बाबुराम, विप्लव र हर्क–बालेनहरू

बाबुराम, विप्लव र हर्क–बालेनहरू

माओवादी जनयुद्धको एउटा समय थियो जति बेला बाबुराम र माओवादी आन्दोलन एकअर्काका पर्यायवाचीजस्ता थिए । ‘प्रचण्ड भनेकै बाबुराम हो’, ‘प्रचण्ड भन्ने मान्छे नै छैन’ भन्ने हवाई हल्लाहरू निकै सुनिन्थे । ‘दुवै हातले बराबरी लेख्न सक्ने’, ‘हातले लेख्दै गर्दा मुखले कुरा पनि गर्न सक्ने’, ‘३/४ वटा विषयमा पीएचडी गरेको’, ‘आफ्नो कक्षामा कहिल्यै दोस्रोसम्म हुनु नपरेको’ जस्ता भए–नभएका थुप्रै रोमाञ्चक कथाहरू चोक–चौतारोमा साउती हुन्थे । उनको ‘अद्भुत’ नेतृत्व क्षमताबारे लामो जिब्रो निकालेर मानिसहरू प्रशंसा गर्थे । स्वभावतः उनका अनुयायीहरू ‘घिरौँलाजत्रो नाक’ (बाबुरामकै शब्द सापट) पार्दै मै हुँ भन्ने बौद्धिकलाई पनि ह्याकुलोले मिच्दै हिँड्थे । कसैसँग तर्कले जित्न नसके तिनै बाबुरामको करिश्मामय ब्यक्तित्वले पछाडि कतैबाट ‘बाण’ प्रहार गरिदिन्थ्यो र उनको प्रतिद्वन्द्वी छिनभरमै ‘रगत छादेर’ पछारिन्थ्यो ।

लेखक : उदयबहादुर चलाउने ‘दीपक’

‘बाबुराम’ माओवादी आन्दोलनको एक ‘अमृत घडा’ थियो । सञ्जीवनी थियो । अहँ, माओवादी आन्दोलन हार्दै हार्दैन ! किनकि यो आन्दोलनमा बाबुरामजस्ता ‘चामत्कारिक’ मान्छे लागेका छन् ! कतै भोकै बस्नु पर्दा, कतै कठिन गौँडा–गल्छेडाहरू पार गर्दा, कतै अनिदै रात काट्नु पर्दा, कतै दुस्मनको लखेटाइमा लखतरान पर्दा बाबुराम टुप्लुक्क आइपुग्थे ! अनुयायीहरूको मन ढुक्क हुन्थ्यो ! गर्वले उनीहरूको छाती चौडा हुन्थ्यो, ढाडस हुन्थ्यो– बाबुरामले समेत यो पीडा खेपिरहेका छन्… !

बाबुराम माओवादी आन्दोलनको एउटा स्फटिक खम्बा थियो ! ‘पापीहरू’ ले, ‘अपराधीहरू’ ले यो खम्बा छुन पनि सक्दैनथे । छुन खोजे उनीहरूको सर्वनाश हुन्थ्यो र त एकपछि अर्को माओवादी जनयुद्ध विकसित हुँदै गयो । छापामार लडाकुहरू जनमुक्ति सेनाको ताँतीमा लामबद्ध हुन थाले । गाउँ–गाउँमा जनअदालतहरू, जनसत्ताहरू गठन भए । विरोधीहरू बढारिँदै सहर र सदरमुकाम पसे । गाउँमा अनौठा रिति–थितिहरूको सुरुआत हुन थाल्यो । अछूतहरूले छोएको खाना विष हुन्छ भन्ने कुरा बकबास साबित भयो । पानी नचल्नेहरूमाझ छोरी–चेलीहरूसमेत चल्न थाले । महिलाहरू नछुने हुँदा छोइएमा रूख चढ्ने दुहुना गाई–भैँसीहरू रूख चढ्नै नमान्ने भए ! बोली–भाषा, खानपान नयाँ–नयाँ हुन थाले । गाउँ–गाउँमा डब्लूटी, गाउँ–गाउँमा जनसरकार ! जाँड–रक्सी, चुरोट, जुवा, गाँजा, गुन्डागर्दी सबका सब किनारा लाग्न थाले । कमलरी र हलीहरूले जमिनदारका हातखुट्टा बाँधेर उनका भकारी फोड्थे र आफ्नो श्रमको मूल्य गाडामा लादेर हिँड्थे । हत्या, बलात्कार, चोरीका घटनाहरू यदाकदा मात्र सुनिन्थे । गल्ती गर्नेहरूलाई जनसरकारले कारबाही गथ्र्यो । श्रमशिविरमा हाल्थ्यो । श्रमशिविर भुक्तान गर्नेहरू कोही घर फर्कन्थे, कोही उतैबाट ‘डब्लूटी’ हुन्थे । जो जहाँ भए पनि सबका सब मान्छेहरू माओवादी ! सबका सब बाबुराम !

नेपाली इतिहासको यो साँच्चै एक अद्भुत कालखण्ड थियो । बाबुराम एक नयाँ सत्ता थियो । बाबुराम जनअदालत थियो । बाबुराम जनताको सेना थियो । समग्रमा यो एक नयाँ विकल्प थियो । वर्षहरू बित्दै गए । एक दिन बाबुराम सहर पस्यो, राजधानी पस्यो । गाउँबाट लखेटिएकाहरू लुकाछिपी भए । देशभर चुनाव भयो । अधिकांश ठाउँहरूमा बाबुरामहरूले जिते । हिजो गाउँ मात्रै माओवादीमय थियो, अब त देशै माओवादीमय भयो । ‘देशमा अब साँच्चै नयाँ सत्ता बन्ने भयो ! नयाँ सेना बन्ने भयो ! नयाँ अदालत बन्ने भयो ! गरिव–गुरुवा, किसान–सुकुमबासी, महिला–दलित, मधेसी–मुस्लिम, आदिवासि–जनजाति सबैको मुखमा नयाँ नेपालको गीत गुञ्जिन थाल्यो– ‘लड्दैछौँ मुक्ति युद्ध लड्दैछौँ, ढल्दैछ कालो शासन । नयाँ सुन्दर नेपाल बनाउने होऽऽ हाम्रो चाहना !’

शिर ठाडो पारेर बाबुराम÷माओवादी अनुयायीहरू लम्किरहेकै थिए तर विडम्बना ! दशकीय यात्रा पार गर्दाबित्तिकै बाबुराम आफैँले आफ्ना हातखुट्टाहरू काट्न थाले । उनले जनअदालतका ढोकाहरूमा भोटे ताल्चा लगाउने सम्झौतामा ल्याप्चे गरे ! आफूलाई गौँडा–गल्छेडा कुरेर ज्यान जोगाइदिने जनसेनाका ब्यारेकहरू रित्ता पार्न उनले फर्मान गरे ! पार्टीमा ‘बाबुरामहरू’ को विरोध गर्नेहरूलाई जे पनि होलाजस्तो हुन थाल्यो ! हिजो कब्जा गरिएका साहू–महाजनका जमिन फिर्ता गरिए ! हेर्दाहेर्दै जनसेनाको विघटन भयो ! आफूहरू निर्वाचित भएको संविधानसभासमेत विघटन भयो ! बाबुराम नयाँ सत्ताबाट जन्मियो र पुरानो सत्तामा विलीन भयो ! बाबुराम पुरानै सत्ताको एक गतिलो मतियार बन्यो ! कारिन्दा बन्यो ! सब कुरा उल्टियो !

इतिहासको भग्नावशेषमाथि खरानी उडिरहेकै थियो । उत्पीडित मनहरूको एउटा पङ्क्ति इतिहाससँगै खरानीमा विलीन भैरहेको थियो । बाँकी केही नयाँ बाबुरामको खोजीमा निस्किए जो उनीहरूको अस्तित्व र पहिचान थियो ! केही वर्षहरू बिते । श्रमिकहरूले, उत्पीडितहरूले, दमितहरूले आफ्नो खलाँतीको जोड–बलबाट भग्नावशेषमा एउटा फिलिङ्गो फेलापारे ! हावाको सम्पर्कमा आउनेबित्तिकै फिलिङ्गो धिपी–धिपी बल्न सुरु गर्यो । एउटा सानो उज्यालो चारैतिर फैलियो । कता–कता बाबुरामको आभास हुन थाल्यो ! समयको प्रहर खुल्यो । पर क्षितिजमा एउटा युवाजोसको मान्छे लम्कँदै आएको देखियो । चाल–ढाल बाबुरामकै जस्तो, आत्मीय बाबुरामजस्तो ! व्यग्रतापूर्वक हेरिरहेका श्रमिक मनहरूले सोधिहाले– तपाईं हाम्रो बाबुराम हो ? जबाफमा उनीहरूले सुने– म बाबुराम होइन । खिस्रिक्क परेका मनहरूले फेरि सुने– बाबुराम त पुरानो सत्तामा विलीन भैसके । अब बाबुराम–साबुराम यहाँ कोही छैन । म इतिहासको खरानीबाट निख्रिएको ‘विप्लव’ हुँ !

‘विप्लव’ ऽऽऽऽऽ एउटा नयाँ गुञ्जन, एउटा नयाँ हुँङ्कार चारैतिर फैलियो ! उत्पीडित मनहरूलाई विश्वास गरौँ कि नगरौँ भयो । दोमन लिएरै भए पनि उनीहरूले नयाँ मानिसको जाँच–परख सुरु गरे । समयक्रमसँगै उनीहरूले देशव्यापी विप्लवी आभास पाउन थाले । विप्लवी तरङ्ग चारैतिर फैलिन थाल्यो ! बाबुरामहरू गाउँबाट सहर पसेका थिए । विप्लवहरू सहरबाट गाउँमा फैलिन थाले । भ्रटाचारीहरूलाई कालोमोसो दलेर तबाह पार्न थाले विप्लवहरूले । उत्पीडित मनहरूले बिस्तारै विप्लवहरूलाई निम्तो गर्न थाले ।

गठिलो शरीर, जोसयुक्त भाषण, दरिलो आत्मविश्वास ! बिस्तारै विप्लवले बाबुराम बिर्साउन थाल्यो । उत्पीडित मनहरूमा विप्लवी अपनत्व सुरु हुन थाल्यो ! बाबुराम अनुयायीहरू बिस्तारै विप्लवी अनुयायीमा बदलिन सुरु गरे । बाबुरामको अस्तसँगै दबेका स्वरहरूमा ताकत थपियो । जनअदालत र जनसत्ताको विघटनसँगै धोद्रिएका स्वरहरूमा अलिअलि सुर–ताल आउन थाल्यो । नेपथ्यमा मधुरो सङ्गीत सुनिन थाल्यो– ‘सपनाका यात्रीहरू, सपना जोगाउनुपर्छ ।’

विप्लवको हुङ्कारसँगै नेपाली उत्पीडित जनमनका मूर्छित सपनाहरू बिस्तारै बौरिन थाले । विप्लवी चिन्गारी चारैतिर फैलिन थाल्यो । यसपाला मानिसहरूले बाबुरामको जस्तो करिस्मामय कथा त सुनाउँदैथे, बरु गाली गर्थे ! तर गालीकै बीचमा पनि एउटा सानो आशा व्यक्त गर्थे– काङ्ग्रेस, एमाले र माके एउटै ड्याङका मुला भैसके ! अब विप्लवले केही गर्छ कि जस्तो छ ! अनुयायी मनहरूलाई गालीसहितको जनविश्वासले ढाडस गथ्र्यो, मनमा कहिलेकहीँ भावनाका छालहरू दगुर्थे– विप्लव, तिमी बाबुराम त बन्दै नबन, ‘डिप लभ’ बन प्लिज !

समयले जसरी बाबुरामको निखार गरेको थियो ठीक त्यसैगरी विप्लवको निखार भैरहेको थियो । एक, दुई गर्दै त्यो क्षण पनि टुप्लुक्क आइपुग्यो– स्थानीय निर्वाचन– ३० वैशाख २०७९ । पुरानो सत्ताले आफ्नो संविधान जारी गर्नेबित्तिकै काठमाडौँको शान्तिवाटिकाबाट ‘संसदीय दलाल पुँजीवादी’ सत्ताको धज्जी उडाउँदै उसले जारी गरेको ‘बुर्जुवा संविधान’, ‘जनविरोधी संविधान’ जलाएर ‘जनताको संविधान’ जारी गरेका, ‘जनसरकार’ घोषणा गरेका विप्लव एकाएक पुरानै संविधानले व्यवस्था गरेको चुनावमा स्वाट्टै छिरेपछि मानिसहरूमा कौतूहल त भएन, सायद आफैँप्रति एकपटक घृणा जरुर भयो ! ‘बाबुराम’ ले किच्चडमा फालेको क्रान्तिको झन्डा आफ्नो कमिजमा पुछ्दै अघि बढेको ‘जुझारु विप्लव’ र संसदीय चुनावी प्रतिस्पर्धामा रुझेको विरालो बनेको ‘संसद्वादी विप्लव’ एउटै हो वा फरक ? मानिसहरूमा ‘इल्युजन’ वा भ्रम हुन थाल्यो ।

पुरानो सत्ताको विकल्पमा खडा भएका बाबुराम र विप्लवहरू जब उही सत्तामा विलीन हुन पुगे, विकल्पमा उभिए– हर्क–बालेनहरू ! कुनै बेलाका बाबुराम र विप्लवझैँ अचेल हर्क–बालेनहरू सामाजिक सञ्जालका भित्ताहरूमा वाहवाही भैरहेका छन् । अझ त संयोग– बाबुराम इन्जिनियर थिए, बालेन पनि इन्जिनियर नै ! वास्तवमा इतिहासको एक सामान्य नियम हो– हरयुगको सत्ताको परम्परावादी, प्रतिगामी सोचाइ र शैलीका विरुद्ध जनमत सिर्जित भैरहेको हुन्छ । आजका दिनसम्मको असमान र शोषणकारी उत्पादन सम्बन्धका कारण समाजको ठूलो तप्का सदैव प्रगतिशील र क्रान्तिकारी हुन बाध्य हुन्छ । बाबुराम, विप्लव र हर्क–बालेनहरू आआफ्नो समयका तिनै प्रगतिशील र क्रान्तिकारी तप्काका प्रतिनिधिहरू अवश्य हुन् ।

अब यहाँ एउटा निकै गम्भीर एवम् संवेदनशील प्रश्नतिर अलिकति ध्यान दिऔँ जो सदैव अनुत्तरित रहिरह्यो– किन बाबुराम र विप्लवहरू सधैँ असफल भैरहेका छन् ? अनि हर्क–बालेनहरू सफल होलान् ? विगतको सामान्य समीक्षा गर्दा पनि सफेद उजागर भएको वास्तविकता के हो भने जसरी बाबुराम र विप्लवको वाहवाही घिउको डल्लो पग्लेझैँ पग्लियो त्यसरी नै हर्क–बालेनहरूको प्रशंसा पनि लामो समय नटिक्ने निश्चित छ । अझ त बाबुराम र विप्लव कुनै बेला सिङ्गो सत्ताकै विकल्प थिए जब कि हर्क–बालेनहरू सत्ताको विकल्प नभएर सत्ताभित्रकै आंशिक (व्यक्ति) विकल्प हुन् । यद्यपि जनताले तात्कालिक नै भए पनि अग्रगामी विकल्पका रूपमा हर्क–बालेनहरूलाई रोज्नु संसदीय दलाल पुँजीवादी सत्ताका लागि चुनौती अवश्य हो ।

आजसम्मका घटनाक्रमहरूले हामीलाई सिकाएको कुरा के हो भने व्यक्ति इमानदार हुनु र नहुनु एक महत्वपूर्ण पक्ष भए पनि प्रणाली सही हुनु वा नहुनु निर्णायक पक्ष हो । वर्तमान दलाल संसदीय प्रणालीको आधारभूत चरित्र नै घूस, कमिसन, भ्रष्टाचार इत्यादि हो । शिक्षा र स्वास्थ्यलाई बेचेर जनताको रगत–पसिना चुस्नु दलाल पुँजीवादी सत्ताको मूल चरित्र हो । अस्थिरता, अभाव, महँगी दलाल पँजीवादका गहनाहरू हुन् किनकि हाम्रोजस्तो देशमा विकासका पूर्वाधारहरूमा वा सार्वजनिक क्षेत्रमा जुन लगानी भएको छ, चाहे त्यो ऋण होओस् वा कथित अनुदान, त्यो शक्तिकेन्द्रहरू र विदेशी एकाधिकार पुँजीको स्वार्थ उत्प्रेरित छ । त्यसलाई कि त अस्वीकार गर्नुपर्यो, कि त उनको इच्छाअनुसार लगानी गर्नुपर्यो । अस्वीकार गर्दा त्यसबाट उत्पन्न हुनसक्ने नाकाबन्दीलगायत दुःख सहन गर्नपर्यो वा लम्पसार पर्नुपर्यो । अतः आमूल परिवर्तन त्यति सामान्य कुरा होइन । यो निकै कठिन कार्य हो । त्यही कठिनाइ लामो समयसम्म सहन गर्न नसकेपछि त्यसभित्र थकान पैदा हुन्छ । जब आन्दोलनमा थकान पैदा हुन्छ त्यहाँ अवसरवादले ठाउँ पाउँछ । आन्दोलनभित्र जब अवसरवाद छिर्न पुग्छ तब आन्दोलनको सैद्धान्तिक र व्यावहारिक विचलन सुरु हुन्छ ।

बाबुराम र विप्लव एक आन्दोलन थिए । हुन सक्ला हर्क–बालेनहरू पनि आन्दोलन बनून् ! तर वर्तमान सत्ता जो शोषणप्रधान उत्पादन प्रणालीमा बाँचिरहेको छ, त्यसलाई पूर्णतः नभत्काई जनताका आधारभूत हक–अधिकारहरूको बहाली खोज्नु आफूलाई मुर्ख बनाउनुबाहेक अरू केही हुनेवाला छैन । अतः रूपान्तरण प्रणालीमा खोजौँ, व्यक्तिमा होइन ! रूपान्तरण व्यवहारमा खोजौंँ, आदर्शमा होइन ! रूपान्तरण विचार र कार्यदिशाको प्रस्टतामा खोजौँ, अस्पष्टता र लिपापोतीमा होइन ! रूपान्तरण आफ्नो शक्तिमा खोजौँ, अरूको भरमा होइन !

३१ जेठ, २०७९

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :