बर्मझियामा के भएको हो ?

राजु कार्कीनेकपा केन्द्रीय समितिको साउन ९–१३ को बैठकले सहिद रामवृक्ष यादवको स्मृतिसभा बर्मझियामा नै गर्ने निर्णय गरेको थियो । सो २३औं स्मृतिसभाको तयारीको जिम्मा जनकपुर ब्युरोलाई दिएअनुसार हामी तयारीको जिम्मा जनकपुर ब्युरोलाई दिएअनुसार हामी तयारीमा लाग्यौं । त्यसअनुसार सिराहा, सप्तरी, सिन्धुली, सर्लाही, महोत्तरी र धनुषाबाट उपस्थितिको ठोस तयारी र जिम्मा बाँडियो । साउन १८ गते सम्पन्न जनकपुर ब्युरो बैठकले आफ्नो क्षेत्रका सबै सहिद परिवारलाई उपस्थित गराउने, सम्मान गर्ने र आउने–जाने व्यवस्था गर्ने निर्णय पनि गरेको थियो । भदौ ३ गते बर्मझियामा नै पार्टी प्रशिक्षण र चुनाव खारेजीमा गिरफ्तार भएका आस्थाका बन्दीहरूलाई अभिनन्दन गर्ने कार्यक्रम बनाइएको थियो ।

हामी रामवृक्ष यादवको स्मृतिसभाको तयारी गरिरहेको बेला तराईका अन्य भागहरू जसरी नै जनकपुरका सबैजसो जिल्लामा भीषण बाढीको विपत्ति आइलाग्यो । त्यसले धनजनको ठूलो क्षति पु¥यायो । डुबान समस्यको मुख्य कारण सिमानामा भारतले निर्माण गरेका बाधहरू हुन् भन्ने जनताले नबुझ्ने कुरा भएन । कतिपय स्थानमा आक्रोशित जनताले ‘विप्लव आऊ बाँध भत्काऊ’ भन्दै थिए । लगातारको वर्षाको कारण कार्यक्रम स्थल परिवर्तन गनुपर्छ कि भन्ने लाग्दै थियो तर वर्षा रोकिंदै गएकोले हामीले पूर्व तयारीलाई निरन्तरता दियौं त्यसैक्रममा प्रचण्ड समूहले पनि बर्मझियामा नै रामवृक्ष यादव स्मृतिसभा मनाउने हल्ला सुनियो । त्यसपछि हाम्रो ब्युरो इन्चार्ज क. सन्देशले प्रचण्ड समूहका ब्युरो सेक्रेटरी विश्वनाथ साहसँग छलफल गरी सहमति गरियो । जसअनुसार सोही स्थानमा अपरान्ह ३ बजेसम्म हामीले सभा सक्ने र त्यसपछि प्रचण्ड समूहले गर्ने सहमति भयो । विश्वनाथ साहसँग भएको सहमति प्रचण्ड गुटका नेताहरूले मान्न अस्वीकार गरेछन् । सहिद परिवारलाई पनि दबाब दिन थाले रामवृक्षकी छोरी सुनिता यादव सहजै कार्यक्रममा आउँछु भनेकी थिइन् । ‘अन्तिममा छोरो बिरामी पर्‍यो, अस्पताल जानुपर्‍यो, आउन सकिनँ’ भनिन् । सुनिताले ‘ माकेले पनि कार्यक्रम गर्ने रै’छ त’ भन्दै ‘मैले केही सहयोग गर्नुपर्ने भए भन्नुस् है’ भनेकी थिइन् ।

कार्यक्रमको अघिल्लो दिन भदौ १ गते क. चित्रबहादुर आले र देवनारायण साह कार्यक्रम स्थलको तयारीमा लाग्नुभयो । हामी सबै आ–आफ्नो भूमिकामा लाग्यौं । पूर्वी कमान्ड इन्चार्ज क. सुदर्शन, केन्द्रीय सल्लाहकार समितिका सचिव क. चित्रबहादुर आले, सामना परिवारको टोलीसहित सबै अतिथिहरू अघिल्लो दिन नै बर्मझिया पुगिसकेका थिए । भदौ २ गते बर्मझियामा रामवृक्ष यादवको स्मारक भएको स्थलमा बिहानै हामी पुग्यौं । हामी पुग्दा पूर्व सहमति विपरीत प्रचण्ड गुटले पनि कार्यक्रमका लागि मञ्च बनाउने तयारी गर्दै गरेको देखियो । उनीहरूले पूर्व सहमति विपरीत मञ्च बनाउन थालेपछि हामीले त्यो स्थान छोडेर अलि पर चौतारो (पिपलगाछी) मा मञ्च बनाउने, झगडा नगर्ने सोच बनायौं । मञ्च बनाउने तयारी गर्दै गर्दा प्रचण्ड गुटका महादेव यादवले २० जना मान्छे लिएर हामीलाई घेर्न आए । मञ्च उखेल्न, भत्काउन सुरु गरे । हामीसँग प्रतिवाद गर्नुको विकल्प थिएन । स्थानीयको भीड लागिसकेको थियो । हामीले उनीहरूलाई “तिमीहरूले गल्ती ग¥यौ माफी माग” भन्यौं । उनीहरूले ‘गौरकाण्ड दोहोर्‍याउने’ धम्की दिए । लाग्थ्यो गौरहत्याकाण्ड मातृका र महादेवकै नेतृत्वमा भएको थियो । सबै विषय खुलस्त राखेपछि स्थानीय जनताले हामीलाई समथन गरे । भीडले प्रचण्ड समूहलाई निरुत्साहित ग¥यो । त्यसपछि उनीहरू अलिकति हच्किए ।

हामीले आफ्नो नेतृत्वसमक्ष परिस्थितिको जानकारी गरायौं । त्यसलगत्तै प्रहरीको टोली कार्यक्रमस्थलमा आइपुग्यो । प्रहरीले पनि स्थानीय प्रशासनसँग अनुमति नलिएको भन्दै सरकारी पार्टीको पक्षमा मत जाहेर गर्‍यो । क. सन्देशले प्रचण्ड समूहसँग समझदारी गर्नेगरी पाका नेता श्रवण यादव आउँदै गरेको जानकारी गराउनुभयो । श्रवण यादव आएपछि दुई पक्षका बीचमा छलफलको वातावरणको बन्यो । श्रवण यादवले पनि पूर्व सहमतिअनुसार नै गर्दा राम्रो हुन्छ भन्नुभयो तर प्रचण्ड समूहको यादव गुटले श्रवण यादवको सुझावसमेत मानेन । त्यसैबेला क. सन्देश कार्यक्रमस्थलमा आउनुभयो । फेरि छलफल भयो । महादेव पक्षकाले उग्र भएर ‘गौर’ बनाउने धम्की दिइरहे । विश्वनाथ साह र श्रवण यादवले सम्झाउँदा पनि नमान्ने देखेपछि हामीले कार्यक्रम स्थल सार्नु नै उचित हुने ठान्यौं । प्रहरीले पनि सार्न भनिरहेको थियो ।

हामीले रामवृक्षलाई आक्रमण गरी मरणासन्न अवस्थामा फालिएको ‘नहरचोक’ मा कार्यक्रम सार्ने निधो ग¥यौं । जुन स्थान पूर्व घोषित स्थलबाट १ किमी टाढा पर्दथ्यो । दुईजना प्रहरीले त त्यहाँ पनि हुँदैन भन्दै थिए । सायद ती प्रहरी पनि प्रचण्ड समूह समर्थक थिए होलान् ।
हामीले नहरचोकमा तयारी गर्दै गर्दा जनसमूह एकत्रित हुनेक्रम चलिरहेको थियो । एक्कासी मातृका यादव, महादेव यादवसहितको दुई बस मान्छे कार्यक्रम स्थलमा आए एक्कासी मातृकाले नै सन्देश पौडेलमाथि आक्रमण गरे । त्यसपछि प्रेमप्रकाश वली ‘धुमिल’ माथि खनिए । मातृकाले ‘ जनयुद्धमा मधेसी मार्ने पहाडिया’ भन्दै गाली गर्दै थिए । उनी फोहोर बोल्दै थिए । दारु खाएर हो कि के हो ? भन्ने चाहिँ थाहा भएन । मातृकाले हान्न उठाएको ढुंगो हामीले खोस्यौं । केही समयपछि सशस्त्र प्रहरीको टोली पुग्यो ।

त्यसबेला प्रहरी चौकीका प्रहरी निरीक्षक विजय यादवलाई हामीले आक्रमणकारीलाई पक्राउ गर भन्यौं तर उसले उल्टै हाम्रा केन्द्रीय सदस्यहरू सन्देश पौडेल, देवनारायण यादवसहित राजु कार्की, प्रेमप्रकाश वली, लक्ष्मण पौडेल र आइडल चौधरीलाई गिरफ्तार ग¥यो । उपस्थित जनतालाई प्रचण्ड समूह र प्रहरीको संयुक्त टोलीले लखेट्यो । बन्दोबस्तीका सामान र मञ्च लुटियो । रातो खबर साप्ताहिक लुटेर नष्ट गरियो । मातृका यादवले प्रेमप्रकाश वलीलाई ‘भाग् भाग्’ भन्दै थिए । भागेको भए ‘चोर चोर’ भन्दै लखेटेर मार्ने योजनामा रहेछन् । त्यसैले उनीहरूले पटक–पटक गौरकाण्ड बनाउने धम्की दिएको हुन सक्छ । ब्युरो इञ्चार्ज क. सन्देशसहित गिरफ्तार भएको बेला पूर्वबाट बर्मझिया आउँदै गरेका जनतालाई धनुषा जिल्लाकै पोर्ताहा र पश्चिमबाट आउँदै गरेको जनसमूहलाई बर्दिबासमा नै नाराबाजी तथा प्रदर्शन गरेका थिए । त्यही विरोध–सभा गरियो । बर्मझियाको घटनाले ‘सत्ताबाहेक सबै भ्रम हो’ र ‘बन्दुक नभएको जनतासँग आफ्नो भन्ने केही हुँदैन’ भन्ने यथार्थलाई प्रकट गरेको छ । त्यसले सत्ताको ज्यादतीविरुद्ध प्रतिरोधको अनिवार्यतालाई पुष्टि गरेको छ ।

२०७४ भदौ १२ गते ६ : ४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :