विप्लव अरूलाई प्रतिबन्ध लगाएर राजतन्त्र स्वीकार्दै प्रधानमन्त्री हुन चाहन्थे : प्रवक्ता सुदर्शन

विप्लव अरूलाई प्रतिबन्ध लगाएर राजतन्त्र स्वीकार्दै प्रधानमन्त्री हुन चाहन्थे : प्रवक्ता सुदर्शन

काठमाडौँ : नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले विप्लव मनोगतवादी र एकलकाटे प्रवृत्तिको रहेको बताएका छन् । जनयुद्धका सांस्कृतिक सहिद कृष्ण सेन ‘इच्छुक’ को २१ औँ स्मृति र सांस्कृतिक बलिदान दिवसका दिन नेकपा (बहुमत) निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घ छैटौँ राष्ट्रिय सम्मेलन आयोजक समितिले काठमाडौँ संवाद डबलीमा आयोजना गरेको ‘सांस्कृतिक संशोधनवादविरुद्ध मार्क्सवादी संस्कृतिकर्मीहरूको भूमिका’ विषयक विचारगोष्ठी तथा कविता वाचन कार्यक्रममा प्रमुख अतिथि रहेका प्रवक्ता सुदर्शनले प्रचण्डसँग अलग हुँदा विप्लवले समाजवाद स्थापना गर्न नभई केही सैनिक जर्नलहरूसँग मिलेर दलहरूमाथि प्रतिबन्ध लगाउने र राजा राख्दै आफू प्रधानमन्त्री बन्ने योजना बनाएको सार्वजनिक गरे । विप्लवमा आत्मसुरक्षावाद, सारसङ्ग्रहवाद, जुझारु अर्थवाद, आत्मसमर्पणवाद देखिएकाले उनलाई कारबाही गरेर नेकपा (बहुमत) पुनर्गठन गरिएको पनि उनले बताए । विप्लव संसद्‌वादी संशोधनवादी देखिएको र संसद्‌वादीहरूको अन्तिम गन्तव्य यही संसद्‌वादसम्म मात्र भएकाले वैज्ञानिक समाजवादी क्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नु आफ्नो पार्टीको दायित्व भएको पनि उनले स्पष्ट पारे ।

बन्दुक र पैसाले मतदान गर्ने पुँजीवादी, संसद्‌वादी व्यवस्थामा सर्वहारा वर्गले जित्न नसक्ने भएकाले वर्गसङ्घर्षको प्रक्रियाबाटै अघि बढ्नुपर्ने पनि प्रवक्ता सुदर्शनले बताए । एमसीसी पारित गरेपछि मुलुक सीधै नवऔपनिवेशिक बनेको विश्लेषण गर्दै प्रवक्ता सुदर्शनले राष्ट्रियता रक्षाका लागि जनगणतन्त्र कोरिया र क्युबाले लडेको लडाइँजस्तै नेपालले पनि लड्नुपर्ने अवस्था उत्पन्न भएको प्रस्ट पारे । ‘अब हामीले राष्ट्रिय मुक्ति र जनमुक्तिको लडाइँ सँगसँगै लड्नुपर्नेछ’, उनले भने ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले बेपत्ता योद्धाहरू मारिइसकेको भनेर सार्वजनिक गरेजस्तै अवस्था रहेको नेता सुदर्शनको भनाइ थियो । सरकारले प्रस्ट नभने पनि महान् जनयुद्धमा राज्यबाट बेपत्ता पारिएका दुई हजार नागरिक र योद्धाहरू कानुनी रूपमा बेपत्ता भनिए पनि बलिदान भइसकेको अवस्था रहेको पनि प्रवक्ता सुदर्शनले बताए । ‘इच्छुकलगायत दस हजार हाराहारी महान् सहिदका सपना मर्न दिनु हुँदैन । स्टालिनले भनेझैँ कम्युनिस्टहरू विशेष धातुले बनेका मानिस हुन् । कम्युनिस्ट क्रान्तिकारीहरूले जतिसुकै दुःख, कष्ट, हैरानी, अभाव र पीडा सहेर भए पनि सहिदका सपना साकार पार्नुपर्छ’, उनले भने । सहिदका सपना पूरा गर्नकै लागि नेकपा (बहुमत) ले पार्टीको कार्यदिशा वैज्ञानिक समाजवाद तय गरेको र वैज्ञानिक समाजवादी क्रान्तिका माध्यमबाट समाजवाद स्थापना गरिने पनि उनले प्रस्ट पारे । नेपालका देशभक्त, सच्चा क्रान्तिकारीहरूबीच एकता हुने र संसद्‌वाद तथा संसदीय व्यवस्थाको अन्त्य गरी स्थिरता, रूपान्तरण, शान्ति, समृद्धि र सुशासनसहितको स्वाधीन, समृद्ध सरकार निर्माण गर्दै अघि बढिने नेता सुदर्शनले बताए ।

विप्लवहरूले मर्न डराएरै संसद्‌वादी बाटो अँगालेको प्रस्ट पार्दै प्रवक्ता सुदर्शनले भने, ‘उहाँहरू मर्न डराएरै पतनको बाटो हिँड्नुभयो । मर्न डराएपछि पलायन, पतन र मृत्यु अवश्यम्भाबी बन्छ । हामी मर्न तयार भएपछि जनताले जोगाउँछ । डराएपछि बाकसमा लुकाएर राखे पनि जोगिँदैन ।’ निम्नपुँजीवादी स्च्छन्दतावाद र अधैर्यवादले शीघ्र पतनमा पुर्याउने तथ्य विप्लवहरूको पतनले देखाएको प्रस्ट पार्दै प्रवक्ता सुदर्शनले आफूहरू सांस्कृतिक क्रान्ति र वैज्ञानिक समाजवादप्रति प्रतिबद्ध रहेको पनि बताए । परिवार र पार्टी समितिहरूलाई समाजवादी बनाउँदै लग्नुपर्ने धारणा राख्दै प्रवक्ता सुदर्शनले निजी सम्पत्तिको आशा मार्नुपर्ने र क्रान्ति र बलिदान गर्न आफैँबाट सुरु गर्नुपर्ने पनि स्पष्ट पारे ।

कार्यक्रममा वाचित स्रष्टाहरूका सिर्जनातर्फ सङ्केत गर्दै प्रवक्ता सुदर्शनले सहिदहरूका सपना मर्न नदिन मार्क्सवादी स्रष्टाहरूले आफ्ना सिर्जनाका माध्यमबाट आगो ओकल्नुपर्ने पनि प्रस्ट पारे । इच्छुक जनयुद्धका दसौँ हजार सहिदमा प्रतिनिधि सहिद रहेको र कालजयी सिर्जना गरेकैले विचार र सिर्जनाका माध्यमबाट जीवित रहेको पनि नेता सुदर्शनले बताए । कविताले वर्तमान यथार्थप्रति विद्रोह बोलेको र मरणशील यथार्थविरुद्ध जीवनशील यथार्थ निर्माणका पक्षमा शक्तिशाली पक्षधरता देखाएको पनि सुदर्शनले बताए । ‘अझै जोसिला, जाँगरिला, तीक्ष्ण, धारिला र गहिरा सिर्जना पस्किनु आवश्यक छ । यो उतारको बेला, नयाँ र आन्तरिक विद्रोहको बेला यस्तो हुन्छ तर कवि, कलाकार, निबन्धकारले भविष्य देख्न सक्नुपर्छ । क्षणिक आवश्यकतालाई तोडेर अघि बढ्न सक्नुपर्छ । स्रष्टा इच्छुकका सिर्जनामा त्यो क्षमता छ । त्यस्तै क्षमताको विकास गर्नुपर्छ’, स्रष्टा–संस्कृतिकर्मीहरूलाई उनले भने । ‘क्रान्तिकारी स्रष्टाले कहिल्यै पनि आत्मसमर्पण गर्दैन । जस्तोसुकै कठिन परिस्थितिको पनि सामना गर्न तयार हुन्छ, हुनुपर्छ । हामी पनि इच्छुकले रोजेको क्रान्तिकारी बाटोमा छौँ र उहाँका सपना पूरा गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गर्दछौँ’, प्रवक्ता सुदर्शनले भने ।

कार्यक्रममा नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य लालबहादुर बीसी, शरद रसाइली, देवकला अधिकारी, भीम बटाला, माधव गौतम, वीरेन्द्र शाह, रणबहादुर विक, विनोद थापा, रोजन, लोकश विक, नरेन्द्र विक, मिलन राई, केबी मल्ल, पाबेल, कमल बुढा, सल्लाहकार ढुण्डीराज अधिकारीलगायत पचासभन्दा बढी नेता, कार्यकर्ता, स्रष्टा सहभागी थिए । कार्यक्रमको अध्यक्षता महाधिवेशन आयोजक समितिका सदस्यसमेत रहेका अखिल नेपाल जनसांस्कृतिक महासङ्घका संयोजक खेम थपलियाले र सञ्चालन महाधिवेशन आयोजक समितिका सदस्य एवम् नेकपा बहुमत केन्द्रीय प्रचार, प्रसार तथा प्रसारण ब्युरोका संयोजक अशोक सुवेदीले गरेका थिए ।

कार्यक्रममा स्रष्टाहरू अग्निराज पौडेल ‘अराप’, ढुण्डीराज अधिकारी, नन्दलाल खरेल, अशोक सुवेदी, वीरेन्द्र शाह, बिहानी विक, खेम आचार्य, उषाकिरण आजाद, जीवन हमाल, धनञ्जय बुढा, जीवेन्द्र शाही नीलगगन, पारस राहदी मगर, रणबहादुर विक, विशाल जिरेल, राजेश वान्तवा, नवराज न्यौपानेलगायत २० भन्दा बढी स्रष्टाले कविता र गीतका माध्यमबाट प्रतिक्रियावादी, यथास्थितिवादी र संशोधनवादी संस्कृतिविरुद्ध धावा बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :