाद, कार्यदिशा वैज्ञानिक समाजवादी क्रान्ति र राजनीतिक कार्यनीति स्वाधीन संयुक्त सरकार आजको आवश्यकता रहेको कुरामा सहमत हुँदै पार्टी एकता गरिएको बताए । उनले दलाल पुँजीवादी उत्पादन सम्बन्ध र त्यसले पारेको प्रभावले आन्दोलनमा फुट उत्पन्न हुने गरेको प्रस्ट पार्दै सही प्रकारको कार्यदिशा र कार्यक्रम नहुँदा यसअघि कम्युनिस्ट मात्र होइन, गैरकम्युनिस्टहरू पनि फुट्ने गरेको उदाहरण प्रस्तुत गरे । उनले भने, ‘यो क्रान्तिकारी एकता र ध्रुवीकरणको आरम्भ मात्र हो । आगामी दिनमा छरिएर रहेका क्रान्तिकारी शक्ति र जनतालाई पनि एक बनाउँछौँ र दलाल पुँजीवादी व्यवस्था अन्त्य गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्छौं ।’

कार्यक्रममा उपस्थित नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका कार्यालय सदस्यहरू, सचिवालय सदस्यहरू, आयोजक समितिका सदस्यहरू, जनसमाजवादी मञ्चका संयोजक एवम् सदस्यहरू र कार्यकर्ताहरूलाई स्वागत गर्दै नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले नेकपाको इतिहासमा २०१९ सालदेखि टुट, फुट, विभाजन र क्रान्तिकारी ध्रुवीकणको प्रक्रिया चलिरहेको इतिहास प्रस्तुत गरे । उनले विप्लवले एकीकृत जनक्रान्तिको कार्यदिशालाई सारसङ्ग्रहवादी बनाउँदै दलाल पुँजीवादी व्यवस्थाको चुनावमा जाने र संसदीय संशोधनवादी बन्ने आफ्नो योजनालाई पनि एकीकृत जनक्रान्ति भन्दै भ्रम छरेकाले उनीहरूलाई कारबाही गरी पार्टी पुनर्गठन गरेर क्रान्तिकारी ध्रुवीकरण र एकता प्रक्रिया आरम्भ गरिएको बताए । विप्लवहरू दर्शनमा संशोधनवादी बनेर द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद मात्र क्रान्तिको बाटो होइन भन्ने स्थानमा पुगेको र प्रकारान्तरले प्रचण्डले जस्तै भौतिकवाद र आदर्शवादको फ्युजन भन्दै माक्र्सवादविरोधी बन्दै गएपछि क्रान्तिकारीहरूले उनीहरूलाई पार्टीबाट निष्कासन गरी पार्टी पुनर्गठन गर्नुपरेको पनि प्रस्ट पारे । उनले भने, ‘हिजो प्रचण्डको भैँसीपूजालगायत वैचारिक पतनका विषयमा महापतन लेख्ने विप्लवको पतनका बारेमा अर्को महापतन लेख्नु आवश्यक छ । उनको संसदीय संशोधनवादी रुझान अर्को महापतन हो ।’

कोही बुढा भए, कसैले सूचना चुहाए भन्ने आरोप लगाउँदै विप्लवले आफ्नो आलोचना गर्ने १८ जना केन्द्रीय सदस्यलाई अकारण पार्टीबाट हटाएर मनोगतवाद लादेको भन्दै प्रवक्ता सुदर्शनले सङ्गठनमा निषेधात्मक अधिभूतवाद लाद्नुको परिणाम अधिकांश पार्टी नेताहरू पार्टी छोडेर अन्यत्र लाग्न विवश भएका उदाहरणहरू प्रस्तुत गरे । एनसेल र एमसीसीमा कारबाही गर्ने आदेश दिएपछि डराएर लुकेको र वास्तवमा बाहिर बाघजस्तो देखिए पनि विप्लव भित्रभित्रै स्यालजस्तो डरपोक रहेको यथार्थ पनि उनले सार्वजनिक गरे । कार्यकर्तालाई एनसेलका टावरमा विस्फोट गर्न आदेश दिने र पछि एनसेल र एमसीसीकै कारण आफूलाई हेग लग्न थालेको छ, गोन्जालो बनाउन र काउन्टर गरेर मार्न लागेको छ भन्दै डराएर विप्लव संसद्वादमा प्रवेश गरेको पनि उनले स्पष्ट पारे । उनले आफ्नो उमेरसमूहका नेताहरूतर्फ इङ्गित गर्दै र गम्भीर हुँदै भने, ‘अब हामीले आफ्नो जीवनको धेरै माया गर्नु हुँदैन । जनताको जीवनको धेरै आशा र माया गर्नुपर्छ । हामीले आफू बलिदान भएर पनि देश र जनताको रक्षा गर्नुपर्छ । विप्लवहरूजस्तो हामी आत्मसुरक्षावादी हुनु हुँदैन ।’

राष्ट्रियता, जनतन्त्र, जनजीविकाको रक्षा, भ्रष्टाचार र एनसेलविरोधी कारबाहीका क्रममा १२ जना योद्धाहरूको शरीर टुक्राटुक्रा भएको अवस्था चित्रण गर्दै प्रवक्ता सुदर्शनले भने, ‘पार्टीका कार्यकर्ताले एनसेलविरुद्ध आफ्नो शरीर टुक्राटुक्रा पारेर बलिदान गरे तर विप्लवहरूले त्यही एनसेलबाट पैसा लिएको कुरा आएको छ । एमसीसीमा पनि त्यस्तै खेल हुँदै गरेको सूचना आएको छ ।’

उनले विशाल पार्टी मात्र नभएर महान् सङ्घर्ष पनि उठाउने र वैज्ञानिक समाजवादी क्रान्ति पूरा गरेरै छोड्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनले भने, ‘अब फुटको शृङ्खला अन्त्य गरेर एकताको शृङ्खला अघि बढेको छ ।’

जनसमाजवादी पार्टीका संयोजक गम्भीरले नेकपा (बहुमत) का संयोजक कञ्चन र आफूले हस्ताक्षर गरेको संयुक्त विज्ञप्ति वाचन गरेका थिए ।

पार्टी एकता कार्यक्रममा नेकपा (क्रान्तिकारी) का गणेश थापा मिलन, आशीष चौधरी, सफल राई, साजन, सरोज ओझा अठोट, वीरबहादुर तामाङ, राममाया बर्देबा, पार्वती बर्देवा नेहालगायत ६ जना नेकपा (बहुमत) मा प्रवेश गरेका थिए । नवप्रवेशीहरूलाई नेकपा (बहुमत) का नेताहरूले हात मिलाएर स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन बाबुराम गजमेरले गरेका थिए ।

कार्यक्रममा नेकपा (बहुमत) का कार्यालय सदस्यहरू, सल्लाहकार समितिका अध्यक्ष असारे काका, सचिव चित्रबहादुर आले पवनलगायत सदस्यहरू, पार्टी सचिवालय सदस्यहरू, महाधिवेशन आयोजक समितिका सदस्यहरू, विभिन्न जनवर्गीय सङ्गठनका पदाधिकारी र सदस्यहरू, पार्टीका कार्यकर्ता र शुभचिन्तकको उल्लेख्य सहभागिता थियो ।

पार्टी एकता घोषणा कार्यक्रममा वितरित संयुक्त विज्ञप्तिको पूर्ण विवरण यसप्रकार रहेको छ :

पार्टी एकता सम्बन्धमा संयुक्त प्रेस विज्ञप्ति

पत्रकार मित्रहरू,

हामी तपाईंहरूमार्फत आज आमनेपाली जनसमुदायलाई टुटफुट र विभाजनबाट आक्रान्त नेपाली कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी पार्टी, समूह र व्यक्तिहरूबीच एकताको प्रारम्भ भएको घोषणा गर्न चाहन्छौँ । केही समयपहिले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विघटन भई पुनर्गठित नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र जनसमाजवादी मञ्च नेपालबीच एकता भई नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बनेको कुरा यहाँहरूलाई सगौरव जानकारी गराउन चाहन्छौँ । नेपाली कम्युनिस्ट आन्दोलनमा एकता–सङ्घर्ष–रूपान्तरण कम र एकता–सङ्घर्ष–फुट बढी हुने गरेको छ । यसले गर्दा नेपालको जनक्रान्तिमा ठूलो क्षति भएको छ र सन्निकट क्रान्ति पनि सुदूर बनेको छ । अब हामी यो कार्यक्रमबाट के प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ भने माओको क्रान्तिकारी सिद्धान् : एकता–सङ्घर्ष–रूपान्तरण तथा नयाँ आधारमा नयाँ एकतालाई व्यावहारिक जीवनमा लागू गर्नेछौँ । हामी यो पनि स्पष्ट गर्न चाहन्छौँ– सिद्धान्तहीन चोचोमोचो मिलाउने कुराभन्दा सिद्धान्तरक्षाका लागि फुट पनि श्रेयष्कर हुन्छ तर आधारभूत सिद्धान्तमा एउटै बुझाइ हुँदाहुँदै पनि व्यक्तिगत हानि र लाभका कुरामा फुट हुनु पुँजीवादी कुरा हो ।

पत्रकार मित्रहरू र आदरणीय जनसमुदाय,

हामी निम्न आधारहरूमा सहमत भई पार्टी एकतामा पुगेका छौँ :

१) हाम्रो मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद–माओवाद हो । त्यसकारण हामी यसलाई जडसूत्रवादका रूपमा लिँदैनौँ किनभने यो कार्यमा पथप्रदर्शक सिद्धान्त हो । मालेमावादको वास्तविकता ग्रहण गर्न र यसको समयसापेक्ष विकास गर्न हामी सहमत भएका छौँ । मालेमावादलाई कठमुल्लावादका रूपमा लिने र नयाँ विकासका नाममा घुमीफिरी रुम्जाटार पुग्ने दुवै प्रवृत्तिको हामी डटेर विरोध गर्दछौँ ।

२) उपरोक्त मार्गदर्शक सिद्धान्तलाई विशिष्ट देश, काल र परिस्थितिमा लागू गर्न हामीलाई तदनुरूपको ठोस परिस्थितिको ठोस विश्लेषणबाट निकालिएको न्यूनतम् कार्यक्रम, कार्यदिशा र कार्यनीति आवश्यक हुन्छ । त्यसकारण हामी न्यूनतम् कार्यक्रम जनवादी क्रान्तिको कार्यभारसहितको वैज्ञानिक समाजवाद, कार्यदिशा वैज्ञानिक समाजवादी क्रान्ति र राजनीतिक कार्यनीति स्वाधीन संयुक्त सरकार आजको आवश्यकता रहेको कुरामा सहमत भएका छौँ । यो कार्यदिशा, कार्यक्रम र कार्यनीतिलाई निरन्तर समृद्ध गर्दै जाने हाम्रो प्रतिबद्धता पनि रहेको छ ।

३) उल्लिखित मार्गदर्शक सिद्धान्त, कार्यक्रम, कार्यदिशा र कार्यनीति लागू गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी, क्रान्तिकारीहरूको संयुक्त मोर्चा र जनबलको अपरिहार्य आवश्यकता रहने कुरामा पनि हाम्रो मतैक्य रहेको कुरा सहर्ष जानकारी गराउँछौँ । कम्युनिस्ट पार्टी र यसका सबै सङ्गठनहरू लेनिनद्वारा विकसित जनवादी केन्द्रीयताअनुसार सञ्चालित हुन्छन् । पार्टी अन्तरसङ्घर्ष, दुई लाइन सङ्घर्ष र आत्मालोचना तथा आलोचनाद्वारा दीक्षित भएर मात्र शुद्धीकृत र सुदृढ हुने कुरामा हाम्रो कतै पनि दुईमत छैन ।

४) आज विश्वमा पुँजीवादी बहुदलीय संसद्वादले आफ्नो प्रगतिशील चरित्र गुमाइसकेको छ । अन्तर्राष्ट्रिय रूपमा लेनिनले उपयोग गरेको डुमाकालीन संसदीय व्यवस्था र नेपालमा पञ्चायतको अन्त्य भई बहुदलीय संसद्वादको आरम्भ भएको विक्रम संवत् २०४८–४९ को जस्तो अवस्था विद्यमान छैन । नेपालमा त्यसबेला बहुदलीय संसदीय व्यवस्थाको पुनस्र्थापना भएदेखि आजसम्म राष्ट्रिय अर्थतन्त्रको अन्त्य भई दलाल पुँजीवादी अर्थतन्त्रको विकास भएको छ । यसको केन्द्रीय अभिव्यक्तिका रूपमा यहाँ दलाल पुँजीवादी संसदीय व्यवस्था स्थापना भएको छ । त्यसकारण राष्ट्रिय पुँजीको स्थापना गरी वैज्ञानिक समाजवादी गणतन्त्र नेपालको कार्यक्रम लागू गर्न यो संसदीय झ्याउँकीरीको घ्याम्पो फुट्न आवश्यक छ भन्ने कुरामा हामी स्पष्ट भएका छौँ । यस सन्दर्भमा संसदीय व्यवस्थाअन्तर्गत हुने चुनावले वैज्ञानिक समाजवादको होइन, बरु संसदीय व्यवस्थालाई नै सहयोग गर्ने कुरा एक हजार एक तथ्यद्वारा सपष्ट भएको छ । यसमा क्रान्तिकारी कम्युनिस्टहरूको दुईमत हुन सक्तैन ।

५) कम्युनिस्टहरू अन्धराष्ट्रवादी होइन, अन्तर्राष्ट्रियतावादी हुन्छन् । श्रमजीवीहरूको आफ्नो देश हुँदैन । यो विषयको एउटा पाटो हो तर अर्को पाटोबाट हेर्दा कम्युनिस्टहरू नै सबैभन्दा बढी देशभक्त हुन्छन् । इतिहासलाई अध्ययन गर्दा रसियाली बोल्सेबिकहरू आफ्नै सामन्ती साम्राज्यवादी जारका विरुद्ध लडेका थिए । चिनियाँ कम्युनिस्ट पार्टीले जापानी साम्राज्यवादलाई धुलो चटाएर देश मुक्त गरेको थियो । भियतनामी कम्युनिस्टहरूले अमेरिकी साम्राज्यवादलाई धोती न टोपी पारेर लखेटेका थिए । त्यसरी नै कम्युनिस्टहरूले संसारका उत्पीडित जनताको आन्दोलन र क्रान्तिलाई समर्थन गरेका थिए । त्यसकारण हामी यो द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी राष्ट्रवाद र सर्वहारा अन्तर्राष्ट्रवादका पक्षमा रहेका छौँ । यसका साथै उत्पीडित राष्ट्रियताहरू, क्षेत्रहरूको मुक्ति अन्ततः वर्गसङ्घर्ष नै हो भन्ने कुरामा पनि हामी विश्वस्त छौँ । यस सन्दर्भमा नेपाललाई नवऔपनिवेशिक बनाउने नयाँ आयाम राष्ट्रघाती सहश्राब्दी चुनौती निगम (एमसीसी) सम्बन्धी नेपाल र अमेरिकाबीचको सम्झौता नेपाली भूभागहरूमा भारतीय सेनाको कब्जा तथा सीमा अतिक्रमणलगायत घटनाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जनशोषणकारी गैरसरकारी संस्थाहरूको घोर भत्र्सना गर्दै हामी यसका विरुद्धको कार्यक्रमलाई अघि बढाउने प्रतिबद्धता गर्दछौँ ।

६) हामी नेपाली शोषित, उत्पीडित जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थ, खाद्यान्न, तरकारी र समग्र बजारमूल्यमा भएको मूल्य वृद्धिप्रति तीव्र आक्रोश प्रकट गर्दै यसका विरुद्ध सङ्घर्षको कार्यक्रम अघि बढाउने अठोट गर्दछौँ ।

७) हामी जातीय, क्षेत्रीय र लैङ्गिक उत्पीडन र जातप्रथाका विरुद्ध सङ्घर्ष गर्ने दृढता व्यक्त गर्दै झूट्टा मुद्दामा फसाइएका सम्पूर्ण राजबन्दीहरूको रिहाइ गर्न वर्तमान सरकारलाई जोडदार माग गर्दछौँ ।

८) हामी विभिन्न क्रान्तिकारी कम्युनिस्ट पार्टीहरू, समूहहरू र व्यक्तिहरूलाई बृहत् क्रान्तिकारी कम्युनिस्ट एकताका लागि खुला हृदयले अघि बढ्न विशेष आह्वान गर्दछौँ ।

निश्चय नै क्रान्तिकारी कम्युनिस्टहरूको बाटो काँडैकाँडाले भरिएको छ तर उनीहरूको भविष्य जाज्वल्यमान रहेको छ ।
क्रान्तिकारी अभिवादनसहित !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :