एमसीसीविरोधी सङ्घर्ष निर्णायक मोडमा

आज नेकपासहित ६ दल र २ मोर्चाले संसद् भवन घेर्दै

एमसीसीविरोधी सङ्घर्ष निर्णायक मोडमा

काठमाडौँ : एमसीसीविरुद्ध सञ्चालित आन्दोलन निर्णायक मोडतिर अघि बढेको छ । नेकपासहित क्रान्तिकारी कम्युनिस्ट पार्टी र देशभक्त शक्ति एकातिर र राष्ट्रविरोधी तत्वहरु अर्कातिर आमनेसामने हुने अवस्थामा पुगेका छन् । यही अवस्थामा संसद्मा पाँचदलीय गठबन्धनको देउवा सरकारले आज एमसीसी टेबुल गर्ने तयारी गरेपछि देशभक्त आन्दोलनरत ६ कम्युनिस्ट पार्टी, २ वटा मोर्चा र देशभक्त शक्तिहरुले भोलि आज काठमाडौँमा संसद् भवन र देशभरका जिल्ला प्रशासन कार्यालय घेर्ने भएका छन् ।

६ दल र २ मोर्चाको शनिबार नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले काठमाडौँ उपत्यकामा माइतीघरमण्डलबाट विरोध प्रदर्शनसहित नयाँबानेश्वरस्थित संसद् भवन घेर्ने र देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने जनसङ्घर्षको कार्यक्रम घोषणा गरेको हो ।

बैठकले अमेरिकी राजदूत र्यान्डी बेरीको ट्विट, चीनको विदेश विभागको पत्रकार सम्मेलनबाट व्यक्त धारणा र देउवा सरकारको एमसीसी संसद्मा टेबुल गरी पारित गराउने अन्तिम कसरतले नेपाली जनताको एमसीसीविरुद्धको सङ्घर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष निकालेको छ । बैठकले घोषित जनसङ्घर्षको कार्यक्रममा व्यापक सहभागिता र उच्च सफलताका निम्ति एमसीसीका विरुद्ध सङ्घर्षरत सबै शक्ति र आमजनसमुदायमा विनम्र अनुरोध पनि गरेको छ ।

बैठकपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष सुशील, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतीले जारी गरेको संंयुक्त प्रेस विज्ञप्तिमा एमसीसी जुनसुकै मूल्यमा खारेज गरी राष्ट्रिय स्वाधीनताको रक्षाको सवालमा आफूलाई आन्दोलित गरिरहेका नेपाली जनताका अगाडि जनसङ्घर्षको कार्यक्रमलाई उच्चता र व्यापकता प्रदान गर्नु आफ्नो कर्तव्य हुन आएको उल्लेख छ ।

एमसीसीविरुद्ध देशभक्त जनमत केन्द्रीकृत भएर जनआन्दोलनको रूप धारण गरेपछि अमेरिकी प्रशासकहरू अत्तालिँदै नेपालका शासक–प्रशासकहरूलाई धम्की र आदेश दिन थालेका छन् भने मित्रराष्ट्र चीनले सावधानीपूर्वक अमेरिकालाई एमसीसी नलाद्न सम्झाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :