‘सागमा स्वर्ण जित्ने लक्ष्य’

काठमाडौं : गौरिका सिंह नेपाली पौडीमा ११ वर्षकै उमेरमा राष्ट्रिय कीर्तिमान राख्न सफल गौरिकाले गतवर्ष सम्पन्न रियो ओलम्पिकमा पनि सहभागिता जनाइन् । गौरिकाले अहिलेसम्म व्यक्तिगत स्पर्धामा ३२ पटक राष्ट्रिय कीर्तिमान बनाएकी छन् । यसबाहेक उनको नाम टिम स्पर्धाका तीन कीर्तिमानमा पनि समावेश छ । रियो ओलम्पिककै सबैभन्दा कान्छी खेलाडी १३ वर्षीया गौरिका विश्वभरकै मिडियामा छाएकी थिइन् । गौरिकासँगै नेपालबाट ७ खेलाडीले ओलम्पिकमा सहभागिता जनाएका थिए । तीन वर्षअघिको १९ औं राष्ट्रिय खुला पौडीमा पहिलो सहभागितामै ८ राष्ट्रिय कीर्तिमानसहित ८ स्वर्ण र १ रजत जितेकी गौरिकाले त्यसयता फर्केर हेर्नुपरेको छैन । गतवर्ष भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले पौडीतर्फ ल्याएको १ रजत र ३ कास्यपदक सबै गौरिकाले नै जितेकी थिइन् । गत साता सम्पन्न २० औं राष्ट्रिय पौडी प्रतियोगितामा पाँच व्यक्तिगत स्पर्धामा सहभागिता जनाएकी गौरिकाले पाँचै स्पर्धामा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितिन् । गौरिका सम्मिलित आर्मी टिमले ४ गुणा १ सय मिटर मिक्स रिलेमा पनि स्वर्ण जित्यो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले १५ स्वर्ण जितेको थियो । बेलायतमा बसोबास गर्दै आएकी गौरिका प्रतियोगिताको समयमा नेपाल आउँछिन् । उनले बेलायतमै रहेर लन्डनस्थित बार्नेट कोप्टहल स्विमिङ क्लबमा पाँच वर्षयता प्रशिक्षण लिइरहेकी छन् । उनले विभिन्न प्रतियोगितामा पनि सहभागिता जनाउँदै आएकी छन् ।
घरेलु प्रतियोगितामा सनसनीपूर्ण प्रदर्शन गर्दै आएकी स्वीमर गौरिका सिंहले अब १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक जित्नका लागि तयारी गर्ने बताएकी छन् ।
गत साता सातदोबाटोमा सम्पन्न २० औं राष्ट्रिय पौडीमा व्यक्तिगत स्पर्धामा सहभागी पाँचै स्पर्धामा राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक जितेकी गौरिकाले आइतबार भनिन्, ‘१३ औं साग नेपालमा हँुदैछ । नेपालमा सम्भव भएन भने श्रीलंकामा हुन सक्छ । त्यसैले लन्डन फर्केर १३ औं सागको तयारीमा लाग्नेछु ।’ १३ औं साग सन् २०१९ मार्चमा नेपालमा हुने निर्णय भएको थियो तर भौतिक पूर्वाधार निर्माणको काम नहुँदा आयोजनाप्रति आशंका गरिएको छ । त्यसैले श्रीलंकाले आयोजना गर्ने प्रस्ताव अघि सारेको छ ।
सन् २०१६ फेब्रुअरीमा भारतको गुवाहाटीमा भएको १२ औं सागमा गौरिकाले १ रजत र ३ कांस्यसहित चार पदक जितेकी थिइन् । उनी दक्षिण एसियाली खेलकुदमा पौडीको व्यक्तिगत स्पर्धामा नेपाललाई पदक दिलाउने पहिलो र एकमात्र खेलाडी हुन् । उनले गुवाहाटीमा व्यक्तिगत सात र रिलेमा तीन गरी १० राष्ट्रिय कीर्तिमान पनि बनाएकी थिइन् । उनले तीन वर्षको स्वीमिङ करिअरमा ३३ कीर्तिमान बनाइसकेकी छन् ।
लन्डनस्थित बार्नेट कोपथल स्वीमिङ क्लबमा पाँच वर्षयता नियमित प्रशिक्षण गरिरहेकी उनले १३ औं सागमा थुप्रै स्वर्णपदक जित्ने योजना बनाएकी छन् । ‘पहिले (१२ औं साग) भन्दा अहिले मेरो प्रदर्शन निकै सुधार भएको छ । त्यसैले थुप्रै स्वर्णपदक जित्न सक्छु,’ १४ वर्षीया उनले भनिन्, ‘अहिलेको समय हेर्दा पनि थुप्रै स्वर्णपदक जित्न सक्छु । एक वर्षमा झन् राम्रो गर्न सक्छु भन्ने लाग्छ ।’ उनले २ सय र ४ सय मिटर इन्डिभ्युजल मिड्ले, २ सय, ४ सय र ८ सय मिटर फ्रिस्टाइल तथा २ सय मिटर बटरफ्लाईमा सफलता हात पार्ने योजना बनाएकी छन् ।
गत वर्ष ब्राजिलमा भएको रियो ओलम्पिकमा ११ हजार बढी खेलाडीमध्ये सबैभन्दा कम उमेरकी हुँदै चर्चा पाएकी गौरिकाले स्वीमिङ करिअरका लागि लामो योजना नै बनाएकी छन् । ‘अर्को वर्ष एसियाली खेलकुद पनि हँुदैछ, त्यसका लागि कसरी छनोट गर्छ थाहा छैन,’ उनले भनिन्, ‘सन् २०२० मा टोकियोमा हुने ओलम्पिकमा भने छनोट पार गरेरै खेल्ने लक्ष्य राखेकी छु । यसका लागि प्रशिक्षक (रिज गोम्ली) को सुझावअनुसार अभ्यास गर्नेछु ।’
ह्याब्स स्कुल फर गल्र्स, लन्डनमा भर्खरै ९ कक्षा सकाएकी गौरिकालाई रोक्न पौडी संघकै केही पदाधिकारी लागेका थिए । राष्ट्रिय पौडी नै स्थगित गर्ने उनीहरूको प्रयास असफल भएपछि गौरिकाले फेरि सनसनीपूर्ण प्रदर्शन गरेकी थिइन् । ‘राजनीतिले मेरो खेललाई केही असर गर्दैन । ईश्र्या गर्ने धेरै भयो भने मेरो खेल अझ राम्रो हुन्छ र कन्फिडेन्स भएर खेल्ने गर्छु,’ उनले भनिन् ।

स्रोत : कान्तिपुर

२०७२ भदौ १२ गते २ ०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :