गाउँगाउँ पुग्यो युवाको केन्द्रीय अभियान टोली

गाउँगाउँ पुग्यो युवाको केन्द्रीय अभियान टोली

सिराहा : युवा सङ्गठन नेपालको केन्द्रीय अभियान जनमतसङ्ग्रहका लागि सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २०७८ टोली नम्बर ४ ले पुस १९ गते कर्जन्हा ९ महरा टोलमा सावनकुमार यादवको संयोजकत्वमा २३ सदस्यीय टोल एकाइ समिति गठन गरिएको छ । अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले सुजिताकुमारी शाहको संयोजकत्वमा १५ सदस्यीय महराटोल एकाइ समिति गठन गरिएको छ ।

पुस २० गते कर्जन्हा ७ मरेवा टोलमा युवा सङ्गठन नेपाल केन्द्रीय अभियान टिम नम्बर ४ ले कर्जन्हा ७ मरेवा टोलमा जनभेला सम्पन्न भएको छ । जनभेलाले महेश मण्डलको संयोजकत्वमा २३ सदस्यीय मरेवा टोल एकाइ समिति गठन गरेको छ । पवीकुमारी मण्डलको संयोजकत्वमा १५ सदस्यीय अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी मरेवा टोल एकाइ समिति गठन गरिएको छ ।

भेलामा पूर्वसभासद् तथा श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सचिव रामकुमार पासवानले अब दलाल संसदीय व्यवस्थाले जनताको हित नगर्ने भएकाले संसदीय चुनावमा भोट नहाल्न अपिल गरे । ३ बुँदे सहमति सरकारले पालना नगरेको भन्दै उनले खेद प्रकट गरे । अविनाशले भ्रष्टाचारीहरुका विरुद्ध सशक्त आन्दोलनमा लाग्नुपर्ने र गाउँबस्तीबाट युवाहरु सङ्गठित गर्दै दलाल, भ्रष्ट, कमिसनखोर, राष्ट्रघाती, जनघाती, चक्रीय ब्याजका नाममा जनता लुट्ने व्यवस्थाका विरुद्ध ठूलो जनआन्दोलन गर्नुपर्ने बताए । मरेवाटोलमा पार्टीलाई जनताले माया गरेको र युवाहरुको उपस्थिति हेर्दा एकीकृत जनक्रान्ति सफलताको नजिक पुगेको उनको भनाइ थियो ।

भेलामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सिराहा–सप्तरी इन्चार्ज बलवान, पूर्वसभासद् तथा श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सचिव रामकुमार पासवान, युवा सङ्गठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा टिम नम्बर ४ का प्रमुख विचारमान, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य अविनाश, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य जीवन, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी नेत्री मन्दिरा लामालगायत नेताहरुको उपस्थिति थियो ।. जनभेलामा रामकुमार पासवान, अविनाशलगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन जीवनले गरेका थिए ।

सिराहाको कर्जन्हा ७ प्रेमनगर गाउँमा पूरै बस्तीमा युवा मार्च पास्ट सम्पन्न भएको छ । हरेक चोकमा भित्तेलेखन पनि गरिएको युवा सङ्गठन नेपाल केन्द्रीय अभियान ४ नम्बर टोलीले जनाएको छ । सिराहा जिल्लामा अभियान १ महिना सञ्चालन हुने बताइएको छ ।

युवा सङ्गठन नेपालको केन्द्रीय अभियान नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगरले पुस ११ गते उदयपुरको गाईघाटमा उद्घाटन गरेका थिए । अभियानको समापन फागुन ११ गते झापामा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :