किशोरीमाथिकाे हिंसा रोक्न माग गर्दै अखिल (क्रान्तिकारी) कैलाली छात्रा विभागद्वारा ज्ञापनपत्र

किशोरीमाथिकाे हिंसा रोक्न माग गर्दै अखिल (क्रान्तिकारी) कैलाली छात्रा विभागद्वारा ज्ञापनपत्र

धनगढी: अखिल (क्रान्तिकारी) कैलालीको छात्रा विभागले जिल्ला प्रशासन कार्यालय कैलालीमा ज्ञापनपत्र बुझाएको छ ।
छात्राहरुमाथि हुने विभिन्न हिंसात्मक गतिविधिहरुको सुरक्षाको माग गर्दै विभागले केन्द्रीय कार्यक्रम अनुसार मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई ज्ञापनपत्र बुझाएको हो ।
संगठनका छात्रा विभाग प्रमुख कल्पना सार्कीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ, ‘पछिल्लो समय देशभर शिक्षालयहरूमा छात्राहरू विभिन्न खाले हिंसाका शिकार भइरहेका छन् । त्यसमध्ये यौनहिंसा प्रमूख रहेको छ । छात्राहरू शिक्षालयमा नै असुरक्षित भइरहेका छन् । मोरङको लेटाङ नगरपालिका, चितवनको माडी नगरपालिका लगायत देशभर छात्राहरूमाथि भइरहेको यौनहिंसाविरुद्धमा सरकारले चालेको अपर्याप्त र सुस्त कदमप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालमा यस सम्बन्धी कडा कानुन नहुनु र भएको कानुन पनि सहि तरिकाले कार्यान्वयन नहुनु प्रमूख समस्या रहेको छ । एमसीसी जस्तो राष्ट्रघाती सम्झौता सजिलै सदनबाट पास गर्ने फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश -२०७७ पास नगरि दोषीलाई सजायबाट उम्काउन लागेको भान भएको छ । त्यसकारण उक्त अध्यादेश तत्काल पास गरि कार्यान्वयनमा ल्याउन र आगामी दिनमा यस प्रकारका आपराधिक क्रियाकलाप हुन नदिनका लागि ठोस योजना बनाइ अपराधीहरूमाथि कडा भन्दा कडा कार्वाहीको माग गर्दछौं ।´
सङ्गठन देभरभर भइरहेका छात्रामाथि यौनहिंसाको घटनाहरूको सत्यतथ्य पत्ता लगाइ दोषीलाई कारवाही गर्न र छात्राहरूलाई शिक्षालयहरूमा सुरक्षित र हिंसारहित वातावरणमा अध्ययन गर्न पाउने अधिकारको सुनिश्चितता गर्न जोडदार मागसहित विभागले ज्ञापनपत्र बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :