महासचिव विप्लवको उपस्थितिमा नेकपाले भव्य रूपमा मनायो माओ दिवस

एकीकृत जनक्रान्ति पूरा गरी वैज्ञानिक समाजवाद लागू गर्छौं : विप्लव

महासचिव विप्लवको उपस्थितिमा नेकपाले भव्य रूपमा मनायो माओ दिवस

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टीले महासचिव विप्लवको उपस्थितिमा भव्य रूपमा माओ दिवस मनाएको छ । नेकपा कपिलवस्तुद्वारा शिवगढीमा रहेको नेकपा केन्द्रीय सम्पर्क कार्यालयको प्राङ्गणमा आइतबार नेकपाका महासचिव विप्लवको प्रमुख आतिथ्य र अन्य नेता–कार्यकर्ताको उपस्थितिमा १२९ औँ माओ दिवस भव्य रूपमा मनाइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि महासचिव विप्लवले १२९ औँ माओ दिवसका अवसरमा पार्टीका सम्पूर्ण नेता–कार्यकर्ता तथा स्थानीय बासिन्दासँग शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रममा दलाल पुँजीवादी तथा फासिवादी राज्यले लामो समय जेलमा बन्दी बनाएर हालै रिहा भएका दुर्गाबहादुर रोकालाई सम्मान एवम् अभिनन्दन गरिएको थियो ।

कार्यक्रममा महासचिव विप्लवले माओले सैन्य कार्यदिशा र राजनीतिक कार्यदिशा संश्लेषण गरेको बताए । माओले सन् १९३८ मा ‘दीर्घकालीन युद्ध’, ‘युद्ध र रणनीतिका समस्याहरू’ लेखेर सर्वहारा वर्गको सैन्य कार्यदिशा स्पष्ट पारेको उनले बताए । ‘सुरुमा दुस्मन बलियो हुन्छ, हामी कमजोर हुन्छौँ । त्यसकारण हाम्रो नीति रणनीतिक रक्षा हुन्छ । जब दुस्मन र हामी बराबरी अवस्थामा पुग्छौँ तब हाम्रो नीति रणनीतिक सन्तुलन हुन्छ । जब दुस्मन कमजोर हुन्छ र हामी बलिया हुन्छौँ तब हाम्रो कार्यनीति रणनीतिक आक्रमण हुन्छ । यसरी दीर्घकालीन युद्ध विजयी भएर नयाँ जनवादी क्रान्ति पूरा हुन्छ’, माओको भनाइ उद्धरण गर्दै उनले भने । सन् १९४० मा माओले बल्ल नयाँ जनवादी राजनीतिक कार्यदिशा स्पष्ट पारेको पनि महासचिव विप्लवले बताए ।

कार्यक्रममा महासचिव विप्लवले नेपाली र विश्वका श्रमजीवी तथा उत्पीडित जनतालाई साक्षी राखेर नेपालमा एकीकृत जनक्रान्ति पूरा गर्ने र वैज्ञानिक समाजवाद लागू गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले भने, ‘१२९ औँ माओ दिवसका सन्दर्भमा हामी महान् मालेमावादको विकास गर्ने र लालझन्डा बोकेर लालझन्डाकै बदनाम गर्ने गद्दारहरूको जरा उखेल्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’

कार्यक्रममा सम्मानित दुर्गाबहादुर रोकाले नेकपामाथि प्रतिबन्ध लगाउनु ७ दिनअगाडि प्रहरीले २०७५ साल फागुन २३ गते आफूलाई कपिलवस्तुको शिवगढीबाट नेकपाको कार्यकर्ता भएकै आरोपमा गिरफ्तार गरेको र प्रहरीले गिरफ्तार गरी चरम यातना दिनुका साथै गोपनीयता नखुलाएको आरोपमा चन्द्रौटा इलाका प्रहरी चौकीको ट्वाइलेटमा लगी खुट्टामा गोलीसमेत प्रहार गरेको बताए । शिवगढीमा सरकारले गरेको दमन र त्यसप्रकारको निर्मम घटनाप्रति सर्वत्र विरोध भएको थियो ।

प्रहरीले ‘हतियार भएको विशेष सूचना’ भन्दै अप्रेसन गरिएको दाबी गरे पनि सरकारले आधिकारिक सूचना अहिलेसम्म बाहिर ल्याएको छैन । गिरफ्तार पछि अदालतले दुई वर्ष ६ महिना कैद र चार हजार छ सय रूपैयाँ जरिबाना फैसला गरेको बताए ।

तौलिहवा कारागार आफूलगायत नेकपाका तत्कालीन लुम्बिनी ब्युरो सदस्य तथा रूपन्देही इन्चार्ज सङ्गम, नवीन थारू र गणेश चौधरीलाई भेट्न महासचिव विप्लव, केन्द्रीय सदस्य कृतिलगायत नेता २०७७ चैत ३ गते तौलिहवा कारागार पुगेको र तीन वर्षपछि आफू रिहा भएको उनले बताए ।

१२९ औँ माओ दिवसमा नेकपाका केन्द्रीय सदस्यहरु विजय, सुशील, सञ्जीव, असल, विशेष समिति सदस्य सन्तोषीले शुभकामना अदानप्रदान गरेका थिए । नेकपा केन्द्रीय सदस्य तथा कपिलवस्तु र अर्घाखाँची इन्चार्ज जुझारुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नेकपा कपिलवस्तु सेक्रेटरी कमल केसीले गरेका थिए ।

कार्यक्रममा युवा सङ्गठन नेपाल कपिलवस्तु जिल्ला अध्यक्ष सगर, विजयनगर गाउँपालिका इन्चार्ज राजेन्द्रप्रताप शाह, जनपत्रकार सङ्गठन जिल्ला अध्यक्ष अनिल, युवा सङ्गठन नेपाल केन्द्रीय सदस्य बादललगायत पार्टीका नेता, कार्यकर्ता र स्थानीय बासिन्दाको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :