जहिलेसम्म महिलाहरू मुक्त हुने छैनन्, तहिलेसम्म मानव समाज पनि मुक्त हुनेछैन : विप्लव

सन्दर्भ : ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

जहिलेसम्म महिलाहरू मुक्त हुने छैनन्, तहिलेसम्म मानव समाज पनि मुक्त हुनेछैन : विप्लव

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना दिँदै र क्रान्तिकारी महिला सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै महिला योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन् । उनले सम्पूर्ण महिला एवम् नागरिकहरूमा श्रमक महिला दिवस भव्य रूपले मनाउन अपिल पनि गरेका छन् ।

महासचिव विप्लवले ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा जारी गरेको शुभकामना वक्तव्यमा श्रम र सिर्जनासँगै पुँजीवाद–दलाल पुँजीवादले लादिरहेका अत्याचार, शोषण एवम् विभेदविरुद्ध सङ्घर्ष र विद्रोह गर्न पनि हरदम तयार हुन पनि आह्वान गरेका छन् । उनले सिङ्गो मानव समाज पुँजीवादको थिचोमिचोबाट मुक्त नभएसम्म महिलाहरू मुक्त नहुने, महिलाहरू मुक्त नभएसम्म मानव समाज पनि मुक्त नहुने र विश्व पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवाद–साम्यवादको स्थापना नै महिलासँगै मानव मुक्तिको सर्त रहेको पनि प्रस्ट पारेका छन् ।

महासचिवद्वारा जारी ‘११२ औँ महिला दिवसको शुभकामना’ विज्ञप्तिमा भनिएको छ, ‘आज २०७८ फागुन २४ गते ११२ औँ श्रमिक महिला दिवस अर्थात् आठ मार्च हो । आफ्नो मुक्ति, अधिकार, स्वतन्त्रता र उच्च मानवसभ्यताका लागि जीवन बलिदान दिन तयार भएर विद्रोह गरेको दिनसँग जोडिएको यो दिन महिलाहरूका लागि अन्तर्राष्ट्रिय पर्व हो भने सिङ्गै मानव जातिका लागि गौरवको दिन हो । यो सुखद अवसरमा हाम्रो जनप्रिय पार्टी क्रान्तिकारी महिला सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै महिला योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछ । साथै सम्पूर्ण महिला एवम् नागरिकहरूमा श्रमक महिला दिवस भव्य रूपले मनाउन अपिल गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सचेत एवम् श्रमिक महिलाहरूको विद्रोहले सामन्तवादी एवम् पुँजीवादी व्यवस्थाले लादेका अत्याचार, उत्पीडन, विभेदबाट निकै महत्वपूर्ण मुक्ति र अधिकार हासिल गरेको छ । हाम्रै देशमा पनि ठूल्ठूला परिवर्तनहरू भएका छन् । परन्तु आज पनि भूमण्डलीकृत पुँजीवाद–दलाल पुँजीवादले महिलाहरूमाथि पुरातन एवम् नवीन तरिकाहरूको प्रयोग गर्दै अनेकौँ खालका उत्पीडन, शोषण गरिरहेको छ । श्रमिक महिलाहरू राजनीतिक रूपले उपेक्षित छन्, आर्थिक क्षेत्रमा असमानता र विभेद छ । सांस्कृतिक रूपले उत्पीडन, शोषण र विभेद छ । सामाजिक क्षेत्रमा उपेक्षा एवम् भेदभाव छ । यद्यपि महिलाहरू यी अत्याचार, उत्पीडन, शोषणका विरुद्ध सङ्घर्ष गरिरहेका छन् । यसलाई पूर्ण सहयोग र साथ दिन आवश्यक छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘महिला मुक्ति मानव मुक्तिसँग जोडिएको सवाल हो । समाज र राज्यको रूपान्तरणसँग जोडिएको विषय हो । यसर्थ महिला मुक्तिको कार्यदिशा निरन्तर सङ्घर्ष र रूपान्तरणको दिशा हुनु पर्दछ । कैयौँ अधिकारहरू चलिरहेकै व्यवस्थाहरूभित्र सङ्घर्ष र सुधारद्वारा प्राप्त गर्न सकिन्छ भने पूर्ण मुक्ति र अधिकारका लागि विश्व पुँजीवादी व्यवस्था र नेपालमा दलाल पुँजीवादी सत्ताको अन्त्य एवम् श्रमिक जनताको व्यवस्था वैज्ञानिक समाजवादको स्थापना अपरिहार्य छ । हामी सारा आमा, दिदी, बैनी, छोरीहरूलाई विशेष आह्वान गर्न चाहन्छौँ– श्रम र सिर्जनासँगै पुँजीवाद–दलाल पुँजीवादले लादिरहेका अत्याचार, शोषण एवम् विभेदविरुद्ध सङ्घर्ष र विद्रोह गर्न पनि हरदम तयार हौँ । जहिलेसम्म सिङ्गो मानव समाज पुँजीवादको थिचोमिचोबाट मुक्त हुनेछैन तहिलेसम्म महिलाहरू मुक्त हुने छ्रैनन् । जहिलेसम्म महिलाहरू मुक्त हुने छैनन्, तहिलेसम्म मानव समाज पनि मुक्त हुनेछैन । विश्व पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवाद–साम्यवादको स्थापना नै महिलासँगै मानव मुक्तिको सर्त हो ।’ ११२ औँ महिला दिवसको शुभकामनाको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :