एमसीसीविरुद्ध आज देशभर कोणसभा, भोलि २ बजे संसद् भवन घेराउ

काठमाडौँ : राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध आज मङ्गलबार देशभर कोणसभा आह्वान गरिएको छ । एमसीसी सम्झौतालगायत राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा संयुक्त रूपमा आन्दोलन गर्दै आएका नेकपासहित ६ दल र दुई मोर्चाले आज अपराह्न ३ बजे देशभर कोणसभा आयोजना गर्न लागेका हुन् भने संसद् बैठक आह्वान गरिएको दिन भोलि बुधबार अर्थात् माघ २६ गते अपराह्न २ बजे नयाँबानेश्वरस्थित संसद् भवन घेराउ गर्ने कार्यक्रम तय भएको जानकारी आन्दोलनको अगुवाइ गरिरहेको नेकपाको केन्द्रीय स्रोतले दिएको छ ।

प्राप्त जानकारीअनुसार मङ्गलबार तीन बजे काठमाडौँ उपत्यकाभित्र काठमाडौँका शान्तिबाटिका, कोटेश्वर, गौशाला, कलङ्की, गोंगबु बसपार्कका साथै ललितपुर र भक्तपुरमा कोणसभा आयोजना गरिनेछ । कोणसभामा ६ दल र २ मोर्चाका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसप्रकारको कोणसभा देशैभर आयोजना गरिने जनाइएको छ ।

त्यसैगरी २६ गते बुधबार माइतीघर मण्डलमा १ बजे केन्द्रित भएर विरोध प्रदर्शनसहितको र्याली संसद् भवन नयाँबानेश्वर घेराउ गर्न जानेछ । ६ दल र २ मोर्चाले दिउँसो २ बजेदेखि संसद् भवन घेर्दै सम्बोधन गर्नेछन् ।

यसअघि काठमाडौँमा आइतबार बसेको ६ दल र दुई मोर्चाको बैठकले २५ गते देशभर संयुक्त कोणसभा गर्ने, २६ गते काठमाडौँमा संसद् भवन घेराउ गर्ने र सोही दिन देशैभर जिल्ला सदरमुकामहरूमा प्रदर्शन गर्ने निर्णय गरेको थियो । बैठकपछि संयुक्त वक्तव्य जारी गर्नेहरूमा नेकपाका महासचिव विप्लव, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुती, नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल र राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :