नेकपा मकवानपुरद्वारा राजनीतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न

नेकपा मकवानपुरद्वारा राजनीतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न

मकवानपुर : मकवानपुरमा राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले आयोजना गरेको प्रशिक्षण कार्यक्रम हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पसको सेमिनार हलमा भएको हो ।

जिल्ला सेक्रेटरी वाटरको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयनको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीको वैज्ञानिक समाजवाद प्राप्तिको कार्यदिशा, हालको राजनीतिक घटनास्थिति, संसदीय व्यवस्थाभित्रको स्थानीय तहको निर्वाचन र सिर्जित परिस्थितिका साथै जनजीविकासँग सम्बन्धित पार्टीको कार्यनीतिबारे स्पष्ट रूपमा प्रशिक्षण दिइएको हो । प्रशिक्षण दिने क्रममा प्रमुख अतिथि नयनले देश र जनताको निकास यो संसदीय व्यवस्थाले कदापी दिन नसक्ने भएकोले कथित चुनाव जनताको लागि महत्वको विषय नभएको बताउँदै हालको परिस्थितिमा राष्ट्रघात, जनघात, भ्रष्टाचार, दलालीकरण र राष्ट्रघाती एमसीसीका विरुद्ध भण्डाफोर अभियानमा एकजुट भइ अघि बढ्न सबैलाई प्रेरित गरेका छन् ।

त्यस्तै अर्का जिल्ला सेक्रेटरी तथा कार्यक्रमका अतिथि पेमाले पनि प्रशिक्षण मुलक मन्तव्य राखेका थिए । साथै सचिवालय सदस्य गुण सिं रुम्बाले स्वागत मन्तव्य राखेका थिए भने कार्यालय सचिव सुर्यबहादुर गोलेले पार्टी केन्द्रको १२ औँ पूर्ण बैठकको परिपत्र र दस्तावेज वाचन गरेका थिए ।

यसरी समसामयिक र विशेष विषयवस्तुमा आधारित एकदिने प्रशिक्षण कार्यक्रमको सञ्चालन सचिवालय सदस्य तथा हेटौँडा उप–महानगर सेक्रेटरी सुर्य अर्यालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :