दर्शनकुमार नेपाली राष्ट्रिय दलित मुक्ति मोर्चा नेपालको संयोजक

काठमाडौँ : नेकपा (बहुमत) निकट उत्पीडित दलित समुदायको मुक्ति मोर्चा पुनर्गठन भई राष्ट्रिय दलित मुक्ति मोर्चा नेपाल नामकरण गरिएको छ । मोर्चा पुनर्गठनपछि संयोजक दर्शनकुमार नेपालीद्वारा जारी प्रेस विज्ञप्तिमा सुधारवाद र संशोधनवादबाट टाढा रहँदै वास्तविक श्रमजीवी, उत्पीडित जनता र दलित समुदायको मुक्तिका लागि संसदीय संशोधनवादका विरुद्ध पुनर्गठित नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को उत्पीडित दलित समुदायको मुक्ति मोर्चा ‘राष्ट्रिय दलित मुक्ति मोर्चा नेपाल’ को पुनर्गठन गरिएको उल्लेख छ ।

संयोजक दर्शनकुमार नेपालीले मङ्गलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कथित जातका आधारमा समाजमा दिन–प्रतिदिन भइरहेका घटनाक्रमले सिङ्गो मानव जातिलाई नै गिज्याइरहेको छ । उत्पीडित वर्ग र दलित समुदायको मुक्तिका लागि सुरु गरिएको महान् जनयुद्ध र एकीकृत जनक्रान्तिका महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । घाइते योद्धाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासहित उच्च सम्मान प्रकट गर्दै बेपत्ता योद्धाहरूको अवस्था सार्वजनिक गर्न राज्यसँग जोडदार माग गर्दछौँ । भारतीय उपमहाद्वीपबाट सुरु भएको निच जात ब्यवस्थाले मानवलाई नै पशुभन्दा घटिया, तल्लो तहको व्यवहार गर्न प्रेरित गर्ने मानवताविरोधी संस्कार र संस्कृतिको घोर निन्दा एवम् भत्र्सना गर्दछौँ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘आजको परिवर्तित युगमा आउँदासमेत जातीय विभेदले प्रश्रय पाइरहेको छ । यसको प्रमुख कारण राज्य व्यवस्था नै हो । देशमा विकसित राजनीतिक घटनाक्रमले विभिन्नखाले राजनीतिक जातीय सङ्गठनहरूको विकास भएको हामी स्पष्टसँग देख्न सक्छौँ । समाजमा भएका आपराधिक घटनाहरूले राजनीतिक रुप धारण गर्ने र जातीय विभेदजस्ता जघन्य अपराधहरू खुलम–खुला रूपमा भइरहेका छन् । दलित अधिकारको मुद्दालाई लिएर निर्माण गरिएका सङ्घसङ्गठन र सङ्घसंस्थाहरूका लागि दलित समुदाय दुहुनो गाईका रूपमा प्रयोग भइरहेको छ भने राजनीतिक पार्टी निकटका केही सङ्गठनहरू नयाँका नाममा दलित समुदायको पहिचान नै लुकाएर दलित समुदायकै नाममा राजनीति गरिरहेका छन् । यो सुधारवादी र संशोधनवादी चिन्तन र प्रवृत्तिले दलित समुदायको वास्तविक हित गर्दैन । अन्तरजातीय प्रेम गरेकै आधारमा काभ्रेका अजित मिजारको हत्या, अन्तरजातीय प्रेम गरेकै कारण रुकुम सोतीमा नवराज विकलगायत साथीहरूको हत्यालाई प्रतिनिधिमूलक घटनाका रुपमा लिन सकिन्छ । कथित माथिल्लो जात भनिनेहरूबाट दलित समुदायका मान्छेहरू मारिँदासमेत रमिते बनिरहने दलाल पुँजीवादी संसदीय व्यवस्थाले कुनै हित नगर्ने कुरा स्पष्ट छ । कानुनी राज्यको वकालत गर्ने सङ्कटग्रस्त दलाल सत्ता र संसदीय ब्यवस्था रहँदासम्म दलित समुदायले न्यायको अनुभूति गर्न पाउने देखिँदैन । सुधारवाद र संशोधनवादबाट टाढा रहँदै वास्तविक श्रमजीवी, उत्पीडित जनता र दलित समुदायको मुक्तिका लागि संसदीय संशोधनवादका विरुद्ध पुनर्गठित नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को उत्पीडित दलित समुदायको मुक्ति मोर्चा ‘राष्ट्रिय दलित मुक्ति मोर्चा नेपाल’ को पुनर्गठन गरेका छौँ । कथित जात व्यवस्था र जातीय विभेदको मतियार दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापनाको सङ्घर्षमा एकताबद्ध हुन सम्पूर्ण उत्पीडित दलित समुदायमा हार्दिक अपिल गर्दछौँ ।’

संयोजक नेपालीको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘दलाल सत्ताको स्थानीय निर्वाचन नजिकिएदेखि र हालसम्म सप्तरीमा भएको स्वतन्त्र उमेदवारलाई सघाएको बहानामा सन्तलालको हत्या, कालीकोटमा विजयर्यालीमा बाजा बजाउन जाँदा प्रेम दर्जीको हत्या, अछाममा एक दलित युवामाथिको साङ्घातिक आक्रमण, रोल्पा कारागारमा सुन्दर हरिजनको हत्या र ललितपुर शङ्खमूलस्थित जगद्गुरु आदर्श संस्कृत गुरुकुल शिक्षालयमा गरिएको निच घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कारबाहीका लागि जोडदार माग गर्दछौँ । राज्य इमानदार नदेखिएको खण्डमा आन्दोलनको घोषणा गर्न बाध्य हुनेछौँ जसको जिम्मेवार स्वयम् राज्यव्यवस्था हुनेछ । कथित जात व्यवस्था र जातीय विभेदको मतियार दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापनाको सङ्घर्षमा एकताबद्ध हुन सम्पूर्ण उत्पीडित दलित समुदायमा हार्दिक अपिल गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :