नेकपा रूपन्देहीद्वारा सहिद तथा बेपत्ता परिवारजनलाई अभिनन्दन

नेकपा रूपन्देहीद्वारा सहिद तथा बेपत्ता परिवारजनलाई अभिनन्दन

काठमाडौँ : नेकपाका केन्द्रीय सदस्य एवम् रूपन्देही इन्चार्ज कृतिले सहिदहरूको सपना पार्टीले पूरा गर्ने बताएका छन् । उनले सहिदका सपनाहरूमाथि प्रचण्ड बाबुरामले गम्भीर धोका दिएको भन्दै जनयुद्धका बाँकी सपनाहरू एकीकृत जनक्रान्तिमार्फत पूरा गर्ने बताएका हुन् ।

नेकपा रुपन्देहीद्वारा २७ औँ जनयुद्ध दिवस तथा सहिद सप्ताहको सन्दर्भमा आयोजित सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै कृतिले देशको राष्ट्रियता गम्भीर सङ्कटमा परेको भन्दै देश बचाउनका लागि राष्ट्रिय मुक्ति आन्दोलन प्रधान बनेर आएको बताए । उनले संसदले एमसीसी पास गरेपछि देशको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधीनतामाथि गम्भीर प्रश्न उठेको भन्दै सत्ता र कुर्सीका लागि देशलाई बलि चलाउनु गम्भीर राष्ट्रघात भएको बताए । नेता कृतिले सहिदहरूको रगत र बलिदानलाई खेर जान नदिने बताउँदै उहाँहरूको स्मृति र सम्मानमा सहिद स्मृति प्रकाशनका साथै शिवगढीमा जनक्रान्तिका सहिदहरूको प्रतिमाहरूसहित जनसङ्ग्रहालय बनाउन लागिएको बताए ।

कार्यक्रममा नेकपा रुपन्देहीका तत्कालीन इन्चार्ज सङ्गमले महान् सहिदहरूको सपनाहरूलाई कहिल्यै बिर्सन नसकिने भन्दै प्रतिक्रियावादी राज्यसत्ताका जेल र हिरासतमा रहँदा सहिदहरूको योगदानलाई निकै स्मरण गरेको बताए । उनले क्रान्तिकारीहरूका लागि जेल हिरासत सङ्घर्षको अनिवार्य मोर्चा भएको भन्दै पार्टी र क्रान्ति जीवनका कष्टपूर्ण अप्ठ्याराहरूमा क्रान्तिकारीहरू सफल हुनुपर्ने बताए । उनले नेपाल एउटा देश भएपनि जेल क्रान्तिकारीहरूलाई षड्यन्त्रपूर्वक बन्दी बनाएर यातना दिने अर्को देश भएको बताए ।

नेकपा जिल्ला सेक्रेटरी विश्वासले सहिदका सपनाहरू पूरा गर्न सहिद परिवारको महत्वपूर्ण योगदान हुने भन्दै क्रान्तिका बाँकी सपनाहरू पूरा गर्न सबै लामबद्ध हुनुपर्ने बताए । जनक्रान्तिका महान् सहिद परिवार सङ्गठन नेपालका केन्द्रीय सचिव जया पौडेलले सहिद तथा बेपत्ता परिवारहरूले उनीहरूका सपनालाई आत्मसम्मान गर्नुपर्ने बताउँदै ती अधुरा सपनाहरू पूरा गर्न सबैले साथ दिनुपर्ने बताए । यसैगरी सहिद परिवारका तर्फबाट बोल्दै सोनिया यादवले सहिदका सपनालाई अलपत्र पारिएको भन्दै ती सपनाहरू पूरा गर्न आफुहरू तयार रहेको बताए । यस्तै सहिद परिवार लता घिमिरेले जनयुद्धमा सहादत प्राप्त गर्ने सहिदहरूका सपनाहरूमाथि धोका भएको भन्दै त्यो सपना पूरा गर्न आवश्यक रहेको बताए ।

सहिद अभिनन्दन कार्यक्रममा रुपन्देहीका ४१ जना सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको थियो । विभिन्न कारणले सम्मान कार्यक्रममा आउन छुटेका सहिद तथा बेपत्ता परिवारजनलाई घरमा पुगेर सम्मान गर्ने जिल्ला सेक्रेटरी विश्वासले बताए ।

कार्यक्रममा तत्कालीन रुपन्देही इन्चार्ज सङ्गम १९ महिना जेल जीवन बिताएर रिहा भएको सन्दर्भमा उहाँलाई सम्मान समेत गरिएको थियो । सङ्ग्रामी सांस्कृतिक परिवारको प्रस्तुतिसमेत रहेको कार्यक्रमको सञ्चालन नेकपा जिल्ला सदस्य नवीन थारूले गरेका थिए भने सेक्रेटरी विश्वासको अध्यक्षता रहेको थियो । रूपन्देहीमा हरेक बर्ष नेकपाले सहिद तथा बेपत्ता परिवारजनलाई सम्मान गर्दै आएको छ । यो बर्ष शंकरनगर बनबाटिकामा रहेका सहिद स्मृति भवनमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :