राष्ट्रघातमा कीर्तिमान

शेरबहादुर देउवाले नेपालको प्रधानमन्त्रीको हैसियतमा भारतको भ्रमण गरेका छन् । ५ दिने भारत भ्रमणका क्रममा उनले कोसी उच्चबाँध, अपरकर्णालीलगायत नेपालको राष्ट्रियता विरुद्ध गम्भीर राष्ट्रघात गरेर राष्ट्रघातमा कीर्तिमान कायम गरेका छन् । राष्ट्रियताविरुद्धको उनको यो कदम अत्यन्त निन्दनीय र भत्र्सनायोग्य छ । संसदीय व्यवस्थामै पनि देउवा बदनाम पात्र हुन् । यस व्यवस्थामा मात्र नभएर देउवा सीमित लोकतन्त्र, राष्ट्रियता, जनतन्त्र र जनजीविका तीनै क्षेत्रमा अत्यन्त बदनाम र असफल पात्र हुन् । जनयुद्धको समयमा नेकपा माओवादीका नेता र कार्यकर्ताको टाउकाको मूल्य तोकेर झोलाभरि टाउको ल्याएर झोलाभरि पैसा लैजान उर्दी जारी गर्ने देउवा सीमित लोकतन्त्र शाहीसत्ताका कुख्यात पात्र ज्ञानेन्द्रको पाउमा बुझाउने व्यक्ति पनि हुन् । राष्ट्रघाती महाकाली सन्धि गराउने देउवाले नेपाली जनता र देशको हितमा भन्दा आफ्नो पद, प्रतिष्ठा र सम्पत्तिका लागि जुनसुकै हर्कत गर्न पनि बाँकी राखेका छैनन् । मित्रराष्ट्र चीन र दक्षिणी छिमेकी भारतबीच चीनको दोक्लाम भूमिका विषयमा विवाद बढिरहेको समयमा भारत गएका देउवाले भारतको पक्ष लिएर चीनलाई चिढ्याउने, संविधान संशोधनको विषयमा मोदीसँग गुहार माग्ने र नेपाललाई सधैँ भारतीय साम्राज्यवादको सुरक्षा र छत्रछायाँमा राख्ने षड्यन्त्र गरेकाले सबै देशभक्त, क्रान्तिकारी र मुक्तिप्रेमी नेपालीले खुलेर यस हर्कतको सामना गर्नुपर्ने आवश्यकता छ ।

देउवा नेपालको संसदीय राजनीतिमा एउटा क्षेत्र र गुटको राजनीति गर्दै उदाएका हुन् । अमेरिकी उत्तरसाम्राज्यवादका विश्वासपात्र मानिने देउवा यतिबेला भारतीय साम्राज्यवादको पनि असली विश्वासपात्र बन्ने होडमा छन् । यसमा उनका सत्ता साझेदार पुष्पकमल दाहालहरुले उनलाई न्वारानदेखिको बल लगाएर साथ दिइरहेका छन् । दाहाल र देउवा गठबन्धन जनतन्त्र र जनजीविकाका सवालमा मात्र नभएर राष्ट्रियताका सवालमा पनि खतरनाक साबित भएको छ । आफू प्रधानमन्त्री भएको समयमा दाहालले भारतसँग २५ बुँदे सहमति गरेर भारतीय छातामा नेपालको विदेशनीति हुने खतरनाक खेल खेलेका थिए । देउवाले त्यसलाई अझ समृद्ध बनाएर नेपाली शासकहरु जनभावना र राष्ट्रहितविरुद्ध सधैँ षड्यन्त्र मात्र गरिरहन्छन् भन्ने प्रमाणित गरेका छन् ।

दसौँ हजार सहिदको रगतमा जन्मिएको जनयुद्ध र जनसत्ता सत्तास्वार्थमा दुस्मनलाई बुझाउने दाहाल र सत्ताकै लागि तथाकथित प्रजातन्त्र ज्ञानेन्द्र शाहको पाउमा सुम्पिने देउवा दलाल संसदीय व्यवस्थाका एक सिक्काका दुई पाटा हुन् । त्यसैले यतिबेला देउवाले गरेका भारतको भ्रमण देउवा, काङ्ग्रेस वा सरकारको मात्र नभएर दाहालको स्वार्थसँग पनि गाँसिएको विषय हो । अर्को संसद्वादी शक्ति एमालेले अघि सारेको खोक्रो राष्ट्रवादका विरुद्ध दाहाल समूह र देउवा समूह अर्थात् काङ्ग्रेस र माकेको गठबन्धनले नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविकामाथि गम्भीर प्रश्नचिह्न लागिरहेको समयमा देउवाको भारतभ्रमण अत्यन्त खतरनाक साबित भएको छ ।

नेपाली शासकहरुले भारतसँग नेपाली राष्ट्रियताविरुद्ध गम्भीर र खतरनाक सन्धि र सम्झौता गर्दै आएको नकारात्मक इतिहास छ । सत्तामा पुग्न पनि भारतीय शासहरुहको सहारा लिने, पुगिसकेपछि उसलाई रिझाउन र टिकिरहन सधैँ नेपाल र नेपालीको स्वार्थविरुद्ध हर्कत गरिरहने शासकहरुको खराब परिपाटीका कारण जनताले शासकहरुलाई कहिल्यै हृदयदेखि विश्वास गर्न सकेनन् र सक्ने अवस्था पनि रहेन । सुगौली सन्धिबाट आरम्भ भएको गम्भीर राष्ट्रघातको शृङ्खलामा मोहनशमशेर राणाले राणाशासन ढलिसकेको भनिएपछि पनि कुख्यात दिल्ली सम्झौतापछि नेपालको हितविरुद्ध सन् १९५० को राष्ट्रघाती सन्धि गरिदिएको नकारात्मक इतिहास हाम्रासामु छ ।

मातृकाप्रसाद कोइरालाले कोसी र बीपी कोइरालाले गण्डक सम्झौता गरेर नेपाली राष्ट्रियता, भूगोल र प्राकृतिक सम्पदामाथि पनि गम्भीर घात गरे । त्यसैको नकारात्मक विरासत बोक्दै गिरिजाप्रसाद कोइरालाले टनकपुर सन्धि गरेर नेपाली भूमि भारतलाई सुम्पिए भने कृष्णप्रसाद भट्टराई साझा नदीको अवधारणा पारित गराएर र केपी ओली–माधव नेपालहरुले महाकाली सन्धि पारित गर्न देउवाहरुलाई सघाएर नेपालको राष्ट्रियतामाथि गम्भीर खेलबाड गरेको इतिहास पनि हाम्रासामु छर्लंगै छ । त्यही नकारात्मक सन्धिसम्झौता र भारतीय साम्राज्यवादको विस्तारवादी चरित्रका कारण भारतले नेपालका सीमाहरुमा अन्तर्राष्ट्रिय कानुनविपरीत बाँध, नदी र सडकहरु बनाएर नेपाली भूभाग डुबानमा पार्दै आएको छ । कोसी र गण्डकमा भएका राष्ट्रघाती सन्धिकै कारण बर्सेनि लाखौँ नेपालीको जमिन र घरबास मात्र डुब्ने गरेको छैन, कयौँको ज्यानसमेत जाने गरेको छ । यसपालि पनि भीषण बाढीमा परी सयौँ नेपालीको ज्यान गयो भने तराईका कयौँ जिल्लाका बस्तीहरु डुबानमा परे । देउवा सरकार र भारतीय मतियार पार्टीहरुले भारतसँग भएका असमान सन्धिसम्झौताकै कारण नेपाली भूभाग डुबानमा परेको तथ्य भारतसामुख राख्न र कोसी ब्यारेजका ढोकाहरु खोल्न भारतलाई निर्देशन दिन सकेनन् । उल्टै जनस्तरबाट नेकपालाई बम विस्फोट गराएर बाँधहरु भत्काइदिन आह्वान गरियो ।

सारतः देउवाको भारत भ्रमण नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विरुद्ध भएको र विशेषगरी भारतीय साम्राज्यवादको स्वार्थ र नेपाली हितविपरीत रहेकाले देशभक्त नेपालीहरुले देशभर विरोध प्रदर्शन जारी राखेका छन् । विगतका कमीकमजोरी र गल्तीहरु सच्याउँदै देउवाले नेपाल र नेपालीको हितमा काम गरुन् भन्ने नेपाली जनताको अपेक्षालाई लत्याउँदै उनले राष्ट्रघातको शृङ्खला उत्कर्षमा पु¥याएका छन् । देउवा–दाहाल गठबन्धन सत्ता लेन्डुपपथमा भ्रष्टीकरण भएकाले देउवाले दिल्लीमा गरेका राष्ट्रघाती सहमतिहरु उल्ट्याउन र नेपाली राष्ट्रियताको रक्षा गर्न सङ्घर्षमा उत्रिनुको विकल्प छैन ।

२०७४ भदौ १५ गते २१ : १३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :