राष्ट्रघाती एमसीसीविरुद्ध संयुक्त किसान सङ्गठनद्वारा दाङमा प्रदर्शन

राष्ट्रघाती एमसीसीविरुद्ध संयुक्त किसान सङ्गठनद्वारा दाङमा प्रदर्शन

तुलसीपुर : दाङमा राष्ट्रघाती एमसीसी सम्झौता संसद्‌बाट पारित भएको विरुद्ध बुधबार प्रदर्शन भएको छ । दाङको लमहीमा विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) सहित राष्ट्रघाती एमसीसी विरुद्धमा आन्दोलनरत दल–मोर्चा निकटका किसान सङ्गठनहरूको संयुक्त सङ्घर्ष समितिको आयोजनामा एमसीसीको बिरोधमा प्रदर्शनसहित सभा सम्पन्न भएको हो । बिरोध सभालाई संयुक्त सङ्घर्ष समितिका नेताहरूले सम्बोधन गरेका थिए ।

बिरोध सभालाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष पञ्चाराम नेपालीले राष्ट्रघाती एमसीसी सम्झौताले नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधीनतामा गम्भीर खलल पुर्याउने काम गरेको बताएका थिए । उनले केही अर्बको लोभमा राष्ट्रलाई कसैको उपनिवेश बनाउने हर्कत स्वाभिमानी नेपाली जनतालाई स्वीकार्य नहुने उद्घोष गरेका थिए ।

कार्यक्रमका प्रमुख वक्तासमेत रहेका नेपालीले जनताको तागतमा एमसीसी कुनै पनि हालतमा लागू हुन नदिने चेतावनी दिएका थिए । इतिहासमा कसैको गुलाम नबनेको देशलाई अमेरिकी साम्राज्यवादको उपनिवेश बनाउने सपना देखेका बिदेशी दलालहरूलाई जनताले हिसाबकिताब गर्नेसमेत उनको चेतावनी थियो । एमसीसीलाई निसर्त खारेज गर्नुनै उत्तम हुने भन्दै उनले जबर्जस्त नेपाली जनताको टाउको एमसीसी लाद्न खोजे भयङ्कर ठूलो बिद्रोह हुने चेतावनीसमेत दिएका थिए ।

सभालाई नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल भूमिहीन किसान सङ्गठन लुम्बिनी प्रदेश संयोजक तिलक बिक र नेकपा (मसाल) निकट अखिल नेपाल किसान महासंघ दाङ जिल्ला अध्यक्ष ऋषिराम पौडेलले सम्बोधन गरेका थिए ।

राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध आयोजित बिरोध सभाको सहजीकरण अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) दाङ जिल्ला सचिव बिष्णु सुबेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :