जनआन्दोलन दिवसकाे अवसरमा झापामा मूल्यवृद्धिको विरुद्ध विरोध प्रदर्शन 

जनआन्दोलन दिवसकाे अवसरमा झापामा मूल्यवृद्धिको विरुद्ध विरोध प्रदर्शन 

झापा: नेपाल कम्युनिस्ट पार्टी झापाले ३३ औँ जनआन्दोलन दिवसका अवसरमा मूल्यवृद्धिको विरुद्ध विरोध प्रदर्शन गरेको छ ।

आज जिल्लाकाे मेचिनगर स्थित वडा नम्बर छ काकडभिट्टा बसपार्कमा आयोजित कार्यक्रममा पार्टीका जिल्ला नेताहरूले सम्बोधन गर्दै चर्को मूल्यवृद्धिका विरुद्ध विरोध गरेका थिए।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् पार्टीका जिल्ला सचिव प्रशान्त थापाले जनताको मतकाे अपमान गर्दै संसदीय दलका नेताहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेका कारण देश यो अवस्थामा पुगेको बताए । उनले जनआन्दोलनका सहिदहरुले लडेर ल्याएको परिवर्तन माथि दलालहरुकाे हालिमुहाली रहेको भन्दै यसको विरुद्ध सबै डटेर लड्नुपर्ने बताए ।  जनतामाथि करकाे बाेझ बाेकाएर उनीहरुले भत्ता खाँदै सत्ताकाे चरम दुरुपयोग गरेकै कारण जनता मारमा परेकाे उल्लेख गर्दै राष्ट्रघाती तत्वहरुलाई जनताले बहिस्कार गर्नुपर्ने समेत उनले उल्लेख गरे ।

पार्टीका जिल्ला सचिव सञ्जय राईले सञ्चालन गरेको कार्यक्रममा पार्टीका नगर इन्चार्ज जितु तामाङकाे अध्यक्षता रहेको थियोे भने पार्टीका जिल्ला सल्लाहकार सदस्य खोम मिश्र बुद्धिजीवी संगठन नेपालका केन्द्रीय सदस्य सुरेन्द्र कार्की, जनसांस्कृतिक मञ्चका केन्द्रीय सदस्य इस्लाम लगायत पार्टीका विभिन्न तहमा रहेका नेताहरूको आतिथ्यता रहेको थियोे ।

कार्यक्रममा जनसांस्कृतिक मञ्चका केन्द्रीय सदस्य इस्लामले जनवादी गीत प्रस्तुत गरेका  थिए भने बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य  सुरेन्द्र कार्की लगायतले आफ्ना मन्तव्य राखेका थिए। कार्कीले २०४६ सालकाे जनआन्दोलनकाे स्मरण गराउँदै  नेताहरूले सहिदकाे अपमान गरेकोमा दुखेसो पाेखे । नेताहरुकाे चरित्र देश बनाउने नभएर लुट्ने तिर गएको कारण आफुहरुले प्रतिवाद गर्नुपरेको बताए ।  

त्यस्तै कार्यक्रमका अध्यक्ष तथा मेचीनगर इन्चार्ज जितु तामाङले दलाल संसदीय व्यवस्थामा सति गएका कम्युनिस्टहरुबाट परिवर्तन असम्भव रहेको र जनताले आफ्नो अधिकारका निमित्त फेरि एकपटक संघर्ष गर्नुपर्ने बेला आएको बताउँदै भाेट माग्न आउने नेताहरूलाई गाउँगाउँबाट लखेट्न अपिल गरे ।
कार्यक्रममा सहिद परिवार, पार्टीका नेता कार्यकर्ता लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :