मेडिकल कलेज बन्द हुने

काठमाडौंः राजनीतिक संरक्षणको आडमा अबैध ढंगले सम्बन्धन दिइएको काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन स्थगित हुने भएपछि सो कलेज अन्ततः बन्द हुने भएको छ । चौतर्फी दबावपछि शनिबार त्रिविले सम्बन्धन फिर्ता लिने निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालयद्वारा गठित छानविन समितिले सम्बन्धन अवैध भएको प्रतिवेदन बुझाएपछि त्रिवि सो निर्णय गर्न बाध्य भएको हो । मन्त्रालयकै निर्देशनमा सम्बन्धन दिइएको र मन्त्रालयनै पछि हटेपछि सम्बन्धन स्थगित गरिएको त्रिवि परिषद्का एकजना सदस्यले बताएका छन् । कलेजको सम्बन्धन स्थगित भएपछि सो कलेजद्वारा प्रस्तावित (तयारी) अस्पतालसमेत बन्द हुने भएको छ । रामचन्द्र पौडेल गुट निकट त्रिवि उपकुलपति तीर्थराज खनियाँलाई शनिबार बिहान प्रम तथा त्रिवि कुलपति देउवाले सम्बन्धन फिर्ता लिने वा राजिनामा दिने एक विकल्प रोज्न भनेका थिए । सम्बन्धन पाएको १ महिना ५ दिनपछि कलेजको सम्बन्धन फिर्ता भएको छ । डा. गोविन्द केसीले भदौ २१ देखि पुनः आमरण अनसन बस्ने चेतावनी दिइरहेको बेला यो निर्णय भएको हो । त्रिवि कर्मचारीहरुले भने दलका नेताहरु, प्रधानमन्त्री र शिक्षामन्त्रीको निर्देशनमा सम्बन्धन दिइएको र जनदबावपछि अहिले त्रिविलाई ‘बलीको बोको’ बनाएको गुनासो गरेका छन् ।

२०७४ भदौ १८ गते ९ः२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :