प्रम देउवाले दिल्लीमा के गरे ?

 

रातो खबर संवाददाता  / काठमाडौं : प्रम शेरबहादुर देउवाको भ्रमणलाई सुरुदेखि नै विज्ञहरूले ‘बेमौसमको बाजा’ भन्दै आएका थिए । छिमेकी चीनले बुझिनेगरी देउवाको भारत भ्रमणलाई नरुचाएको सार्वजनिक टिप्पणी भैरहेको थियो । छिमेकी देशहरू युद्धको परिस्थितिमा रहेको समयमा द्वन्द्वरत कुनै एउटा देशको भ्रमण तटस्थ परराष्ट्र नीतिको प्रतिकूल मानिने गरिन्छ । प्रम देउवाले भारत–चीन तनावमा नेपाल औपचारिक रूपमा तटस्थ रहने अडान कायम राखे पनि गोप्य रूपमा भारतप्रति स्वाभाविक झुकाव राखेर फर्केको विश्लेषण भैरहेको छ । छिमेक नीति र आन्तरिक राजनीतिका मामिलामा गोप्य सहमतिहरू भएका टिप्पणीहरू भएका छन् । यसको प्रभाव विस्तारै प्रकट हुँदै जानेछ ।

एमालेको सरकार चलिरहेको र प्रमुख प्रतिपक्षी दलको नेता भैरहेको बेला तत्कालीन पार्टी सभापति देउवाले दलाई लामाका मन्त्रीसँग गोवामा भेटेका थिए । सुरुमा उनले भेट्दै नभेटेको भनेर ढाँटेका थिए । तर सञ्चारमा दलाई लामाका मन्त्री र देउवाको फोटो नै सार्वजनिक भएको थियो । त्यसपछि चीनले नेपाल सरकारसँग नेपालको एक चीन नीतिको सन्दर्भमा प्रश्न उठाएपछि सरकार नै अप्ठेरोमा परेको थियो । अनपेक्षित रूपमा भएको भारत भ्रमण र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको गोप्य भेटमा लिखित, मौखिक गोप्य सहमति भएको ठानिएको छ ।

प्रम देउवाले नेपालको आन्तरिक राजनीतिमा भारतको प्रवेशलाई वैधानिकता दिएका छन् । त्यसको चौतर्फी आलोचना भएको छ । उनले नेपालको कुनै दलसँग वार्ता गरेझैँ संविधान संशोधन गर्न आवश्यक मत नपुगेको र प्रयास जारी राख्ने बाचा गरेका छन् । त्यसको अर्को अर्थ ‘तिम्रा मधेसवादीको माग पूरा गर्ने भए मेरो दललाई बहुमत दिलाइदेऊ’ भन्ने अर्थ लगाउन सकिन्छ जुन कुरा अत्यन्तै आपत्तिजनक, गैरकूटनीतिक र देशको अहितमा छ । त्यसैगरी देउवा–दाहाल गठबन्धनको प्रायोजक दिल्ली भैरहेको, त्यही गठबन्धनले चुनाव सम्पन्न गरेकै आवस्थामा दिल्लीले रुचाएका उम्मेदवार र दलहरू नै कमजोर देखिनुले दिल्ली र देउवा दुवै चिन्तित हुनु स्वाभाविक छ ।

भाबी चुनावमा भारतपरस्त दलहरूलाई जिताउने विषयमा देउवा र मोदीका बीचमा छलफल भएको चर्चा झनै खतरनाक देखिन्छ । भारतका कतिपय सार्वजनिक व्यक्तित्व र सञ्चारले नेपाललाई चीनको खतरा भनिरहेका छन् । वास्तविकता त्यसको विपरीत छ । चीन देखाएर दिल्ली नेपालमा हाबी हुन चाहन्छ । नेपालमाथि नाकाबन्दी लगाएको, वाम सरकार विघटन गराएको आरोप लागिरहेकै बेला दिल्ली पक्षधर दलहरू झन् कमजोर देखिएका छन् । त्यसैले ‘वाम तथा लोकतान्त्रिक’ गठबन्धन बनाएर चुनावमार्फत नेपाललाई पराधीन बनाउन र भारतीय स्वार्थपूर्ति गर्न चाहन्छ । त्यसपछि नै भारत र मधेसीको चाहना पूरा हुन सक्नेछ । त्यसप्रकारको अभ्यास सुरुमा भैसकेको छ ।
प्रम देउवाले नेपालको कालापानीमा बसेका भारतीय सेना फिर्ता गराउन कुनै पहल गरेनन् । त्यसले भारतको अतिक्रमणलाई मलजल ग¥यो । अर्कोतिर कोसी उच्चबाँध, अरुण तेस्रो, माथिल्लो कर्णालीमा भएका राष्ट्रघातलाई देउवा भ्रमणले निरन्तरता दियो । डुबानको समस्यामा कुनै टोस पहलकदमी वा सहमति भएन । केवल झारा टार्ने शब्दहरूको जुलुस मात्र देखियो । तसर्थ देउवाको भारत भ्रमण राष्ट्रघात र आत्मसमर्पणको नयाँ पोकोबाहेक अरू केही देखिएन ।

२०७४ भदौ १४ गते ७ : ३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :