नेकपा सङ्खुवासभाका नेता कोइराला गिरफ्तार

पार्टी चुनावमा नजाने निर्णय आउनासाथ नेकपाका नेता–कार्यकर्तालाई आतङ्कित बनाउँदै गठबन्धन सरकार

नेकपा सङ्खुवासभाका नेता कोइराला गिरफ्तार

काठमाडौँ : काङ्ग्रेस, माओवादी केन्द्र, एस र जसपाको गठबन्धन सरकार नेकपाका नेता–कार्यकर्तालाई आतङ्कित बनाएर नाङ्लो ठटाउँदै हात्ती तर्साउने दुःस्वप्न देख्न थालेको छ । प्रहरीले आजै नेकपा सङ्खुवासभा विशेष जिल्ला समिति सदस्य पुष्प कोइरालालाई इलामबाट गिरफ्तार गरेको छ ।

सरकारले नेकपाका केन्द्रीय सदस्य तीर्थ राईको भोजपुर षडानन्द नगरपालिका वडा नम्बर १ नेपालेडाँडास्थित घरमा एकैपटक २–२ वटा पक्राउ पुर्जी टाँसेको खबर आजै सार्वजनिक भएको थियो । यस्ता हर्कत गरेर देउवा सरकारले नेकपालाई जबर्जस्ती मुठभेडतिर धकेल्न लागेको आशङ्का गरिएको छ ।

आजै आफ्नो घरमा प्रहरीले २–२ वटा पक्राउ पुजी टाँसेको पुष्टि गरेका नेकपाका केन्द्रीय सदस्य तीर्थ राईले सामाजिक सञ्जाल फेसबुकमा नेकपा नेता कोइरालाको गिरफ्तारी पुष्टि गर्दै लेखेका छन्, ‘क. पुष्पमाथि लगाइएको झूट्टा मुद्दा खारेज गरी तुरुन्त रिहा गर ।’ उक्त स्टाटसमा टिप्पणी गर्दै भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टीका जुझारु नेता कमरेड पुष्प कोइरालालाई आज जिल्ला प्रहरी कार्यालय इलामले तीनबुँदे सहमतिलाई लत्याउँदै गिरफ्तार गरेको छ । दलाल राज्यका शासकहरूले तीनबँुदे सहमतिको मर्मलाई अक्षरशः पालना गरी गिरफ्तार कमरेडलाई तत्काल रिहाइका जोडदार माग गर्दछौँ । दलाल सरकार मुर्दवाद ।’

गठबन्धन सरकारले पूर्वका नेताहरूको घरमा पक्राउ पुर्जी टाँस्ने र गिरफ्तार गर्ने हर्कत गरेर नेकपालाई तर्साउन खोजेको देखिन्छ । यही चैत ४ देखि १५ गतेसम्म कपिलवस्तुमा बसेको नेकपा केन्द्रीय समितिको बैठकले पार्टी स्थानीय चुनावमा नजाने निर्णय गरेको थियो । बैठकले राष्ट्रघाती एमसीसीविरोधी देशभक्तहरूलाई सघाउन भने सकिने निर्णय पनि गरेको थियो । उक्त निर्णय सार्वजनिक हुनासाथ नेकपाका नेता–कार्यकर्ताको घरमा पुर्जी टाँसिनु र गिरफ्तार गरिनुलाई संयोग मात्र मान्नु नहुने जानकारहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :