मकवानपुरमा नेपाल बन्द सफल, बन्दकर्ताद्वारा जेब्रा क्रसिङ मर्मत

मकवानपुरमा नेपाल बन्द सफल, बन्दकर्ताद्वारा जेब्रा क्रसिङ मर्मत

मकवानपुर : अमेरिकी सहयोग परियोजना मेलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राष्ट्रघाती सम्झौताविरुद्ध नेपाल कम्युनिस्ट पार्टीसहित पाँच दल र एक मोर्चाको संयुक्त केन्द्रीय योजना अनुरुप घोषणा गरिएको नेपाल बन्द मकवानपुरमा पनि सफल भएको छ । आजको बन्द सफल बनाउन नेपाल कम्युनिस्ट पार्टी मकवानपुरसहित अन्य आठ दल र दुई मोर्चा संयुक्त रूपमा सडकमा उत्रिएका थिए ।

राष्ट्रघाती एमसिसी सम्झौता विरुद्धको आन्दोलनमा उत्रिएको सङ्घर्ष समितिका संयुक्त मोर्चा आज बिहानै नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको सम्पर्क कार्यालय हेटौँडा–१, जरुवातोलबाट निस्केको थियो । नेपाल बन्द सफल पार्न सडकमा उत्रिएको संयुक्त मोर्चाले होटल, व्यापार, व्यवसाय, सवारी साधन सबै बन्द गरेको थियो ।

बन्दको अबज्ञा गर्दै सवारी चलाउने चालक र बन्दकर्ताबीच हेटौँडाको राप्तीरोडमा झडप भएको छ । झडपमा हात हालाहालसमेत भएको छ । दुई पक्षबीच भएको झडप पुलिस प्रशासनद्वारा मिलाइएको हो । झडपमा कुनै पक्षलाई चोटपटक भने लागेको थिएन ।

बन्द गर्ने क्रममा हेटौँडा–१९, बस्तीपुरस्थित महेन्द्र राजमार्गको सडक खण्डमा बन्दकर्ताले जेब्राक्रसिङ पनि बनाएको छ । बन्दको समयमा सडक खाली भएको मौका पारी जेब्राक्रसिङमा सेतो रङ लगाई मर्मत गरिएको हो ।

बिहान छ बजेदेखि साँझ पाँच बजेसम्म भएको नेपाल बन्दको अन्तिम समयमा कोणसभा गरिएको हो । एमसीसीविरुद्ध गरिएको नेपाल बन्दमा उत्रिएको सङ्घर्ष समितिको संयुक्त मोर्चाको बुद्ध चोकमा कोणसभा गरिएको हो । कोणसभा कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयनलगायत अन्य दलका नेतृत्वहरूले आफ्नो विचारसहित मन्तव्य राखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :