संसद्‌वादमा फसेका विप्लवहरू अब संसदीय व्यवस्थाबाट बाहिर आउन सक्तैनन् : कञ्चन

अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को राष्ट्रिय भेला सुरु

संसद्‌वादमा फसेका विप्लवहरू अब संसदीय व्यवस्थाबाट बाहिर आउन सक्तैनन् : कञ्चन

बुटवल (रूपन्देही) : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक कञ्चनले सबैभन्दा पहिला महिलालाई सम्पत्तिमाथिको अधिकारको सुनिश्चितता हुनुपर्ने बताएका छन् । बुटवलमा शुक्रबार आरम्भ भएको अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को राष्ट्रिय भेलामा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै पार्टीका संयोजक कञ्चनले वैज्ञानिक समाजवादमा महिलाले गर्भवती भएदेखि नै भत्ता पाउने पनि बताए ।

नेता कञ्चनले भने, ‘दलाल पुँजीवादले सम्पत्तिको लोभले महिलालाई ज्युँदै आगो लगाउँछ । अहिलेको सत्ताले महिलालाई बिक्री गर्दछ । जबसम्म कुनै देशमा एउटा मात्रै नागरिक उत्पीडनमा हुन्छ, त्यो देश मुक्त हुँदैन । त्यसैले हाम्रो पार्टीले स्पष्ट प्रकारको कार्यदिशा, कार्यनीति र कार्यक्रम बनाएको छ । मुगुका महिलाको औसत आयु ३४ वर्ष रहेको छ । घरमा गरिएको श्रमको मूल्य महिलाले पाउँदैनन् । चीनमा एड्गर स्नोले फोटो खिच्नुभएको छ जसमा आमाबुबाले आफ्नी छोरीलाई एक छाक खानका लागि एक रात बेचिदिन्छन् । समाजवाद नहुँदासम्म त्यहाँ त्यस्तो दयनीय अवस्था थियो । सम्पत्ति महिलामा हुन्थ्यो भने पुरुष र महिलाले आधीआधी काम गर्दथे ।’

संयोजक कञ्चनले देशभरबाट भेला भएका क्रान्तिकारी महिलालाई सम्बोधन गर्दै अगाडि भने, ‘विप्लवले बनाएको कार्यदिशा भुरुङ नाचेको जस्तो भयो अथवा समुद्रको जेली फिसजस्तो भयो । हामीले त्यसलाई मेरुदण्ड भर्ने वा आकारप्रकार दिने कोसिस ७ वर्षसम्म गर्यौँ तर सम्भव भएन । जेली फिस जेली फिस नै रह्यो । विप्लवजीले अहिले म कुनै पनि अवस्थामा संसदीय व्यवस्था मान्दिनँ भन्न थाल्नुभएको छ । त्यस्तो कुरा त चित्रबहादुर केसी, नारायणमान बिजुक्छे, सीपी मैनालीहरूले तीसौँ वर्षदेखि भन्दै आएका छन् । मुखले भन्ने र गर्ने कुरा फरक भयो । अहिले संसदीय व्यवस्थाको चुनावमा जानु भनेको वर्तमान संविधानलाई स्वीकार गर्नु हो । विधिगत रूपमा विप्लवजीले संसदीय व्यवस्था मान्नुभएको छ । त्यसैले जसरी विप्लवहरू संसदीय व्यवस्थामा प्रवेश गरेका छन् त्यहाँबाट बाहिर आउन सक्दैनन् । त्यसैले विप्लवजीको पछाडि लागेर समाजवादी क्रान्ति सम्भव छैन । अहिले हामीले क्रान्तिकारी कार्यदिशा बनाएका छौँ । त्यसैले नेपालका शोषित–पीडितहरू हाम्रो पार्टीमा लामबद्ध हुने प्रक्रिया सुरु भएको छ । यो राष्ट्रिय भेलामा तपाईंहरू यस्तो बर्सात्मा पनि देशैभरिबाट आउनुभएको छ । यो क्रान्तिकारी स्पिरिट हो । क्रान्ति सफल पार्ने लक्षण हो ।’

नेता कञ्चनले अगाडि भने, ‘एमसीसी पास भयो । किन भयो भने देश स्वाधीन नभएकाले । त्यसैले हामीले स्वाधीन सरकारको कुरा गरेका छौँ । समाजवादी, साम्यवादी सत्ता निर्माणका लागि जाने बाटो भनेका छौँ । अहिले ठमेलका महिलालाई मसाज गराउन थाइल्यान्डका महिलाहरू ल्याइएको छ । जनयुद्धका क्रममा अमेरिकाबाट महिला पत्रकार लि अनेस्टो आएकी थिइन् । उनले नेपालमा जनयुद्ध सफल भए संसारभरि समाजवादको सन्देश दिन सकिन्छ भनेकी थिइन् । पहिलो कुरा संसदीय व्यवस्थाको अन्त्य, राजनीतिक स्थिरता, शान्ति, सामाजिक रूपान्तरण, स्वाधीनता र समृद्धि भएमा हामी स्वाधीन संयुक्त सरकारमा जान्छौँ ।’

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) केन्द्रीय कार्यालय सचिव गुणराज लोहनीले भेलामा सम्बोधन गर्दै भने, ‘विप्लवजीले महिला मुक्तिको कुरा गरेनन् । उनले त रञ्जु दर्शनाको खोजी गरेका छन् र जनयुद्ध लडेका, त्याग, बलिदान, समर्पण गरेका बन्धु चन्द, धीरेन्द्रा उपाध्याय, राजकुमारीहरूको अवमूल्यन गरेका छन् । तर पनि बन्धुहरू त्यही पार्टीमा लाचार भएर बसेका छन् ।’

उनले अगाडि भने, ‘विश्वका सबै महिलाहरू उत्पीडित छन् । यो देशमा राष्ट्रपति बिधुवा भएको भनी मन्दिर प्रवेशमा रोकावट गरिन्छ । महिलाहरूले आफ्नो सत्ता कोमलता र शालीनताका कारण गुमाएका हुन् भनी राहुल सांकृत्यायनले भनेका छन् । विश्वमा सबै महिलालाई ३ वटा पहाडले थिचेको छ । त्यसैले महिला मुक्तिका लागि वैज्ञानिक समाजवादी क्रान्तिमा लाग्नु पर्दछ ।’

राष्ट्रिय भेलामा नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सचिवालय सदस्य एवम् लुम्बिनी ब्युरो इन्चार्ज शार्दूलले भने, ‘नेपाली समाज वैदेशिक हस्तक्षेप र उत्पीडनबाट आक्रान्त छ । यो उत्पीडनबाट मुक्त हुनका लागि आन्दोलन गर्दै गर्दा पनि मुक्ति हुन सकेको छैन । जीवन व्यवहारमा पूरा भएको छैन । महिला हिंसा नभएको कुनै ठाउँ छैन । त्यसैले क्रान्तिकारी महिलाहरू एक भएर आन्दोलन गर्न जरुरी छ । पितृ सत्तात्मक दलाल व्यवस्थाको अन्त्य गर्न जरुरी छ । महिला अधिकारका लागि जनयुद्धमा लाग्दा २३ सय महिलाले जीवन गुमाए । हरेक दिन हिंसा र हत्याका घटना भैराखेका छन् । अहिले ३३ प्रतिशतको सहभागिता भनिए पनि हुनसकेको छैन ।’

नेता शार्दूलले भने, ‘विप्लवको दस्ताबेज किरियापुत्रीले सुन्ने गरुड पुराण भएको छ । यो संसदीय व्यवस्थामा सहभागी भएर महिला मुक्ति सम्भव छैन ।’

पार्टी नवौँ महाधिवेशन आयोजक समितिकी सदस्य तथा नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनकी फ्र्याक्सन इन्चार्ज देवकला अधिकारीले भनिन्, ‘हामीले हाम्रो महिला सङ्गठनको राष्ट्रिय भेला गरिरहँदा स्मरण गर्नैपर्ने विषय के हो भने दस वर्षको जनयुद्धमा २३ सय ८० जना महिला सहिद भएका छन् । उनीहरूको त्याग, बलिदान र समर्पणलाई लत्याएर पहिला प्रचण्डहरू गए । पछिल्लो क्रममा विप्लवहरू गएका छन् । उनीहरू घुमिफिरी पुतली चिह्न लिएर चुनावमा गए । संसदीय संशोधनवादमा फसे । त्यसपछि हामीले छुट्टै पार्टी बनायौँ । त्यसैगरी हामीले महिला सङ्गठन पनि नयाँ बनाउनुपर्ने भएकाले राष्ट्रिय भेला आयोजना गरिएको हो । महिलाहरूलाई उचित ज्याला दिइएको छैन । सम्पत्तिमा समान अधिकार हुनु आवश्यक छ । त्यसका लागि यो दलाल पुँजीवादी राज्यव्यवस्था अन्त्य गरेर वैज्ञानिक समाजवाद स्थापना गर्नु आवश्यक छ ।’

भगवती थिङको अध्यक्षतामा सम्पन्न राष्ट्रिय भेलाको उद्घाटन सत्रमा मिथिला चौहानले धन्यवाद मन्तव्य राख्दै यो राज्यसत्ता रहुन्जेल महिलाको माग पूरा नहुने बताइन् । कार्यक्रमको सञ्चालन रेखा खनालले गरेकी थिइन् ।

कार्यक्रममा नेकपा (बहुमत) का नेताहरू शेरमान, रेखा, प्रवेश, पार्वती सिंह, शीतल, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घकी जुना दाहाल, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य सन्तोष सुवेदी, जनपत्रकार सङ्गठन लुम्बिनी ब्युरो कोषाध्यक्ष मुक्ति गैरे, जनसेवकका चिराग, अखिल क्रान्तिकारीका पारस राहादी मगर, सहिद परिवारकी मीना पौडेल (अर्घखाँची) अतिथिका रूपमा सहभागी थिए । अतिथिहरूलाई पार्वती सिंहले शब्दद्वारा स्वागत गरेकी थिइन् ।

राष्ट्रिय भेला दुई दिनसम्म चल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :