क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूबीच ध्रुवीकरणका लागि मोहन वैद्यको आह्वान

सिद्धान्त छोडेर क्रान्ति हुँदैन : कञ्चन, संसद्‌मा गएर समाजवाद ल्याउने कुरा हावादारी : सुदर्शन

क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूबीच ध्रुवीकरणका लागि मोहन वैद्यको आह्वान

काठमाडौँ : काठमाडौँमा शुक्रबार आयोजित दुई कार्यक्रमका वक्ताहरूले क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूबीच ध्रुवीकरण र सिद्धान्तरक्षामा जोड दिँदै संसद्‌बाट समाजवाद ल्याउने कुरा हावादारी भएको बताएका छन् ।

नेकपा (क्रान्तिकारी माओवादी) ले काठमाडौँ कमलादीमा आयोजना गरेको लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसमा उक्त पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ ले प्रतिक्रियावादी सत्ताको अन्त्यका लागि सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट पार्टीहरू ध्रुवीकरण हुनुपर्ने बताए भने सोही कार्यक्रममा नेकपा केन्द्रीय सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय विभागका प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले मार्क्सवादको प्रस्थापना, मालेमावादी विचार र सिद्धान्तलाई जोगाएर मात्र कम्युनिस्ट आन्दोलनको विकास गरी समाजवाद स्थापना गर्न सकिने बताए ।

त्यसैगरी संवाद डबलीमा आयोजित पुस्तक विमर्श कार्यक्रममा नेकपाका सचिवालय सदस्य एवम् केन्द्रीय स्कुलिङ विभागका प्रमुख हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले संसद्‌बाट समाजवाद लागू गर्छु भन्ने हावादारी कुरा र विभ्रमबाट मुक्त भई क्रान्तिमार्गमा अग्रसर हुन आह्वान गरे ।

लेनिन जयन्ती तथा पार्टी स्थापना दिवस कार्यक्रममा नेता किरणले प्रचण्ड–बाबुरामले मालेमाको प्रस्तावना र नेकपाको लक्ष्य–उद्देश्यविरुद्ध हिँडेर आन्दोलनलाई नै विसर्जन गर्ने षड्यन्त्र गरेको भन्दै एक भएर क्रान्तिको झन्डा उठाउन क्रान्तिकारी शक्तिलाई आह्वान गरे ।

नेकपा नेता कञ्चनले विचार र सिद्धान्त छोडेर गरिने क्रान्तिका कुरा फोस्रा हुने भएकाले मालेमालाई व्यवहारमा लागू गर्न निरन्तर क्रान्तिमा लामबद्ध हुन आह्वान गरे ।

उता वामपन्थी लेखक डा. ऋषिराज बराल लिखित ‘सार्वभौम माओवाद र उत्तरमार्क्सवादी विभ्रम’ पुस्तकमाथि परिचर्चा गर्दै नेकपा नेता सुदर्शनले मालेमावाद र विशेषतः माओवादको सार्वभौमिकतालाई प्रमाणित गर्नु अपरिहार्य रहेको बताए । उनले मालेमावादी विचार समाप्त भएपछि भैँसी पूजा गर्ने प्रचण्ड, प्रधानमन्त्री भएपछि दक्षिणकालीमा कालोबोको पूजा गर्ने मनमोहन अधिकारी र तान्त्रिकलाई देखाएर औँठी लगाउने आफ्नो पार्टीका अमूक नेता उस्तै रहेको प्रस्ट पार्दै उनले संसद्‌मा गएर समाजवाद ल्याउने हवाईकल्पना र मिथ्या सपना नदेख्न पार्टीनेताहरूलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :