प्रगतिवादी साहित्य लोकप्रियकरणको प्रश्न

अनिल शर्मा (विरही) नेकपा पोलिट ब्युरो सदस्य तथा प्रकाशन विभाग इन्चार्ज

कम्युनिस्ट पार्टीको स्थापनादेखि नै नेपालमा प्रगतिवादी साहित्यकला तथा संस्कृतिको जग बसेको हो । जसरी समाजमा वर्गमा विभाजित छ, त्यसैगरी कला र साहित्यको पनि आ–आफ्ना धाराहरू समाजमा रहेका हुन्छन् । तिनका बीचमा टक्कर चलिरहेको हुन्छ । शोषकवर्ग र शासकवर्गका सपना, आवश्यकता, रुचि, चाहना, प्राथमिकता, चेतना र छनोट फरक–फरक हुन्छन् । अर्कोतिर शोषकवर्गको संस्कृति नै सत्तारुढ संस्कृति हुने भएको हुनाले जनताले आफ्नो हित र आवश्यकताको विरुद्ध भए पनि शोषकवर्गको संस्कृतिलाई ग्रहण गरिरहेको हुन्छ । संस्कृतिको मामिला निकै जटिल र वक्ररेखामा हिंड्ने मानवीय चेतनपक्ष हो । एकातिर शोषकवर्गको संस्कृतिविरुद्ध युगौँदेखि जनताले आफ्नो परिस्थितिअनुसार प्रतिरोध गरिरहेको छ भने अर्कोतिर त्यसलाई ग्रहण पनि गरिरहेको हृन्छ । जस्तो कि आफ्नै हितविरुद्ध रहेको धर्मलाई उसले ग्रहण गरिरहेको हुन्छ । अर्कोतिर त्यसको विरुद्ध प्रतिरोधी संस्कृतिको सिर्जना पनि गरिरहेको हुन्छ । ‘गरिबलाई नगर हेला, छेउको सियो माझैमा कोही बेला’ यसप्रकारका लोकगीतहरू समाजमा यत्रतत्र छरिएर रहेका छन् । आजको प्रगतिवादी साहित्य त्यसैको उत्तरदानका रूपमा रहेको छ । अब प्रश्न उठ्छ जनताको वा जनताको पक्षधर कला–साहित्य तथा संस्कृति लोकप्रिय छ कि छैन ? त्यसको मापन केहो ? लोकप्रियकरणको प्रक्रिया के हो ?

आलेखको सुरुमै भनिएको छ– सत्तारुढवर्गको संस्कृति नै समाजको सत्तारुढ संस्कृति हुन्छ । शोषकवर्ग सत्तारुढ भएको समाजमा सर्वहारावर्गको संस्कृति सत्तारुढ र मुख्य धाराका रूपमा खोज्ने चिन्तन नै अवस्तुवादी चिन्तन हो । सर्वहारावर्गको वैचारिक सत्ता जति बलियो बन्दछ अथवा सत्तारुढ हुन्छ, त्यत्तिकै स्तरमा शोसकवर्गको भौतिक सत्ता पनि उखेलिन थाल्दछ । अर्कोतिर सर्वहारावर्गको सत्तासँगै उसको संस्कृति पनि सत्तारुढ बन्दै जान्छ । यद्यपि शोषकवर्गको भौतिक सत्ता ढलेपछि पनि निजी मालिकत्वको उत्पादन सम्बन्ध र त्यसबाट पैदा भएको चेतना समाजमा रहेसम्म शोषकवर्गको संस्कृतिको अस्तित्व रहिरहन्छ । जसरी पुँजीवादी उत्पादन प्रणाली सामूहिक बन्दै गएको र वितरण निजी बन्दै गएको छ, त्यसरी नै उत्पादन प्रणाली र वितरण प्रणालीका बीचमा अन्तर्विरोध बढ्दै गएको छ । त्यसैकारणले गर्दा न्यायपूर्ण वितरण प्रणालीको आवश्यकताबोध हुँदै गएको छ ।

प्रगतिवादी क्षेत्रबाट जे–जति सिर्जना भएका छन्, ती सिर्जनाहरू सचेत राजनीतिक वृत्तमा चर्चित, स्थापित वा लोकप्रिय छन् तर जनताको तल्लो तहमा वा आम जनमनमा लोकप्रिय देखिन्न । त्यसको कारण के हो ? आफ्नो पक्षधर कला–साहित्य ग्रहण नगर्ने जनता दोषी हुन् कि त्यो पस्कने हामी प्रगतिवादी सर्जक कलाकार दोषी हौँ ? यो निकै पेचिलो प्रश्न हो । यो प्रश्नलाई विभिन्न कोणबाट हेर्नुपर्दछ ।

पहिलो, संस्कृति स्वतः नभएर आवश्यकतालाई सचेततापूर्वक समाधान गर्दा सिर्जना हुने वस्तु हो । यससँग आर्थिक, कानुनी, प्रशासनिक, राजनीतिक थुप्रै पक्षहरूको भूमिका रहेको हुन्छ । त्यसैले त सत्तारुढवर्गको चेतना नै समकालीन समाजको सत्तारुढ चेतना बन्न जान्छ । सत्तारुढवर्गद्वारा घोषित अघोषित आक्रमण अथवा अर्घेल्याइँमा परेको साहित्यकला लोकप्रिय हुन गा¥हो हुन्छ । असचेत मान्छेका भावना, रुचि, इच्छा, आदतसमेतलाई प्रविधि र मनोवैज्ञानिक उपचारद्वारा आफ्नो अनुकूल ढाल्न सकिन्छ । पुँजीवादले बजारअनुकूलको चेतना निर्माण गरिरहेको छ ।

दोस्रो, चेतनाको गहिराइले संवेदनाको गहिराइ निर्धारण गर्दछ । आफ्नै अगाडि अर्को प्राणी काट्दा कुनै पशु आनन्दले उग्राएर बस्न सक्छ तर अर्को मान्छेमाथिको अत्याचार देखेर या पुर्खामाथिको अत्याचार बुझेर मान्छे भने मर्न मार्न तयार हुन्छ । पशु र मान्छेका बीचमा चेतनाको ठूलो खाडल भएकोले नै संवेदनामा यस्तो फरक देखिएको हो । हजारौँ वर्षदेखिको अभाव र शोषणले गर्दा प्रगतिवादी फाँटमा रहेका सर्जकहरूको चेतनाको स्तर कमजोर छ । कमजोर चेतना स्तरका कारण संवेदन पक्ष पनि कमजोर छ । भौतिक साधनबाट पृथह रहेर उच्च चेतना निर्माण सम्भव छैन । मस्तिष्कको विकास आफैँमा लामो पौष्टिक खानपान उच्च प्रविधिसँगको संसर्ग तथा परिवेशबाट सम्भव हुन्छ । यो क्षेत्रमा जेजति कामहरू भएका छन्, त्यसमा सर्वहारावर्गभन्दा मध्यमवर्ग तथा निम्न पुँजीपतिवर्गबाट आएको जनशक्तिबाट भएको छ । सर्वहारावर्ग सत्तारुढ भएर एउटा युगको नेतृत्व नगरेसम्म सामन्ती तथा पुँजीवादी धाराकै स्तरमा कालजयी र लोकप्रिय सिर्जना हुन सम्भव छैन । यसले आफ्नो विकास र परिपक्वताका लागि निश्चित प्रक्रियाबाट गुज्रनैपर्दछ । जसरी सामन्ती कला–साहित्य रातारात निर्माण भएको होइन, त्यसरी नै प्रगतिवादी कला–साहित्य पनि रातारात मूलधारमा आउन सक्दैन ।

तेस्रो, प्रगतिवादी कला–साहित्यमा अन्तर्वस्तुमा अतिशय जोड दिंदा त्यसको रूप पक्षमा ध्यान पुग्न सकेको छैन । अन्तर्वस्तु र रूपको उचित संयोजन नगरी प्रगतिवादी कला–साहित्य नै बन्दैन । प्रगतिवादी साहित्य कला र पुँजीवादी कला–साहित्यका आवश्यकता र प्राथमिकता फरक–फरक छन् । सर्वहारा वर्गसङ्घर्ष, प्रतिरोध र युद्धमा छ । आवेग, उद्वेलन, आक्रोश, प्रतिरोध, विद्रोह प्रगतिवादी कला–साहित्यको प्राथमिकता हो । त्यस्तो अवस्थामा यसलाई स्थिर वा कालजयीभन्दा तत्कालको बहुजनको आवश्यकता पूरा गर्ने साहित्य चाहिएको छ । विचार र व्यवहारमा पुँजीवादी कित्तामा रहेका कम्युनिस्ट नामधारी अमूक व्यक्तिहरूले प्रतिध्रुवीय धारामै लहसिएको गुनासो गर्नु आफैँमा वैचारिक समस्या बन्न जान्छ ।

चौथो, निजत्व मानवीय पक्ष हो । त्यसलाई निषेध गर्न सकिन्न । सामूहिकता हरेक प्राणीमा रहन्छ । त्यसैले त जङ्गली जनावर पनि बथानमा बस्छन् । निजत्व र सामूहिकता दुबै मानवीय पक्ष हुन् । कला–साहित्यमा यी दुबै पक्षहरूलाई उचित सम्बोधन गर्नुको सट्टा निजत्वलाई निषेध गर्ने रोग छ । जहाँ पाठकले आफ्ना निजी सरोकारका विषय देख्दैन, त्यसप्रति उसको रुचि हुँदैन । निजत्वलाई सामूहिकताको विरुद्ध ठान्ने समस्या छ ।

पाँचौँ, प्रगतिवादी कला–साहित्य आफ्नो उपादेयता पुष्टि गर्न वा स्तरीयता कायम गर्नमा पछाडि नै छ । मान्छेले किन कला–साहित्य माग गर्दछ त ? माओ त्से तुङ भन्नुहुन्छ, “साहित्य कलाको एक मात्र स्रोत मानिसको सामाजिक जीवन भए तापनि र यसको विषयवस्तु साहित्य कलाभन्दा अतुलनीय रूपले बढी सजीव र समृद्ध भएता पनि मानिसहरू जीवनबाट मात्रै सन्तुष्ट हुँदैनन् र तिनले साहित्य र कलाको पनि माग गर्दछ । यस्तो किन हुन्छ त ? किनभने जीवन र कला दुबै सुन्दर हुन्छन् तापनि साहित्य र कलाका कृतिहरूमा प्रतिबिम्बित मानव–जीवन वास्तविक दैनिक जीवनभन्दा बढी उच्चस्तरीय, बढी तीव्र, बढी केन्द्रीकृत, बढी विशिष्टतापूर्ण आदर्शको बढी नजिक र धेरै बढी व्यापक हुन्छ ।” त्यसप्रकारको स्तरीय सामग्रीको अभाव पनि लोकप्रिय नहुनुको कारण हो ।

पुँजीपतिवर्गसँग प्रतिस्पर्धा गर्न सक्ने सर्जक र सिर्जनाले हुँदै नभएको होइन कि तिनले हुर्कने फैलने अवसर पाएका छैनन् । छैटौँ, वर्गसङ्घर्ष आदर्शपूर्ण र विजयतिर भएको समयमा प्रगतिवादी कला–साहित्य पनि मौलाएको देखिन्छ । चौथो महाधिवेशनको धारा, झापाली विद्रोहको धारा र जनयुद्धको धाराले कला–साहित्यको गुण र मात्रा दुबैमा प्रगति गरेको देखिन्छ । यी धारामा आएको विचलनसँगै प्रगतिवादी कला–साहित्यको लोप्रियता पनि खस्केको छ । विश्व कम्युनिस्ट आन्दोलनमा माक्र्सवादी साहित्यको लोकप्रियताको प्रश्नमा पनि त्यो विषय त्यत्तिकै सत्य हो । जनताको आन्दोलन कमजोर हुँदै जाँदा, जनताको पक्षधर कला–साहित्य लोकप्रिय हुँदै जान सम्भव हुँदैन । यो कुरा लोकप्रियकरणको वस्तुगत नियमको विपक्षमा हुन जान्छ ।

स्तरीय रचनाहरू नै लोकप्रिय हुन्छन् । लोकप्रिय रचनाहरू स्तरीय पनि हुन्छन् । यद्यपि यिनका बीचमा भिन्नता पनि छ । कतिपय स्तरीय सिर्जना लोकप्रिय नहुन सक्छन् । नजरले स्तरीयताको मापन गर्न सक्दैन । माओ त्से तुङ भन्नुहुन्छ, “लोकप्रिय बढी सरल र सुबोध हुन्छन् । त्यसैले आज व्यापक जनसमूहले तिनलाई बढी सजिलोसित स्वीकार गर्छन् । उच्चस्तरका रचनाहरू बढी परिस्कृत हुने हुनाले रच्न पनि बढी गा¥हो हुन्छ र सामान्य रूपले त्यस्ता रचनाहरू जनसमूहका माझमा सजिलै र छिट्टै फिजिन सक्दैनन् ।” जनताका आवश्यकताअनुसार रचना गर्दै जाँदा तिनीहरू लोकप्रिय हुन्छन् । लोकप्रियताले स्तरीय वा कालजयी सिर्जनाको आधार निर्माण गर्छन् । आज भालेको डाँको फेरि अपेक्षित छ ।

सर्जकले विद्रोहको आँधी हाँक्न आवश्यक छ । मदन भण्डारीले राजनीतिमा ख्रुस्चेब मन पराउन थालेपछि नै रायन–रामेशभन्दा पुँजीवादी धाराका कवि–कलाकार मन पराउन थालेको यथार्थ बिर्सनुहुँदैन । त्यो कुरा जनताको हकमा पनि त्यत्तिकै सत्य हुन्छ । जनताले जति मात्रामा क्रान्तिकारी राजनीति अवलम्बन गर्दछन्, त्यत्ति नै प्रगतिवादी कला–साहित्य पनि मन पराउँदै जानेछन् । वैचारिक रूपमा सङ्गठित नभएको व्यक्ति पार्टीगत रूपले सङ्गठित हुँदैमा रूपान्तरित हुँदैन । तसर्थ, प्रगतिवादी साहित्य कलाको लोकप्रियताको प्रश्नलाई वर्गसङ्घर्षको सापेक्षतामा हेर्नुपर्दछ ।
स्रोत : प्रकाशोन्मुख कृति समकालीन साहित्य र संस्कृति

२०७४ भदौ १६ गते ६ : ५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :