चट्टान बन्दै राष्ट्रवादीहरु

राष्ट्र यतिबेला अभूतपूर्व सङ्कटमा छ । सन् १८१६ को सुगौली सन्धीपछिको दुई सय वर्ष लामो कालखण्डमा कहिल्यै पनि नेपाल यति कमजोर स्थितिमा थिएन । यस्तो जटिल, विषम्, भयावह तथा दुविधामय अवस्थामा इतिहासबाट पाठ सिक्न हामी तयार हुनैपर्छ । विगतको दुःखकष्टबाट शिक्षा लिँदै राष्ट्रको सुदूर भविष्यको संरक्षण, संवद्र्धन तथा सम्प्रेषण सम्पूर्ण दलाल पुँजीवादी सत्ताका विरोधी जनता मिलेर स्पष्ट मार्गचित्र बनाउनै पर्छ । राजनीतिक परिवर्तन तथा संक्रमणकालको बहानामा १० वर्षसम्म राष्ट्रलाई नै अनिर्णयको बन्दी बनाइएको हँुदा जनताले अब ठूला दलका नेतालाई प्रश्न गर्नै पर्ने बेला आएको छ ।

माके आज आफ्नो सिद्धान्तको मलामी र काङ्ग्रेसको जन्ती भएको छ । जीजिविषा मानिसको आधारभूत चरित्र हो । पेट भरिएर मात्र उ खुसी हुँदैन, किनभने मान्छे पशु होइन । शीर ठाडो पारेर हिड्न उसलाई स्वाधीन राष्ट्र चाहिन्छ । अरुको दास बन्न नचाहने करोडौँ मान्छे आर्थिक सम्वृद्धि मात्र सबथोक हो भन्ने पक्षमा छैनन् । आफ्नो राष्ट्रको बारेमा आफैँ निर्णय गरि इतिहासप्रति सम्मान गर्दै वर्तमान र भविष्य सुरक्षित रहनुपर्छ भन्ने चिन्तन नेपालमा व्यापक बन्दै गएको छ । भारतीय साम्राज्यवादको खटनपटनमा हिड्न स्वाभिमानीहरु तयार छैनन् । दासहरुको कुरा नगराँै, स्वतन्त्र राष्ट्रको स्वतन्त्र जनता, राष्ट्रको स्पष्ट मार्गचित्र आफैँ कोरिरहेका छन् । राजनीतिशास्त्रले देशभक्तिमा आधारित राष्ट्रियताप्रतिको यही समर्पणलाई सरल अर्थमा राष्ट्रवाद भनेर परिभाषित गरेको पाइन्छ ।

नेपाल आएका एकजना इजरायली पत्रकारले भनेका थिए, कसैले इजरायलमा विदेशीले हस्तक्षेप गरोस् वा इजरायल टुक्रियोस् भन्यो भने राष्ट्रवादी युवा र सेना मिलेर त्यस्ता राष्ट्रघातीलाई ज्युँदै पुर्ने गर्दछन्, छानविन हुँदै गर्छ । नेपालमा पनि त्यस्तै कारवाहीको आवश्यकता देखिएको छ । राष्ट्रघातीहरुसमेत प्रधानमन्त्रीको कुर्सीमा बिराजमान हुने देश सायद संसारमै नेपाल मात्रै होला । राष्ट्रविलयको मार्गचित्र बनाउनेहरुलाई जनताले मात्र होइन राष्ट्रिय सुरक्षाका अंगहरुलेसमेत आजसम्म सलाम ठोकिरहेका छन् । राष्ट्रवादी र राष्ट्रघातीको सम्मान बराबर हुन्छ भने त्यस्तो सलाम वा सम्मानको के अर्थ रह्यो र ? नेपाली जनतामा यस्ता प्रसङ्ग पनि चर्चाको बन्ने गरेको छ ।

९६ वर्ष व्रिटेनको उपनिवेश रहेको फिजी सन् १९७० मा स्वतन्त्र भयो तर पुनः भारतीयको हालीमुहाली सुरु भयो । भारतीय मूलका महेन्द्र चौधरीहरुले षड्यन्त्र गर्न थाले । सन् १९७७ मा भएको संसदीय चुनावमा भारतको प्रभाव देखियो । सन् १९८७ मा त्यहाँ विद्रोह भयो तर प्रभाव रोकिएन । सन् १९९९ मा महेन्द्र चौधरी प्रधानमन्त्री भए । सन् २००० मा पुनः सैनिक विद्रोह भयो । रैथाने फिजिबासीहरु निरिह देखिए । किनभने अरबांैको कलकारखाना र चलअचल सम्पत्तिहरुको भारतीय मूलका मानिसहरुको हातमा थियो । नेपाली राजनीतिले पनि दिल्ली धाउने प्रवृत्ति रोकिएन भने दश÷पन्ध्र वर्षभित्रै नेपालीहरु अल्पमतमा पर्ने खतरा देखिएको छ । त्यतिबेला राष्ट्र नै बिलय हुनेसम्मको खतरा हुनसक्छ ।

दश वर्षमा सत्र हजार नेपाली जनताको ज्यान गयो । अरबांै रुपैयाँ लुटेर केही व्यक्तिहरु धनी भए । शान्ति प्रकृया पूरा भयो भन्दै आएका दलहरु नै अहिले खुसी छैनन् । विदेशीले यूरो, डलर र भारुसँगै कथित लोकतन्त्रको भारी बोकाइदिएका छन् । भारी फालेर आउने हिम्मत पनि छैन । नाकै ठोकिने उकालो चढ्ने हिम्मत पनि छैन । त्यसैले विदेशी दलालका भरियाहरु आपसमा क्रन्दन गरिरहेका छन् । यही क्रन्दनलाई संचारले बैठक भनेर हल्ला गरिरहेको छ । क्षेत्रीय, जातीय, साम्प्रदायिक र पृथकतावादी शक्तिलाई लोकतन्त्रवादी देख्ने संचार, नागरिक समाज र कार्यकर्ता नेपालगञ्ज रुपैडिहाबीच चल्ने दुवैतिर पट्टी लगाएका टाँगा ( आई प्याड) झैँ भएका छन् । प्रायोजित खेलबाहेक अन्यका बारेमा बोल्न, लेख्न र अनुसन्धान गर्न चाहँदैनन् । खोज पत्रकारिताका ठेकेदारदेखि महिलाअधिकार, नपुंसकअधिकार, मानवअधिकार, राजनीतिकअधिकार लगायतका क्षेत्रमा काम गर्नेहरुका गतिविधि हेर्दा राष्ट्र र जनता उनीहरुको प्राथमिकतामा नपरेको देखिन्छ । राष्ट्रिय स्वाधीनता र समानताजस्ता विषय तुच्छ हुन् भन्ने ठानिएको छ । देश डुबे पनि सिक्किममा जस्तो लोकतन्त्र रहे पुग्छ भन्नेहरुको हातमा देशको बागडोर छ । यस्तो देश कहिलेसम्म सुरक्षित रहन्छ ? जनतालाई अपमान गर्ने लोकतन्त्रको के अर्थ हुन्छ ? यस्तो अवस्थामा देशलाई थप बर्बादीबाट जोगाउन जनताको भूमिका रहन्छ की रहँदैन ?

दुःखको कुरा सबैले सम्मान गर्न लायकका कुनै पात्र बाँकी रहेनन् संसदीय पार्टीहरुमा । विदेशी सामान लिएर बेच्ने थोक बिक्रेतामा परिणत भए नेताहरु । देशलाई नेतृत्व गर्लान् भनेर जनताले केही भरोसा गरेका व्यक्तिहरु पतित हुन गए । राष्ट्रघाती दलालहरु आफ्नै मतदाता र जनतासँग डराउँदै हिडिरहेका छन् । नेपाली जनतालाई चिड्याएर दलनायकहरु राष्ट्रघातका खलनायक भएका छन् । यो आजको यथार्थता हो । कैयन जटिलता हँुदाहँुदै पनि देशको भविष्यप्रति चिन्तित नयाँपुस्ता हामीले स्पष्ट जवाफ दिन सकिरहेका छैनौँ । यो देशको भविष्य कसले सम्हाल्ला ? भूमि सुधार, कृषि, विज्ञान, प्रविधि, संचार, शिक्षा, यातायात, कूटनीति, कला, साहित्य, उद्योग, व्यापार, स्वास्थ्यलगायत अनेक क्षेत्रमा हजारौँ सम्भावनाको खोजी गर्न जरुरी छ । त्यसैको निम्ति स्वप्न द्रष्टा बन्न जरुरी छ ।

देश महासंकटतर्फ उन्मुख भैरहेको छ । सचेतहरु जान्दछन् नेपाल आज अन्तर्राष्ट्रिय षड्यन्त्रको उर्वरभूमि बनेको छ । नैतिकता, सिद्धान्त, दर्शन, विचार, चिन्तन, आदर्श र धरातल त्यागेर पद, पैसा र प्रतिष्ठा खोज्दै असुब्रमलाई पनि अमृत मान्दै कतिपय दल र तिनका नेताहरु तँछाड मछाड गरिरहेका छन् । राष्ट्रको भविष्यभन्दा पनि आफ्नो निम्ति चिन्तित देखिएका छन् । सदाचार, अनुशासन, देश प्रेम, स्वाभिमान, स्वावलम्वन, सद्चरित्र, राजनीतिक स्थायित्व र प्रगति स्खलित हँुदै गइरहेको छ । नेपालमा २५ वर्षमा २५ वटा सरकार र गणतन्त्र घोषणाको १० वर्षमा १० जनाभन्दा बढी प्रम फेरिई सक्दासमेत जनतालाई शान्ति, सम्वृद्धि, प्रगति र स्वाधीनता दिन नसक्दा उनीहरु आज लज्जित भएका छन् । सुंगुरको बोसोमा पाकेको तरकारीलाई चिनियाँहरुले शुद्ध शाकाहारी परिकार भनेझँै जनहित विपरीतको संविधानलाई विश्वकै उत्कृष्ट भनिरहेका छन् । देशको भविष्य निर्माण गर्ने प्रवल चेतना भएका साहसी, योग्य, ईमान्दार, लगनशील र कर्तव्यनिष्ट कम्युनिस्ट क्रान्तिकारीहरु जन्मिसकेका छन् । कोर्टमार्सल गर्न पर्नेहरु फिल्डमार्सल भएका छन् । कुनै बेला संसारकै प्रशिद्ध राष्ट्र नेपाल आज दिनप्रतिदिन बदनाम हँुदै गइरहेको छ । राष्ट्रको जल्दाबल्दा समस्याको समाधान खोज्न संसदीय व्यवस्था असफल सिद्ध भएको छ । जर्मनीमा जर्बजस्त थोपारिएको वाइभर संविधान जनताले च्यातेका थिए । हुँदा खाने एवम् हुने खाने वर्गबीचको आर्थिक अन्तरालबाट उत्पन्न संकटको समाधान खोज्न संसदीय व्यवस्था असफलसिद्ध भैसकेको छ । लोकतन्त्रको सारांश समानता हो । त्यत्ति बुझे पुग्छ । आर्थिक, सामाजिक, राजनीतिकलगायत यावत क्षेत्रमा आफूमाथि पक्षपात भैरहेको छ भन्ने पीडाबोध थालेपछि दमित, शोसित, अपहेलित, उपेक्षितहरु कणकणबाट चट्टान बन्छन् । त्यस्तो अवस्थामा विद्रोह हुन्छ । जर्मन प्रचार मन्त्री डा. जोसेफ गोयवल्सले भन्ने गर्थे असत्य भए पनि हजार पल्ट प्रचार गरेपछि जनताले स्विकार्न थाल्दछन् । नेपालका दलालहरु त्यस्तै प्रचारमा रमाएका छन् । ग्रहण लाग्दा सूर्य ओझेलमा पर्छ तर सूर्य शास्वत् सत्य हो । नेपालमा पनि ग्रहण लागेको जस्तो देखिएको मात्र हो । राष्ट्रवादी कम्युनिस्ट क्रान्तिकारीहरुले यो ग्रहणलाई छिट्टै हटाएर सफल सम्वृद्ध नेपाल बनाउने अभियानमा लामवद्ध भैसकेका छन् । देशलाई माया गर्ने वास्तविक देशभक्तहरु शुन्यबाट नायक हुँदैछन् भने पराईका कठपुतली दलालहरु चियामा डुबेको झिगाझैँ मिल्क्याईंदैछन् । अब नेपालमा राष्ट्रवाद र राष्ट्रघातबीचको आन्तरिक युद्ध हुन सक्छ । सबै कुरा खोसिँदै गएको छ । सरकार, संसद र न्यायालयमाथि विदेशी खटनपटनबाट चलाउन खाजिँदैछ । प्रहरी, निजामतीलगायत महत्वपूर्ण अंगमासमेत बाह्य शक्तिको प्रभाव जमाउन खोजिँदैछ । सरकारका अंगअंगमा विदेशी दबाव र दबदबा देखिन्छ ।

२०७४ भदौ १३ गते १२ः५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :