नेकपा दाङको छैठौं पूर्ण बैठक सम्पन्न, २७ औँ जनयुद्ध दिवस भव्य रुपमा मनाउने

नेकपा दाङको छैठौं पूर्ण बैठक सम्पन्न, २७ औँ जनयुद्ध दिवस भव्य रुपमा मनाउने

तुलसीपुर: नेपाल कम्युनिस्ट पार्टी दाङको छैठौं पूर्ण बैठक सम्पन्न भएको छ । 

घोराहीमा माघ २८-२९ गते दुई दिनसम्म चलेको बैठकले ऐतिहासिक २७ औँ महान जनयुद्ध दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ ।

बैठकले फागुन १ गते ऐतिहासिक जनयुद्ध दिवसको अवसरमा बिहान टिका आवरण, शुभकामना आदानप्रदान, दिउँसो उत्सबका रुपमा मनाउने लगाएत सोही दिन साँझ जिल्ला अन्तर्गतका मुख्य शहर केन्द्रित चोकहरुमा दिप प्रज्वलन तथा कोणसभामार्फत शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले जनयुद्ध दिवसको अवसरमा जिल्ला अन्तर्गतका पालिकाहरुमा पार्टी र पार्टी निकट संयुक्त जवस/मोर्चाको आयोजनामा विभिन्न रचनात्मक कार्यक्रमहरु विविध खेलकुद प्रतियोगिता, अन्तर्क्रीया कार्यक्रम, शहिद बेपत्ता तथा घाइते योद्धाहरुको घरघरमा पुगेर शुभकामना आदानप्रदान गर्ने, शुभकामना सभा सहित संगठनात्मक काम गर्ने नेकपाले जनाएको छ ।
नेकपाको ऐतिहासिक छैठौं बैठकले फागुन १४ गतेदेखि २१ गतेसम्म सहिद सप्ताह समेत मनाउने निर्णय गरेको छ । दिप प्रज्वलन, सहिद, बेपत्ता तथा घाइते योद्धा परिवारलाई अभिनन्दन गरेर सहिद सप्ताह मनाउने निर्णय गरेको छ ।
बैठकले फागुन २४ गते अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाउने समेत निर्णय गरेको जनाइएको छ ।

यस्तै बैठकले राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध प्रदर्शन, भण्डाफोर, वालिङ, कोणसभा लगाएतका कार्यक्रम गर्ने निर्णय गरेको छ । साथै महंगी, कालोबजारी, भ्रष्टाचारी, सामाजिक विकृति, विसंगति एवम् बेथितिका विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ ।

छैठौं पूर्ण बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै बैठकका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवम् दाङका इन्चार्ज शितलले पार्टी विरुद्ध प्रतिक्रियावादीहरुले अनेक ढंगले हमला गर्न खोजिरहेको जिकिर गरेका थिए । उनले पार्टी जनतामाझ लोकप्रिय र जनप्रीय बन्दै गएपछि अत्तालिएर प्रतिक्रियावादीहरुले जनतामा विभिन्न भ्रमहरु छरेको दाबी गरे ।

नेता शितलले केही समयअघि पार्टी प्रवक्ताको भ्रमपूर्ण समाचार केही साम्राज्यवाद, प्रतिक्रियावादीहरुका डलर भजाउने मिडियाहरुले नियोजित र योजनाबद्ध ढंगले भ्रमपूर्ण प्रचारबाजी गरेकोप्रति पार्टीपंक्ति लगाएत आम जनसमुदाय भ्रमित नहुन आग्रह समेत गरेका थिए ।

उनले स्पष्ट राजनीतिक एजेन्डा नभएका संसदवादी राजनीतिक दलका भिजिलान्तेहरुको जुनसुकै षड्यन्त्रको भ्रममा नपर्न समेत आग्रह गरे ।

बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेकपाका केन्द्रीय सदस्य एवम् सल्यान जिल्ला इन्चार्ज सविनले एकीकृत जनक्रान्तिमार्फत दलाल पुजीवादी सत्तालाई निषेध सम्भव रहेको बताएका थिए । उनले नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्न एकीकृत जनक्रान्तिबाट मात्रै सम्भव भएको समेत बताए । नेपालको राष्ट्रियतामाथि साम्राज्यवादीको हस्तक्षेपका विरुद्ध आफुहरुको पार्टीले निरन्तर संघर्ष गरिरहेको समेत जिकिर गरे । 

बैठकमा अतिथि नेकपा विशेष कमिटी सदस्यद्वय विक्रम र सम्झना, युवा संगठन नेपालका केन्द्रीय सचिव तिलकले सुझावसहित अनुभूति मन्तव्य व्यक्त गरेका थिए ।

नेकपाका केन्द्रीय सदस्य एवम् दाङका इन्चार्ज शितलको प्रमुख आतिथ्यमा बसेको बैठकमा नेकपाका केन्द्रीय सदस्य एवम् सल्यान जिल्ला इन्चार्ज सविन, नेकपा विशेष कमिटीका सदस्यद्वय सम्झना, विक्रम, युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन र केन्द्रीय सचिव तिलकको आतिथ्यता रहेको थियो ।

छैठौं पूर्ण बैठकको अध्यक्षता तथा संचालन नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :