नयाँ वर्षको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

नयाँ वर्षको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

काठमाडौँ: जनपत्रकार संगठन नेपाल उपत्यका प्रदेश समन्वय समितिद्वारा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । नयाँ वर्षको अवसरमा वर्षको पहिला दिन संगठनको आयोजनामा कार्यक्रममा राखिएको थियो ।

कार्यक्रममा बोल्दै संगठनका केन्द्रीय संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि शेरबहादुर विश्वकर्माले वैज्ञानिक समाजवाद स्थापनाका लागि पत्रकारहरुले महत्वपूर्ण भूमिका खेल्ने समय आएको बताए । नयाँ वर्षको शुभकामना दिदै उनले भने, ‘जहिलेको परिवर्तन पनि पत्रकार अगाडि आएपछि सम्भव भएका इतिहास छन् । संकटकालको समयमा सबै पार्टीहरुलाई राजाले प्रतिबन्ध लगाएको बेलामा पत्रकार महासंघले निकालेको एउटा विज्ञप्तिले अर्को माहोल सृजना गरेको थियो । अब दलाल संसदीय व्यवस्था अन्त्य गर्दै वैज्ञानिक समाजवाद स्थापनाका लागि फेरी पत्रकारले एक स्टेप अगाडि बढेर माहोल बनाउने समय आएको छ ।’

कार्यक्रममा बोल्दै जनपत्रकार संगठन नेपाल, उपत्यका प्रदेश समन्वय समितिका संयोजक शोभराज बरालले पत्रकारहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रकाको रक्षाका लागि अझैं संघर्ष गर्न पर्ने आवश्यकता महशुस भएको बताए । ‘नेपालमा अहिले पनि समाचार लेखेकै भरमा, अभिव्यक्ति दिएकै भरमा पत्रकार तथा आम सर्वसाधारण पक्राउ पर्ने अवस्था रहेको छ । त्यसको अन्त्यका लागि हामी पत्रकारले नै संघर्ष गर्न पर्छ । त्यसका लागि जनपत्रकार तयार छ । अरु पत्रकार संघ संगठनहरुले पनि यसका लागि महत्वपूर्ण भुमिका खेल्न पर्छ ।’

कार्यक्रममा बोल्दै पत्रकार हेमराज जोशीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ठूलो बलिदान भएको भन्दै त्यसको रक्षाका लागि जनपत्रकारले महत्वपूर्ण भुमिका खेल्नेमा विश्वास व्यक्ति गरे ।

कार्यक्रमको अध्यक्षता शोभराज बरालले गरेका थिए भने संचालक संगठनका केन्द्रीय सदस्य शाहास भट्टले गरेका थिए । उक्त कार्यक्रममा विभिन्न मिडियामा आवद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संगठनका बरिष्ठ केन्द्रीय सदस्य राजेन्द्र चिमौरिया, केन्द्रीय सदस्य केशव संज्याल, पत्रकार राम गैरे, गंगा बराल, रेनुका बुढाथोकी लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :