महासचिव विप्लव र नेमकिपा अध्यक्ष रोहितबीच महत्वपूर्ण छलफल

महासचिव विप्लव र नेमकिपा अध्यक्ष रोहितबीच महत्वपूर्ण छलफल

काठमाडौँ : पाँचदलीय गठबन्धन सरकारले सडक सङ्घर्षमा क्रूर दमन गर्दै संसद्‌वादी दलहरूले संसद्‌बाट राष्ट्रघाती एमसीसी सम्झौता पारित गरेपछि त्यसका विरुद्ध देशभक्त तथा क्रान्तिकारी शक्तिहरूबीच ध्रुवीकरण हुँदै गएको छ । यसै सिलसिलामा आज नेकपा महासचिव विप्लव र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे रोहितबीच भक्तपुरमा महत्वपूर्ण छलफल भएको छ ।

नेकपा कार्यालय स्रोतका अनुसार महासचिव विप्लव र रोहितबीच भेटवार्ता हुँदा नेकपाका प्रवक्ता प्रकाण्ड र नेमकिपाका सांसद प्रेम सुवाल साथमा थिए । महासचिव विप्लव र अध्यक्ष रोहितबीच संसद्‌वादी दलहरूले राष्ट्रियताविरुद्ध एमसीसी पारित गरेकाले त्यसका विरुद्धको आन्दोलन र देशको समसामयिक विषयमा छलफल भएको थियो ।

एमसीसी खारेजका लागि सडक सङ्घर्षको नेतृत्व गरिरहेको नेकपासहित ६ राजनीतिक दल र दुई मोर्चाले यही फागुन २० गते खुलामञ्चमा विशाल प्रदर्शन र विरोधसभासहित आगामी चैत ६ गतेसम्मका सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । काङ्ग्रेस, माओवादी केन्द्र, एमाले, जसपा, लोसपाहरूले सदनबाट एमसीसी पारित गरिरहँदा नेमकिपाले त्यसको सख्त विरोध गरेको थियो । विरोध गर्नेमा एमाले नेता भीम रावल, जनमोर्चा सांसद दुर्गा पौडेल, नेमकिपा सांसद प्रेम सुवाल, राप्रपा सांसद राजेन्द्र लिङ्देन र माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलसमेत थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :