महासचिव विप्लव र एमाले नेता भीम रावलबीच महत्वपूर्ण भेटवार्ता, राष्ट्रिय स्वाधीनता रक्षाका विषयमा सकारात्मक छलफल

महासचिव विप्लव र एमाले नेता भीम रावलबीच महत्वपूर्ण भेटवार्ता, राष्ट्रिय स्वाधीनता रक्षाका विषयमा सकारात्मक छलफल

काठमाडौँ: संसद्वादी पार्टीहरूले संसद्बाट राष्ट्रघाती एमसीसी सम्झौता पारित गरेपछि राष्ट्रिय स्वाधीनताका पक्षधर शक्तिहरूबीच ध्रुवीकरण हुँदै गर्दा नेकपाका महासचिव विप्लव र एमालेका वरिष्ठ नेता भीम रावलबीच भेटघाट र छलफल भएको छ ।
फागुन १५ गते पाँचदलीय गठबन्धन सरकारले एमसीसी टेबुल गरेर पारित गराउने प्रक्रियामा लगेको समयमा एमालेका वरिष्ठ नेता भीम रावलले खुलेरै एमसीसीको विपक्षमा मत व्यक्त गरेका थिए । रावल एमाले र माओवादी केन्द्रको गठबन्धनको तत्कालीन सरकारी नेकपाले एमसीसी अध्ययन गर्न झलनाथ खनालको अध्यक्षतामा निर्माण गरेको अध्ययन कार्यदलका सदस्य पनि हुन् । उनले निरन्तर एमसीसी सम्झौता राष्ट्रघाती रहेको भन्दै बोलेर र लेखेर आफ्नो भिन्नमत व्यक्त गर्दै आएका छन् । महासचिव विप्लव र नेता रावलबीच एमसीसी खारेजी र राष्ट्रिय स्वाधीनता रक्षाका विषयमा एकताबद्ध भएर सङ्घर्ष अघि बढाउन सकारात्मक छलफल भएको नेकपा उच्च स्रोतले जनाएको छ ।
नेपकाका महासचिव विप्लव र एमाले नेता रावलबीच एमसीसीको खारेजीका साथै राष्ट्रिय स्वाधीनता रक्षा र मुलुकको समसामयिक राजनीतिका विषयमा महत्वपूर्ण छलफल भएको राष्ट्रियता पक्षधर शक्तिहरूका बीच ध्रुवीकरण हुनु आवश्यक रहेको निष्कर्ष निकालिएको स्रोतहरूले बताएका छन् । नेकपाका तर्फबाट छलफलमा पार्टी प्रवक्ता प्रकाण्ड पनि सहभागी थिए ।
महासचिव विप्लवले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि विभिन्न देशभक्त र राष्ट्रप्रेमी नेतहरूसँग गम्भीर छलफल चलाइरहेका छन् । हिजो बुधबार महासचिव विप्लवले माओवादी केन्द्रका असन्तुष्ट नेता नारायणकाजी श्रेष्ठ र नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे रोहितसँग एमसीसीलगायत राष्ट्रिय स्वाधीनताको रक्षाको आन्दोलनलाई अघि बढाउने विषयमा छलफल गरेका थिए ।
नेपाली काङ्ग्रेस, माओवादी केन्द्रको पुष्पकमल दाहाल समूह, एमालेको केपी वली समूह, एकीकृत समाजवादीको माधव नेपाल समूह, जसपाको बाबुराम भट्टराई समूह र लोसपा एमसीसी पारित गरेपछि लागू गराएरै छोड्ने पक्षमा छन् भने नेकपाको नेतृत्वमा नेकपा क्रान्तिकारी माओवादी, नेपाल कम्युनिस्ट पार्टीलगायत ६ दल र २ मोर्चा एमसीसी लागू हुन नदिने र राष्ट्रिय स्वाधीनताको आन्दोलन अघि बढाउने पक्षमा आन्दोलन गर्दै आएका छन् । यसै सन्दर्भमा भोलि २० गते काठमाडौँमा ६ दल र २ मोर्चाको आह्वानमा राष्ट्रियता पक्षधर सम्पूर्ण शक्तिहरूको सहभागितामा विशाल प्रदर्शनसहित विरोधसभा आयोजना हुँदेछ । ६ दल र २ मोर्चाले चैत ६ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :