इमानदारी नै कम्युनिस्टको पहिलो सर्त हो – रत्न मगर अध्यक्ष, जनगणतान्त्रिक सम्पर्क मञ्च

प्रहरी घरमा खोज्न आइरहन्थ्यो । गाउँमा भुजेल थरका पञ्च नेताहरू थिए । उनीहरूले प्रहरी बोलाउने गर्थे । हुँदाहुँदा गाउँमा बस्नै नसक्ने स्थिति बन्यो । त्यसपछि भारत निर्वासनमा गएँ । बिहार, सीतामढीमा खादिग्राम उद्योग सङ्घ छ । त्यहीँ मजदुरी गर्न थालेँ । सीपी गजुरेलले पार्टी सम्पर्क गराए । २ वर्ष त घरमा पनि कहाँ छु, के स्थिति छ ? कसैलाई चिठीपत्र केही पठाइनँ । घरमा पनि चिन्ता गर्ने नै भए । त्यो कुरा सीपी गजुरेलसँग गरें । उनले घरमा खबर गर्न सल्लाह दिए । त्यसपछि घरमा खबर आदानप्रदान भयो ।(२०१३ सालमा सिन्धुली गोलुङजोर–६ (साबिक बासेश्वर–६) मा जन्मिएका रत्न मगर एकजना इमानदार र दृढताका पर्याय हुन् । २०३६ सालमा चन्द्रप्रकाश गजुरेल ‘गौरव’ ले पार्टी सदस्यता दिएका मगर अहिले जनगणतान्त्रिक मञ्चका केन्द्रीय अध्यक्ष छन् । उनै नेता रत्न मगरसँग गरिएको कुराकानीको सम्पादित अंश) 

»» कम्युनिस्ट आन्दोलनमा कहिलेदेखि लाग्नुभएको हो ? 
२०३५/०३६ सालको आन्दोलनपछि मैले तत्कालीन नेकपा (माले निकट भएर काम गरेको थिएँ । त्यसको लगत्तै एकै गाउँका वामपन्थी नेता सीपी गजुरेल ‘गौरव’ को सम्पर्कबाट नेकपा (चौम) को सम्पर्कमा गएँ । २०३६ सालमा क. गौरवले मलाई पार्टी सदस्यता दिएका थिए । 

»» पञ्चायती कालमा काम कसरी गर्नुभयो ? सङ्क्षिप्तमा भनिदिनुस् न ? 
२०३५ सालमा पञ्चायती व्यवस्थाले गिरफ्तार गर्‍यो तर धेरै दिन राखेन । हामीलाई अराष्ट्रिय तत्व भन्थे । धेरै कठिन थियो । प्रहरी घरमा खोज्न आइरहन्थ्यो । गाउँमा भुजेल थरका पञ्च नेताहरू थिए । उनीहरूले प्रहरी बोलाउने गर्थे । हुँदाहुँदा गाउँमा बस्नै नसक्ने स्थिति बन्यो । त्यसपछि भारत निर्वासनमा गएँ । बिहार, सीतामढीमा खादिग्राम उद्योग सङ्घ छ । त्यहीँ मजदुरी गर्न थालेँ । सीपी गजुरेलले पार्टी सम्पर्क गराए । २ वर्ष त घरमा पनि कहाँ छु, के स्थिति छ ? कसैलाई चिठीपत्र केही पठाइनँ । घरमा पनि चिन्ता गर्ने नै भए । त्यो कुरा सीपी गजुरेलसँग गरें । उनले घरमा खबर गर्न सल्लाह दिए । त्यसपछि घरमा खबर आदानप्रदान भयो । २ वर्षपछि नेपाल आउँदा घरमा रातिराति हिँडेर पुग्थें । दिनभरि घरभित्र लुकेर नजिकका आफन्तसँग मात्र भेट्थेँ । गाउँघर, खेतबारी, साथीभाइ सबैसँग भेट्ने मन हुन्थ्यो । इच्छा दबाएर बस्नुपथ्र्यो । गाउँबाट रातभरि हिँडेर सीतामढी फर्किन्थेँ ।

»»  सीपी गजुरेललाई कसरी बास दिनुहुन्थ्यो ? 
गौरवलाई त्यसबेला प्रहरीले खोजेको छ भन्थे । उनी मेरो कार्यालय सीतामढीमा आउँथे । हाम्रो कारखानामा अतिथिगृह थियो । त्यहाँ गौरव कहिलेकहीँ त एक महिनासम्म बस्थे । 

»» पार्टी सम्पर्क कसरी गर्नुभयो ? काम केकसरी गर्नुहुन्थ्यो त ? 
सीपी गजुरेलको सम्पर्कबाट पार्टीको मजदुर क्षेत्रमा काम गरेँ । २०५८ सालसम्म त्यहीँ थिएँ । हरियाणा, पन्जाब, कलकत्ता, दिल्लीमा बैठक र प्रशिक्षणमा गइरहन्थेँ । मेरो जिम्मा बिहार इलाका समितिको इन्चार्ज थियो । बिहारमा सङ्गठन भने कमजोर थियो । नेपालको जनयुद्धलाई उपचार, प्रचार, बास, सूचना आदानप्रदान, व्यवस्थापन र जनमत तयार गर्नु नै हाम्रो मुख्य काम हुन्थ्यो । हामी त्यही काम गथ्र्यौं ।

»» जनयुद्धमा कहिले र किन लाग्नुभएको हो ? 
२०४७ सालमा नेकपा (मशाल), नेकपा (चौम) र सर्वहारावादी श्रमिक सङ्गठनबीच पार्टी एकता भएर नेकपा (एकताकेन्द्र स्थापना भएपछि म पनि त्यतै सङ्गठित भएँ । तर भारतमा भएकाले काम कमै हुन्थ्यो । सीपी गजुरेलको सल्लाहमा २०५८ सालमा नेपालभित्रै गएर काम गर्नुपर्छ भन्ने लागेर काठमाडौँ पुगेँ । जुवातास, मदिरा, गुण्डागर्दी नियन्त्रण, मुद्दा फस्र्योट र प्रहरी ज्यादतीविरुद्ध लडेको देखेर म निकै प्रभावित थिएँ । 

»» क्रान्तिको काम गर्न नेपाल नै आउनुपर्छ र ? 
भारतबाट हाम्रो सङ्गठनको पहलमा थुप्रै प्रवासी नेपाली स्वदेश फर्केर जनयुद्धमा सहभागी भएका थिए । नेपाल फर्कने लहर थियो । छिट्टै क्रान्ति हुन्छ, नेपालमै व्यवस्था हुन्छ, अर्काको देशमा नि बस्ने भन्ने सोचाइ थियो । सीपी गजुरेल र हाम्रो बीचमा पारिवारिक सम्बन्ध थियो । दुवै तर्फबाट सबै आउजाउ हुन्थ्यो । गजुरेलले अब नेपाल जानुपर्छ रत्न भनेपछि काठमाडौँ फर्कें । एमबहादुर आले र म कार्यक्रममा संलग्न हुन्थ्यौँ । 

»» सम्पर्क मञ्चमा चाहिँ कहिलेदेखि काम गर्न थाल्नुभएको हो ? 
२०६३ सालदेखि जनगणतान्त्रिक सम्पर्क मञ्चमा काम गर्न थालेको हुँ । सिन्धुली जिल्ला सदस्य, अध्यक्ष, मञ्चको केन्द्रीय सदस्य, सचिव हुँदै अहिले केन्द्रीय अध्यक्ष छु । प्रचण्डसँग विभाजित हुँदा उनीहरूको विचार र राजनीति मन परेन । त्यसपछि हामीले विद्रोह गरेका थियौँ ।

»»  वैद्य पक्षसँग चाहिँ कस्तो छलफल हुन्थ्यो ? पुराना गाउँले साथी र नेता गौरवलाई पनि छोड्नुभयो नि त ? असजिलो लागेको छैन ? 
जनयुद्धको अधुरो सपना पूरा गर्न भनेर हामीले प्रचण्डबाट विद्रोह गरेको हो । वैद्य इमानदार लाग्छन् तर क्रान्तिको नेतृत्व गर्लान्जस्तो लागेन त्यसैले त्यहाँबाट पनि विद्रोह गरेर अगाडि बढेका छौँ । जहाँसम्म सीपी गजुरेलको प्रसङ्ग छ । भावनात्मक र क्रान्तिको कुरा फरक हुन्छ । भावना हुन्छ, चाहिन्छ तर भावनाले क्रान्ति हुँदैन । गौरव, दिनेश शर्माले वैद्यसँग विद्रोह गर्दा मसँग लामो छलफल गरेका थिए तर म उनीहरूको विचार र राजनीतिसँग सहमत हुन सकिनँ । क्रान्तिका लागि अरु कुरा त्यति महत्वका हुँदैनन् र हुनु हुँदैन । क्रान्तिप्रतिको इमानदारी कम्युनिस्टको पहिलो कर्तव्य हो ।

२०७४ भदौ १८ गते ६ : ५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :