काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष शर्मालाई सिंहदरबारभित्रै कालोमोसो

काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष शर्मालाई सिंहदरबारभित्रै कालोमोसो

काठमाडौंः नोबेल कलेज र काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले शिक्षा मन्त्रालय परिसर सिंहदरबारभित्रै कालोमोसो दलेका छन् । शिक्षा मन्त्रालयमा भएको सर्वपक्षीय बैठक सकेर बाहिर निस्कने क्रममा मन्त्रालय परिसरमै सोही कलेजमा अध्ययनरत विद्यार्थीले शर्मालाई कालोमोसो दलेका हुन् ।

विद्यार्थीले नमस्कार गरेर शर्मालाई कालोमोसो दलेका थिए । कालोमोसोले पोतिएका शर्मा मन्त्रालयमा नै मुख धोइ गाडी चढेर सिंहदरबारबाट निस्किएका थिए । कालोमोसो दल्ने पाँच जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । उनीहरूले आयोगले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विरोध गर्दै आइरहेका छन् ।

शुक्रबार मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भएको बैठकले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो । बैठकले विद्यार्थीहरुको छात्रावास सम्बन्धी समस्यालाई शिक्षण संस्था तथा अभिभावक एवं विद्याथीहरुबीच आपसी छलफल गरी सहमतिमा निरुपण गर्ने र यसका लागि विश्वविद्यालयले सहजीकरण गर्ने निर्णय बताइएको छ ।

यस्तै एमबीबीएस समेतका कार्यक्रमका लागि शुल्क निर्धारण गर्ने क्रममा कुल शुल्क अन्तर्गत विश्वविद्यालय, विषयगत काउन्सिल र शिक्षण संस्थालाई बुझाृनुपर्ने शीर्षकगत रकमसमेत निर्धारण गर्ने कार्यमा आयोगले तत्काल कार्यरम्भ गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा देखिएक असहजता निरुपणका लागि विज्ञ, सम्बन्धित निकाय र सरकारवाला पक्षसँग छलफल र परामर्श गरी संशोधनका सम्बन्धमा आयोगले सरकारलाई राय परामर्श उपलब्ध गराउने भएको छ । त्यस्तै, चिकित्सा शिक्षाको विभिन्न शैक्षिक कार्यक्रमहरूमा सिट रिक्त रहने समेतको विषयलाई मध्यनजर गरी एकीकृत प्रवेश परीक्षा प्रणालीमा आवश्यक संशोधन प्रक्रिया अघि बढाउने निर्णय पनि बैठकले गरेको मन्त्रालय स्रोत जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल, चिकित्सा शिक्षा आयोगका पदाधिकारी, मेडिकल कलेज सञ्चालक, विद्यार्थीसहित भएको बैठकमा भएका निर्णयप्रति मेडिकल सञ्चालकहरुले भने ‘नोट अफ डिसेन्ट’ अर्थात फरक मत लेखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :