समाजवाद स्थापनाको यात्रामा दुस्मनको कालकोठरीमा

२०७५ साउन १८ गते शुक्रबार बिहानै उठेर नियमित कर्म सकेर पार्टी काममा जानुपर्यो भन्दा पानी परेकाले दृश्य सामग्री र पत्रपत्रिका अध्ययन गरेर बसेँ । खानापछि कार्यालय आएँ । कोसी ब्युरो कार्यालय सचिव डीबी सिलवालसहित विराटनगर पार्टी काममा जानु थियो । डीबीलाई फोन गरेँ तर फोन अफ रहेछ । फोन सम्पर्क नभएपछि बिहान ११ः३० मा डीबीको डेरातर्फ लागेँ । झरना होटेलअगाडि आएपछि रामेश्वर मावि माम्लिङका शिक्षक दिव्यराज अधिकारीसँग भेट भयो । समसामयिक विषयमा केही कुरा भएपछि छुट्याैँ । उत्तर–दक्षिण राजमार्ग मात्रै के पुगेको थिएँ, सडकको छेउछेउमा बाइक लिएर सिभिल प्रहरी बसेका रहेछन् । मैले देखेपछि फर्किऊँ भने बाइक देखी लखेट्ला, बरु बिस्तारै नचिनेझैँ गरी जानुपर्यो भन्दा सडकमा सवारीसाधनको चापले ५र७ मिनेट लागिहाल्यो । प्रहरीले त्यही बेला चिनिहाल्यो । म अलि लम्किएजस्तो गरी हिँडेँ । एकजना प्रहरीले मलाइ पिछा गर्यो । म अलि फटाफट लागेँ । नमुना गेटमा बसेको प्रहरीले ढाकाटोपी लगाएको मान्छे गयो, खेद भनेपछि म टोपी झिकेर नमुना गेटदेखि विवेकको कोठा हुँदै करिब ६०० मिटर कुदेपछि प्रहरीले बाइक र पैदल चारैतिरदेखि घेरा हालेर मलाई छेकिहाले । मेरो खुट्टामा समस्या भएकाले कुद्न सकिनँ । लछारपछार पार्न खोजेपछि तिमीहरूसँगको सङ्घर्ष होइन, दलाल, भ्रष्टाचारीका विरुद्ध गरिने आन्दोलन हो अर्थात् दलाल संसदीय व्यवस्थाको अन्त्य गर्ने अभियान हो, बरु यो अभियानमा तिमीहरूको पनि साथ हुनुपर्छ भनेपछि पाखुरामा समातेर नमुना गेटतिर लिएर आए । त्यति नै खेर मेरो मोबाइल खोसिहाले । डीबीको डेरा घेरा हालिरहेको रहेछ । मलाई नमुना गेट पुर्याए । इटहरी प्रहरी कर्यालयबाट प्रहरी निरीक्षक बुद्धिराज चौलागाईं गाडी लिएर आएपछि मलाई गाडीमा राखे । केहीबेर उनले सञ्चार सेटबाट यस्तोउस्तो मान्छे समातिएको, अर्कोतिर घेरा हालिएको छ, सँगै लिएर आऊँ कि के गरूँ भनेर आदेश लिए । उताबाट के आदेश आयो थाहा भएन, मलाई डीबीको डेरा पूर्वपट्टि गाडीमा राखियो । हेर्दा ४०र५० जना प्रहरीले घेरा हालेको देखेँ । करिब २ घन्टा यताउता गरेर प्रहरीहरू कुदिरहे ।

सोही समयमा नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्का आई मलाई तपाईंको हैसियत, नाम के हो भनी प्रश्न गरे । सुरुमा त प्रहरी गुप्तचर होला भनी खास केही बताइनँ । म पत्रकार हुँ भनेपछि मैले पनि चिनजान गरेँ । प्रहरी दमन र ज्यादतीका बारेमा लेख्नुहोला भनेँ । यति बेला हामीलाई हेर्ने मानिसको घुइँचो लागेको थियो । प्रहरीहरू कहिले विवेकको डेरातिर त कहिले डीबीको डेरातिर कुदेजस्तो गर्थे । करिब ३ घन्टापछि डीबीको डेरा खानतलासी गरेर डीबीकी श्रीमतीको मोबाइलसमेत जफत गरी लिएर आएछन् । गाडीमा ल्याएर डीबी लाई राखेपछि हामीलाई हेर्नेको भीड करिब पाँचछ सय पुगिसकेको थियो । हाम्रो विषयमा कसैले पनि केही बोल्न सकेन । हामीलाई करिब ४ बजेतिर इटहरी प्रहरी कार्यालय ल्याइपुर्यायो । केही समयअगाडि सागर राई, पासाङ शेर्पालाई गिरफ्तार गरी ल्याएको रहेछ । सँगै अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला अध्यक्ष जनक निरौलालाई पनि फोन गरेर बोलाएकाले प्रहरी कार्यालयमा आएर बस्नुभएको रहेछ । सागर राईलाई मेरो फोन खोसेपछि फोन गरी गिरफ्तार गरेछ भने पासाङ शेर्पालाई ट्याक्टर धनीले मही किन्न पठाउँदा प्रहरिले गिरफ्तार गरेछ । राई र शेर्पा सामान्य नागरिक हुन ।

मलाई गिरफ्तार गर्दा त खासै केहीजस्तो लागेन किनकि म पञ्चायतकालमा धेरैपटक, जनयुद्धताका १८ महिना, कथित दोस्रो संविधानसभाको निर्वाचन बहिष्कार गर्दा पनि प्रहरीले गिरफ्तार गरी जेल र हिरासत बसिसकेको थिएँ । तर आज डीबीलाई गिरफ्तार गर्दा उनका ससाना २र४ वर्षका छोराहरू बाबा–बाबा भन्दै रोएको र उनकी श्रीमती रुँदा सङ्कटकालझैँ सम्झिएर साह्रै नरमाइलो लाग्यो । सम्झिएँ– शासकहरू जहिले पनि जनताको उन्नति र प्रगति चाहँदैनन् । दमनलाई नै प्रमुख साँचो वा कुञ्जीका रूपमा लिन्छन् । चित्त पनि बुझाएँ– दलाल शासकहरू हुँदा वा दलाल संसदीय व्यवस्था रहेसम्म अथवा जनताको वैज्ञानिक समाजवादी व्यवस्था स्थापना नभएसम्म यस्तै हो ।

हामीलाई प्रहरी कार्यालय पुर्याएपछि जाँच गरेर हिरासतमा हुलियो । हिरासत महिला र पुरुष गरी दुईवटा रहेछन् । महिला बन्दीहरूलाई तरहरा प्रहरी चौकीमा राखेपछि यहाँको दुवै हिरासतमा पुरुषलाई नै राखिएको रहेछ । भित्र पस्दा हातखुट्टा धुनुपर्ने, गीत गाउनु, नाच्नु, सरसफाइ गर्नुपर्ने साथै कुटाइ पनि सक्दो खानुपर्ने रहेछ । हामीलाई भने राजनीतिक मुद्दा भएकाले ती सबै विधि प्रयोग गरिएन, बरु कुरा गर्न नदिने भनेकाले ५ जनालाई ५ कुनामा राखियो । भित्र के बसेका मात्रै थियौँ मेडिकल लान बाहिर निकालेर हतकडी लगाइयो । मैले प्रतिवाद गरेँ तर पनि माथिको आदेश छ भनेर जबर्जस्ती लगाई इटहरीस्थित एपेक्स मेडिकल पुर्याइयो । अस्पतालमा डाक्टरले जाँडरक्सी कति खाएको छ भनी सोध्यो । मैले ‘हामी जँड्याहा हौँजस्तो लाग्यो ? हामी त दलाल, भ्रष्ट, चोर, डाँका, तस्कर, गुन्डा, फटाहा, जँड्याहालाई कारबाही गर्दै दलाल संसदीय व्यवस्थाको अन्त्य गरेर वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना सहित नेपाल र नेपालीको समृद्धि चाहने पार्टी नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता हौँ, चिनेर प्रश्न गरे राम्रो होला’ भन्ने सुझावसमेत दिएँ । परीक्षणपछि हिरासतमा ल्याएर राख्यो ।

हिरासतमा हामीलाई राखेको कोठामा ७८ जना र अर्को कोठामा १६ जना रहेछन् । उच्च गर्मीको समयमा हिरासतभित्र खचाखच, सुत्न त परै जाओस् बस्न पनि समस्या थियो । चर्पी गनाएर उग्र, लाम्खुट्टेले गीत गाउँछन्, उडुस मच्चीमच्ची थपडी मार्छन् भने उफ्रीउफ्री उपियाँ नाच्दा रहेछन् । बाहिरबाट एउटा पङ्खा लगाइदिएको रहेछ । त्यसैको छेउमा पुष्प सरलाई सुताउनूू भन्ने आदेश आयो । लागूपदार्थ खाएका भाइहरूका बीचमा सुत्नुपर्ने भएकाले झन् ठुलो समस्या आयो । रातभर निद्रा लागेन । हिरासतमा लागूपदार्थ प्रयोग गर्ने अत्यधिक सङ्ख्या, जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग, ठगीजस्ता मुद्दाहरूमा फसाइएकासमेत कैदीहरू थिए ।

बेलुका डीएसपी शिवकुमार श्रेष्ठले भेट नगरेपछि खाना खाइएन । भोलिपल्ट बिहान पनि खाना खाइएन । भेटघाट गर्न आएका नातागोता, आफन्त र मित्रहरूलाई फर्काइदिएछन् । क्रान्तिकारी माओवादीका केही साथीहरू र पत्रकारहरूलाई पनि फर्काइएछ । दुई दिन भैसक्यो, न भेटघाट गर्नै दिइन्छ, न त डीएसपीले भेटघाट गर्छन् । पक्राउ पुर्जी पनि छैन । बयान पनि लिएन । त्यसैले आज बेलुका पनि भात नखाने निर्णय गरियो । केही प्रहरीहरूले सर खाना चैँ खानुहोस् । कुराकानी भरेभोलि भैहाल्छ नि भनी सम्झाउन खोजे । त्यति भन्दा पनि हामीले नमानेपछि बेलुका १०ः३० तिर डीएसपीले भेट गरे । हामीले पक्राउ पुर्जीलगायत बिनाकारण किन गिरफ्तार गरियो ? राजनीतिक बन्दीलाई राजनीतिक व्यवहार किन गरिएन भनी प्रश्न गर्यौँ । डीएसपीले तपाईंहरू चन्दा उठाउने, बम पड्काउने मान्छे हो भनेर गिरफ्तार गरिएको हो । पक्राउ पुर्जी दिइहाल भनी आदेश गरे । हामीले प्रतिवाद गर्यौँ । झूूट्टा मुद्दा नलगाउनुहोस्, राजनीतिक बन्दीलाइ राजनीतिक व्यवहार गरियोस्, शान्तिपूर्ण तरिकाले जनताको न्यायका निम्ति आवाज उठाइरहँदा झूट्टा मुद्दा लगाएर फसाइन्छ भने यो राम्रो कार्य होइन । बरु यो आन्दोलन तपाईंहरूको पनि हितमा छ । त्यसो हुनाले समर्थन र सहयोग गर्दा राम्रो हुन्छ भनियो । त्यसपछि ठिकै छ, मानवीय व्यवहारको हिसाबले हामी हेरौँला । अरू सबै माथिको आदेशमा चल्ने भएकाले हामी केही गर्न सक्दैनौँ । फेरि हामिले पत्रपत्रिका चाहियो । हाम्रा नातागोता र आफन्तहरूलाई भेटघाट गर्न दिनुपर्यो, राजनीतिक विषयलाई तोडमोड नगर्नुस् भनियो । त्यसपछि हामीलाई दुईवटा कोठामा विभाजन गरी राखियो ।

बेलुका प्रहरीले डीबी र मलाई बम विस्फोटन तथा ज्यान मार्ने उद्योग र अरूलाई चन्दा असुलीको पुर्जी थमायो । भोलिपल्ट बिहानै सबैजनालाई चन्दा असुलीकै पुर्जी थमायो । दिउँसो अदालत लगियो । हामीले सरकारी वकिल गोकुल निरौला र सम्मानित जिल्ला न्यायाधीशसँग पनि कुरा राख्यौँ । ७ दिनको म्याद थपेर ल्याइयो ।

नेपालमा सबैभन्दा बढी प्रहरी दमन कोसी ब्युरो र त्यसमा पनि सुनसरी जिल्लामा गरियो । पार्टी केन्द्रीय सदस्य, कोसी ब्युरो इन्चार्ज तथा पूर्वसभासद् क. किरण राईसहित ८ जना धनकुटाको हिलेमा सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रमबाट २०७४ चैतमा गिरफ्तार गर्यो । सुनसरीमा नन्दु थापा, वीरता, सन्तोष, नवराज, निरज, सुरेश, सुरज, लक्ष्मण, मोहन, पुष्प कोइराला, डीबी सिलवाललगायत धेरैलाई गिरफ्तार गरी झट्टा मुद्दा लगायो । सङ्खुवासभा, धनकुटा र मोरङमा पनि केही कमरेडलाई गिरफ्तार गरियो । देशभरबाट पार्टी प्रवक्ता प्रकाण्ड, तत्कालीन पीबीएमहरू पदमबहादुर राई, ओम पुन, मोहन कार्की, उमा भुजेल, कृष्ण धमला (हाल राई, कार्की र धमला आन्दोलनबाटै पलायन भइसकेका छन्) लगायत केही केन्द्रीय सदस्य दीपेश राई, चन्द्र खड्का, देवनारायण शाह पनि गिरफ्तार भए ।

त्यस्तै उदयपुर जनपरिषद् प्रमुख जितबहादुर पुलामीलाई ३ महिनापछि छोडेर पुनः गिरफ्तार गरी इलाम लाने क्रममा अड्डासार गर्दै साउन २९ गते राती १२ बजे प्रहरीले ल्यायो र भोलिपल्टै इलाम लग्यो । भदौ २ गते राती १२ बजे असई कुमार दाहाल आएर मलाई बाहिर जानुपर्यो भनी बोलाए । मैले मध्यरातमा सङ्कटकालको झझल्को दिने गरी किन, कहाँ लान लागेको हो भनी प्रश्न गरेँ । उनले मलाई बिदा मागेर आउनुहोस् भने । झन् मैले प्रतिवाद गरेँ । उनले निस्कनुस्, अहिले थाहा भैहाल्छ भनी मुद्दा फाँटमा लिएर गए । त्यहाँ एकजना प्रहरी निरीक्षकले बोलाएको रहेछ । प्रहरी निरीक्षकले अब पनि पार्टी नछाड्ने हो सर ? नत्र तपाईंलाइ छाड्न मिल्दैन भने । मैले हाँस्दै जबाफ दिएँ– यो मध्यरातमा बोलाएको त पार्टी छाड् भन्नलाई पो हो ? तिमी कुन पार्टीमा छौ र म कुन पार्टीमा लाग्नुपर्ने हो ? म विचारमा प्रतिबद्ध भएर यो आन्दोलनमा लागेको व्यक्ति हुँ । म जति बाँच्छु, त्यतिन्जेल मलाई थुन्दा हुन्छ । तिमीहरू राष्ट्रसेवक कर्मचारी हौ । कुनै पार्टीको भजन नगाउँदा राम्रो हुन्छ । बरु सकिन्छ भने नेताले जित्ने होइन, जनता र देशले जित्ने आन्दोलनमा सहयोग पुर्याऊ । त्यसैमा तिमीहरूको पनि हित हुन्छ भनेर मैले आफ्ना कुरा राखेपछि लल, सरले पार्टी नछाड्नुहुने रहेछ लैजा भन्यो । त्यसपछि लिएर जानेले फेरि हिरासतमै पुर्यायो ।

चौथोपटक अदालतमा म्याद थपेपछि सरकारी वकिल कार्यालयमा मेरो बयान लिइयो । बयानमा पहिलो प्रश्न नै मानसिक सन्तुलन ठीक छ ? भन्ने हुँदो रहेछ । मानसिक असन्तुलन भएको मान्छेलाई त पागलखानामा उपचारमा पो लानुपर्छ । हामी त नेपाल र नेपाली जनताको परिवर्तन चाहने मुक्ति आन्दोलनमा लागेका, उन्नत विचार बोकेका क्रान्तिकारी योद्धा हौँ । त्यसैले यो प्रश्न हटाउनुस् । बयान प्रमाणविहीन बनाई मिलाउनुहोला भनी बयान गरियो ।

भदौ १३ गते जिल्ला अदालतमा पेस भयो । सरकारी वकिल गोकुल निरौलाले मूलतः यो राजनीतिक मुद्दा हो भन्ने निष्कर्ष र हाम्रा तर्फबाट वकिलहरू निराजन ओझा तथा सुमन कार्कीको बहस पनि प्रशंसनीय भएपछि २ नं जिल्ला न्यायाधीश धर्मराज पौडेलको इजलासले साधारण तारिखमा छोडेर मुद्दा किनारा लाउनू भन्ने आदेशपछि ५ जना नै रिहा भयौँ । तर फेरि सागर र डीबीलाई सङ्गठित अपराधको मुद्दामा सङ्खुवासभा र मलाई बम विस्फोटन तथा ज्यान मार्ने उद्योगको मुद्दामा गिरफ्तार गर्यो । दुईजनालाई बेलुकी नै लग्यो भने मलाई इटहरीमै राख्यो । साँझ फेरि मेडिकल लग्यो । १४ गते मलाई पुनः अदालत पेस गरियो । आज भने म आफैँले बहस गरेँ । आज पनि धर्मराज पौडेलको साधारण तारिखमा छोड्ने आदेशपछि मलाई पनि गिरफ्तार गरेर सङ्गठित अपराधको मुद्दामा बेलुकी १० बजे इटहरीदेखि हिँडाए ।

इटहरी हिरासतमा विभिन्न राजनीतिक पार्टीका नेता, कार्यकर्ता, पत्रकार, नागरिक समाज तथा मानवअधिकारवादी, उद्योगी–व्यापारी, वकिल, न्यायाधीश, बुद्धिजीवी, राष्ट्रसेवक प्रहरी कर्मचारी तथा नातागोता मित्रजनहरूमा भेटघाटका क्रममा बस्दा पार्टीले ल्याएको एकीकृत जनक्रान्तिको कार्यदिशाका बारेमा स्पष्ट पार्ने अवसर प्राप्त भयो । ओसोले लेखेको नारी र क्रान्ति भन्ने पुस्तक पनि अध्ययन गरियो । खपु सरकारको प्रहरी दमनको चौतर्फी विरोध भयो । म र सागर बिरामी भएकाले उपचारमा समाजसेवी हेमकर्ण पौडेलले आर्थिक–भौतिक सहयोग गरेर जीवनमा भुल्नै नमिल्ने गुन लाउनुभयो । मेरी माइली बहिनी तारा र ज्वाइँ अनिल कार्कीको पनि ठूलो सहयोग रह्यो ।

१५ गते धरानमा तीन घन्टा, भेडेटार हुँदै धनकुटा पुर्याई पुनः मेडिकल लगेर ल्याउँदा ४ बज्यो । बिहान ७ बजे विभिन्न प्रहरी चौकी हुँदै देउराली आएर खाना खाइयो । देउरालीदेखि चैनपुरसम्म बसमा, बेलुकी ६ बजे खाँदबारी जिल्ला प्रहरी कार्यलय आइपुगियो । चैनपुरमा मेरी पत्नी टीका, बहिनी अम्बिकालगायत आफन्तहरू कसैलाई भेट गर्न दिइएन । बेलुकी पनि फेरि मेडिकल लगेर ल्याएपछि मलाई एक्लै राख्ने कुरा भयो । हिरासत राम्रो ४ कोठाको रहेछ । एउटामा पूर्वमन्त्री तथा हाम्रो पार्टीका तत्कालीन पीबीएम पदम राई, अर्कोमा डीबी र सागर, अर्कोमा अन्य मुद्दाका मानिस र एउटा खाली रहेछ । त्यही खालीमा मलाई राख्न खोजेपछि विकाससहित मैले पनि प्रतिवाद गरेपछि डीबीहरूसँगै राखियो ।

१६, २६ भदौ र २ असोज गरेर म्याद थप गर्न चैनपुर अदालत ल्याइयो । प्रनानि विजय राईको जाहेरी सङ्गठित अपराधमा २५ जति, बम विस्फोट र ज्यानमार्ने उद्योग गरेर अरू दुई मुद्दा लगाइयो । हाम्रो बयान पनि नलिने, प्रहरी प्रमुखले पनि नभेट्ने र हामी यो जिल्लामा नभएको ४ वर्ष हुँदा पनि विभिन्न झूट्टा मुद्दा लगाउने गरेकाले हामीले हिरासतभित्रै आन्दोलन गर्ने भनेपछि बल्ल प्रहरी निरीक्षकसँग भेट भयो र विकासलगायत हामी सबैले जोडदार कुरा राखियो । पत्रकारहरूलाई समेत कुरा गरेपछि केही सहज भयो । सरकारी वकिल कैलाशनाथ दाहाल, निजी वकिलहरू भवानी आचार्य, चेतनाथ ढकाल, पर्शुराम रिजाल, उमेश शाक्य, जिल्ला न्यायाधीश प्रकाश राउत, श्रेस्तेदार राजन बास्तोलालगायत अदालतमा रहनुहुने सबै कर्मचारीसहित छलफल र कुराकानी सकारात्मक भयो ।

विकासलाई असार १६ गते पार्टी प्रवेश कार्यक्रम काठमाडौँमा गिरफ्तार गरी सर्वोच्चको आदेशमा रिहा गरिएलगत्तै २७ गते मोरङको विराटनगरमा गिरफ्तार गरेर ल्यायो । फेरि उच्च अदालतको साउन १४ को आदेशमा रिहाइलगत्तै गिरफ्तार गरेर सङ्खुवासभा ल्याएछ । केही दिनपछि जिल्ला अदालत चैनपुरले रिहा गरेलगत्तै दाङ लग्यो र सर्वोच्चको आदेशमा दसैँअगाडि रिहा गरियो । विकाससँगै हामीलाई पनि जोडेर मुद्दा दायर गरेकाले हामीलाई अलि छिटो भयो । हामी ३ वर्षदेखि बाहिर भएकाले हाम्राबारेमा खासै समस्या हुन्न, बरु यहाँ छिटो भए अर्को जिल्ला कुदाउला भनेर हामीले बन्दी प्रत्यक्षीकरणको मुद्दा हालेनौँ ।

सङ्खुवासभा बस्दा पार्टीले उठाएका जनताको जनतन्त्र, जनजीविका, राष्ट्रियताजस्ता विषयमा व्यापक छलफल र कुराकानीहरू भए । अरुण तेस्रो जलविद्युत् आयोजनाका बारेमा पनि स्पष्ट पार्ने काम गरियो । अरुण तीन मात्रै होइन, कम्युनिस्ट सरकार हो भने कोसी उच्च बाँध, अपरकर्णालीलगायत जल, जमिन, जडीबुटी साथै जनताका आधारभूत आवश्यकताहरू तुरुन्तै पूरा गरियोस् । जहाँसम्म अरुण तेस्रोको कुरा छ त्यो गम्भीर दीर्घकालीन महत्वको विषय हो । अहिलेसम्मका सरकारहरूले प्राकृतिक स्रोतसाधनहरूको उच्चतम दोहन गरेर सत्ता टिकाउने तथा आफू र आफ्नालाई मात्रै पुग्दो कुम्लो बनाउने गरेका उदाहरणको एक पछिल्लो नमुना अरूण तीन हो । अरुण तीन आयोजना विश्व बैङ्कले निकाल्न खोज्दा माधव नेपाल अर्थात् तत्कालीन एमालेले विरोध गरेका कारण आज भारतको सरकारी कम्पनी सतलुजलाई दिन रहेछ भन्ने प्रस्ट भयो । अरुण तीनको विरोध हामीले मात्रै होइन, प्रचण्ड, बाबुराम, बादल, वैद्यले समेत गरेका हुन । जलस्रोत विज्ञहरू डा. बलबहादुर पराजुली, डा. गोपाल शिवाकोटी ‘चिन्तन’ तथा धेरै नेताहरू जिल्लामा आएर ठूलाठूला विरोधसभाहरू भएको प्रमाण अहिले पनि ताजै छ । अरुण तीन बन्नुपर्छ, बनाउने कुरामा विवाद गर्नु हुँदैन तर नेपालले बनाउनुपर्छ । अरुण तीन र माथिल्लो कर्णाली विश्वकै सस्तो लगानीमा निर्माण हुने आयोजनाहरू हुन् । विश्व बैङ्कले पावर हाउस नेपालमा, सेयर पनि नेपालीलाई, अपुग हाल्ने, कामदार पनि नेपाली, बिजुली बाल्न पनि पहिले नेपाली तर आज सतलुजले सबै आफैँ गर्ने, यो हुन सक्दैन । नेपाललाई त छैन भने स्थानीय जनतालाई झन् के होला !

असोज ४ गते नभ्याएकाले ५ गते वकिलहरूको बहसपछि पहिलेको चलन धरौटी जनही बीस हजार गर्ने मिलाएर विकास, डीबी र मलाई जनही दस हजार र सागर, लेखबहादुर राउतलाई साधारण तारिखमा छोड्ने आदेश भएलगत्तै विकासलाई दाङ तथा डीबी र मलाई पुनः जिल्लामै राख्ने गरी प्रहरीले गिरफ्तार गर्यो । ६ गते बिहानै विकासलाई दाङ लगियो भने मोहन कार्की र कृष्ण धमलालाई दाङबाट ल्यायो । प्रवक्ता प्रकाण्ड गिरफ्तारीमा परेसँगै पार्टीका महत्वपूर्ण डायरी र सर्कुलर भेटेर प्रहरीले भएनभएको नाम मुद्दामा समावेश गर्यो । ७ गते पीबीएमहरूसहित अदालत ल्यायो । हाम्रो बहसमा समय नपुगेर ८ गते पुनः पेस गरियो । न्यायाधीश नभएकाले स्रेस्तेदार राजन बास्तोलाले जनही ४००० का दरले मेरो दुई, डीबीको दुई र डिल्ली राईको एक गरी ५ मुद्दा को २०,००० धरौटीमा रिहाइको आदेशपछि पनि फेरि गिरफ्तार गरेर हातहतियार तथा खरखजाना मुद्दा मलाई ४, डिल्लीलाई ३ र डीबीलाई २ जिल्ला प्रशासनमा हाल्यो । ९ गते जिल्ला प्रशासन कार्यालय लगियो र बयान धेरै भएकाले आज सकिएन । सीडीओ गणेशबहादुर अधिकारीले खासै सहयोग गरेनन् । सहायक सीडीओ मोहनमणि घिमिरे चीन गएका रहेछन् । मुद्दामा तारिणी घिमिरे भए पनि सीडीओको आदेश पालन गर्नुपर्ने कर्मचारीको बाध्यता देखियो । १० गते पनि अबेर नै गरियो । सीडीओले बोल्ने अवसरसम्म नदिई डिल्ली राईलाई ४१,००० धरौटीमा छोड्ने र हामी दुईलाई पुर्पक्षमा कारागार पठाउने आदेश गरे । साँझ परेको थियो त्यो बेला डीएसपी स्याम सारूमगरसहित सीडीओलाई देखेपछि मैले सीधै पूर्वाग्राही भएर यसप्रकारको आदेश त दिइयो । यो गलत गर्नुभयो । यसको मूल्य महँगो हुनेछ भनेर प्रतिरोध गरेँ । सरी, मैले सकिनँ । माथिको आदेश छ । जागिरको सवाल छ भनेर कुरा गरे । ०५८ सालमा सीडीओ नेत्र शर्माले चौदण्डी मच्चाएपछि दार्चुलामा पार्टीले राम्रो भौतिक कारबाही गर्यो । त्यस्तै नहोस् । बरु सक्दो सहयोग गर्दा राम्रो हुने थियो भनेर कुरा राखियो । रात परेकाले आज पनि हिरासतमै राखियो ।

हिरासतमा रहँदा दिव्य बराल, क्षितिज बराल, अमर बिस्ट, बबिता कटुवाल, देवराज पुरी, कृष्ण तोलाङी, टेकमान राई, डम्बर बाह्रकोटी, भेशषराज नेउपाने, सीता राई, धेरै प्रहरीहरू, पत्रकारहरू तथा चैनपुर अदालत आउँदा त प्रत्येकपटक श्रीमती टीका, बहिनी अम्बिका, कमला र गोपाल पौडेल, लाखमान तामाङ, कुमार खत्री, सूर्य र चन्द्र खत्री, भरत खड्का, कृष्ण कार्की, केदार पौडेल, बेन राई, रवीन्द्र नेयोङ, देवेन्द्र, ओम, सिर्जना राउत लालबहादुर खत्री, गणेश श्रेष्ठ, दुर्गा र घनश्याम डाँगी ,राम, विष्णु, गोकुल, ओमनाथ खनाल, कुमार अधिकारी, राजेन्द्र राउतलगायत धेरैधेरै महानुभावहरूको आर्थिक, नैतिक, भौतिक सहयोग रह्यो भने पूर्वएमाले, माओवादी केन्द्र र नेकाका विभिन्न नेताहरूको समेत सहयोग प्राप्त भयो ।

हिरासतमा केही पुस्तकहरू हेरियो । गणेशराज शर्माले सङ्कलन गरी लेखेको बीपीको आत्मवृत्तान्त हेर्दा नेपाली काङ्ग्रेसले समाजवाद स्थापनाका नाउँमा हतियार केकसरी प्रयोग गर्यो र क्रान्तिकारी आन्दोलनमा कसरी हातहतियार प्रयोग गर्ने भन्ने विषयमा प्रस्ट पारिएको रहेछ । नेपालको इतिहास, जङ्गबहादुर, हिरण्यगर्वकुमारी आदि अध्ययन गर्ने अवसर मिल्यो । जिल्ला प्रशासन कर्यालयमा दर्ता गरिएको हातहतियारसम्बन्धी मुद्दा याफुको केदार राई भन्ने व्यक्तिलाई प्रहरीले गत वैशाखमा गिरफ्तार गरेपछि असोज महिनामा आएर मात्रै दर्ता गर्नुले स्वतः राजनीतिक पूर्वाग्रह देखिन्छ । एकातिर ती व्यक्तिलाई हामीले नचिनेको । अर्कोतिर ३–४ वर्षदेखि हामी सुनसरीतिर पार्टी र जनताको काममा बस्थ्यौँ ।

११ गते बिहान १० बजे कारागार लगियो । खाना खाइसकेकाले गर्दा चाउचाउ खानुपर्ने भयो । भित्र जानुअघि बाहिरै एक चेकिङ, त्यसपछि भित्र अर्को चेकिङ अनि भित्र अझै अरू विविध नियम रहेछन् तर हामीलाई जनवादी गीत गाउन र थपडी मार्न लगाइयो । कारागार प्रमुख विनोद अधिकारीसँग पुरानै चिनजान थियो । कारागार सुरक्षा प्रमुख सई काल्मान राई, चौकीदार दावा शेर्पा, नाइके धनबहादुर राई, शान्तिराम कोइरालालगायत धेरैसँग पुरानै चिनजान भएकाले सहज नै भयो ।

सीडीओको बेरीतको आदेशविरुद्ध अदालतमा मुद्दा दर्ता गर्नका लागि कागजात प्रमाणित सीडीओले नै गर्नुपर्ने भएकाले आधा दिन आलटाल गरेर बिताइदिए । बल्लतल्ल मुद्दा दर्ता गरियो । १६ गते तीन दिनभित्र जबाफ पेस गर्न जिल्ला प्रशासनलाई पत्र पठायो । पाँच दिनभित्र पनि कागजात अदालतमा पेस नगरेकाले फेरि २४ घन्टे आदेश जारी भयो । दसैँको अघिल्लो दिन २३ गते अपराह्न ३ बजे पेस गरेकाले मुद्दाको चापका कारण र ढिला पेस गरेको हुँदा हाम्राबारेमा सुनुवाइ हुन सकेन । गत १६ गते नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सगरमाथा ब्युरो इन्चार्ज दीपेश राईलाई उदयपुरदेखि यो जिल्लामा ल्याएछ । २३ गते नै दीपेश पनि दस हजार धरौटीमा जिल्ला अदालत चैनपुरबाट रिहा हुनुभयो ।

२४ गते क. दीपेश हामीलाई भेट्न आउनुभयो । विभिन्न विषयमा कुराकानी भए । दसैँ लागिहाल्यो । श्रीमती टीका, बहिनी अम्बिका, कमला र गोपाल पौडेल, मानबहादुर खत्री, डम्बरकुमारी बुढाथोकी, दीपेश, सुनिता बुडाथोकि, शोभा न्यौपाने, उपेन्द्र घिमिरे, सीता राई, दिव्य बराल, देवराज पुरी, जमुना राई, पार्वती बिष्ट, गङ्गा र सुरेन्द्र बिष्ट, पूर्वमन्त्री पदम राईलगायत भेटघाट गर्न धेरै नातागोताहरूले खानेकुरा तथा विविध सामग्रीसहित आउनुभयो । कारागारभित्र जबर्जस्ती करणी, ठगी, ज्यान मार्ने उद्योगजस्ता मुद्दाहरू लगाइएका ९८ जना कैदी रहेछन् । अधिकांश व्यक्तिहरू निर्दोष हुँदाहुँदै पनि फसाइएको रहेछ भने कतिपय दोषी हुँदाहुँदै पनि केही पार्टीका नेताहरू, प्रहरी, वकिलसमेत मिलेर पैसा खाएर छाडिएको पाइयो । दसैँपछि कात्तिक ११ गते पेसी तोकिएको थियो तर अदालत आएपछि जिल्लामा मन्त्री आकस्मिक आएको भन्दै न्यायाधीश नभएकाले १२ गतेलाई तोकियो । १२ गते जिल्ला न्यायाधीश प्रकाश राउतको इजलासले साधारण तारिखमा छाड्ने आदेश भयो । आज पनि हाम्रो रिहाइलाई साथ दिन बुबा, छोराछोरी, श्रीमती, बहिनीलगायत धेरै इष्टमित्रहरू आउनुभएको थियो । जिल्ला प्रशासन कार्यालयबाट रिहा गर्ने भएकाले ओठतालु सुकेर सबै फर्किए । बेलुका हामीलाई कारागारमै राखियो । १३ गते ११ बजे जिल्ला प्रशासन कार्यालय त पुगियो तर सीडीओ बैठकमा भएकाले सहायक सीडीओ मोहनमणि घिमिरेसँग कुराकानीका क्रममा माथिको आदेश र केही गलत सूचनाको दबाबका कारण तपाईंहरूलाई थुनामुक्त गर्न सकिएन । अब ढिलो नै भए पनि अदालतले न्याय दिएकाले हामी खुसी छौँ भन्ने कुरा आयो । दिनभरिको बसाइपछि अपराह्न ४ः३० बजेतिर थुनामुक्त आदेशको पत्र बन्यो । पत्र लिई करागार प्रमुखकहाँ पुगियो । प्रमुखसहित सबै प्रहरी र कैदीहरू खुसी भए र खुसी साटासाट भयो । अन्ततः दलालहरू परास्त भए । हामी भने अझ उत्साहित भएर जनताको मुक्ति आन्दोलनका निम्ति सशक्त भएर लाग्ने प्रतिबद्धतासहित सबैलाई धन्यवाद दिएर त्यहाँबाट कमरेडहरू प्रदीप श्रेष्ठ र देवराज पुरीका साथ आआफ्नो गन्तव्यतिर लाग्यौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :