स्वास्थ्यकर्मीहरू सम्मेलनतिर

रातो खबर संवाददाता / काठमाडौं  : नेकपा निकट स्वास्थ्यकर्मीहरूको सङ्गठन अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घको भदौ ५ गते काठमाडौँमा सम्पन्न बैठकले पुस पहिलो साताभित्र राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । सङ्गठनका केन्द्रीय अध्यक्ष डम्बर रावलले रातो खबर साप्ताहिकसँग सङ्क्षिप्त कुरा गर्दै सो जानकारी दिनुभएको हो । सम्मेलन सफलताका लागि विभिन्न समितिहरू निर्माण गरिएको छ । जसअनुसार आर्थिक समितिमा पिताम्बर भुर्तेल, विनोद रावल, लोकेश जोशी, योगेन्द्रकुमार यादव र कैलाश लामा छन् । त्यसैगरी डम्बर रावलको संयोजकत्वमा ५ सदस्यीय विधान–प्रतिवेदन मस्यौदा समिति, ५ सदस्यीय प्रचार समिति, ५ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ । उपर्युक्त समितिहरूले आवश्यकतानुसार उपसमितिहरू गठन गर्न सक्ने पनि निर्णय गरिएको छ ।

बैठकले सङ्गठनात्मक क्षेत्रमा पनि महत्वपूर्ण निर्णयहरू लिएको छ जसअनुसार केन्द्रीय समितिलाई सम्मेलन आयोजक समितिमा बदलिएको छ । तदर्थ समितिमा डम्बर रावल संयोजक र सदस्यहरू प्रमोद योगी, नरबहादुर थापा, अम्बिका पाठक, रत्ना शर्मासहित २५ जना छन् । ब्युरो संयोजकसहित केही जिल्ला नेतृत्व पनि ठोस गरिएको छ । जसअनुसार कैलाश लामा– काठमाडौं, अम्बिका पाठक–चितवन, रामनन्द देवकोटा–ललितपुर, लोकेश जोशी–भक्तपुरलगायत छन् । सङ्गठनले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर चलाउनेदेखि सरकारलाई दबाब दिनेसम्मका कार्यक्रम तय गरेको छ । सङ्गठनले स्वास्थ्य क्षेत्रका भ्रष्ट, दलाल र कमिसनखोरहरूको भण्डाफोर गर्ने तथा ‘कालो तालिका’ सार्वजनिक गर्ने निर्णय गरेको छ । यो कार्यक्रमले स्वास्थ्य क्षेत्रमा ठूलो बहस र विवाद उत्पन्न गर्ने देखिन्छ ।

२०७४ भदौ १४ गते ११ : १६ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :