अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी विषयक अन्तरक्रिया सम्पन्न

अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौँः अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल चीन जनमैत्री प्रतिष्ठानद्वारा शनिबार काठमाडौँको प्रज्ञाभवन कमलादीमा आयोजित कार्यक्रमका वक्ताहरुले अमेरिकी लोकतन्त्र मुठ्ठीभर पूँजीपतिहरुको लोकतन्त्रमा बदलिएपछि यसमा नयाँ ढंगको संकट मडारिएको र त्यो संकटलाई सामरिक नीतिद्वारा हल गर्न एमसीसी अगाडि सारिएकोले नेपालले यस विरुद्ध सशक्त आन्दोलन उठाउनु पर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख ध्रर्मेन्द्र वास्तोला कञ्चनले अमेरिकी डेमोक्रेसी वास्तवमा डेमोक्रेसी नभएर डिक्टरसिप हो भन्दै यसले विश्वका उत्पीडित जनता र राष्ट्रहरुमा लुटपाट मच्चाएको बताए । आफ्नो प्रविधि, सैन्यशक्ति र नवउदारवादी आर्थिक नीतिको बलमा विश्वको सम्पत्ति केन्द्रीकरण गरिरहेको समेत बताए ।

उनले भने, `बरु पूर्वीय देशहरुमा बसुदैव कुटुम्बकम भने ऐतिहासिक मान्यता थियो, यद्यपी यो अनुसार हाम्रो संभ्यता विकसित हुन पाएन, यसको सही प्रयोग अब वैज्ञानिक समाजवादमा हुनेछ ।`

नेता कञ्चनले अमेरिकी डेमोक्रेसी र विदेश नीतिको सिद्धान्त नै आतंकवादी चरित्रको रहेकोले इराक, इरान, अफगानिस्तान, सिरियादेखि संसारभरि उनीहरुले गरिरहेको सैन्य आतंक नै पछिल्लो उदाहरण भएको प्रष्ट पारे । विदेश विभाग प्रमुख समेत रहेका कञ्चनले एमसीसी सम्झौता शुरुवात गर्नेहरुलाई विगतमा यसका सबै प्राब्धान थाहा नभएपनि अब सबै कुराहरु जनस्तरमा आइसकेकाले जनता र देशविरुद्ध षडयन्त्र नगर्न अनुरोध गरे ।

अन्तरक्रियामा विशिष्ट अतिथिको रुपमा आफ्नो धारणा राख्ने क्रममा एमाले नेता भीम रावलले भने, `यो सम्झौता गर्नेहरुले नेपाली जनतालाई मुर्ख ठानेका होलान् तर उनीहरु बाहेक अरु कोही मुर्ख छैनन्, हामी स्वाधिन र स्वतन्त्र नागरिक बन्न चाहन्छौँ भने एमसीसी विरुद्ध लड्नु बाहेक अर्को विकल्प छैन । हाम्रो मातृभूमिको स्वाधिनता कुनै पनि पार्टी र नेताहरु भन्दा माथि छ, हामी कुनै पनि शक्ति राष्ट्रको द्वन्द्वमा नेपालको कानुन र विदेश नीतिको प्रयोग गर्न दिदैनौँ ।`

एमसीसीको विरोध गर्नुको कारणबारे प्रष्ट्याउदै नेता रावलले भने, `एमसीसी अनुदान होइन, लगानी हो भन्ने कुरा स्वयम अमेरिकी राजदुतले भनिसकेका छन्, यसको कुल बजेटलाई ब्रेकडाउन गरेर हेर्दा पनि करिब ३५/३६ प्रतिशत मात्रै तल जाने देखिन्छ, यो केही द्वन्द्वरत देशहरु र ठूला देशहरुका नियन्त्रण र प्रभावमा भएका देशरुमा लागु गर्ने खोजिएको छ, यसको आयोजनामा समेत नेपाल सरकारको लोगो हुन्न, एमसीसीका कर्मचारीले नेपालमा कुनै गैरकानुनी काम गरेमा समेत हाम्रो कानुन आकर्षित हुन मिल्दैन ।`

विश्वमा एमसीसी कार्यान्वयन सम्झौता तोड्ने देशहरु समेत ४९ ओटा पुगिसकेको स्पष्ट पारे । एक फरक प्रसंगमा उनले प्रश्न गर्दै भने, `एनसिएलले ६४ अर्ब कर नतिरेर गएको छ, यसको ५० करोड पछि लाग्ने ? भारत र चीनको बीच अन्यन्तै संवेदनशील भू–राजनीतिक अवस्थितिमा रहेको देश नेपालमा एमसीसी संसद्वारा पास गर्ने हो भने अन्य देशहरुले पनि सबै सहायता सम्बन्धी योजनाहरु यसरी नै पास गर्न भनेमा के गर्ने ? शेर बहादुर जी, ओली जी, पुष्पकमल जी, लगायत जो जो यसका पक्षधर हुनुहुन्छ उहाँहरुसँग म खुल्ला मञ्चमा बहस गर्न तयार छु ।`

यस्तै कार्यक्रमका विशिष्ट अतिथि, नेपाल सरकारका पूर्व मूख्य सचिव एवं चीनका लागि पूर्व नेपाली राजदुत लिलामणी पौडलले सार्वभौम एवं स्वतन्त्र राष्ट्र नेपालले आफ्नो भूमि अर्को छिमेकी राष्ट्रविरुद्ध प्रयोग गर्न नमिल्ने भएकाले आफूहरुले एमसीसीको विरोध गरेको बताए ।

उनले भने, `यसका शर्तहरुले हाम्रो सार्वभौमितालाई खुम्च्याउँदै र छिमेकीहरुसँग लड्न बाध्य बनाउँछ, यो नै यस्तो र पहिलो योजना हो, जसलाई नेपालमा संसदबाट अनुमोदन गर्ने भनिएको छ, हामी विकास विरोधी होइनौँ ।`

खुल्ला विश्व विद्यालयका दर्शनशास्त्र सम्बन्धि विषयका ज्ञाता, सह प्राध्यापक डा. खग्रेन्द्र प्रसाइले कोरोनाका विभिन्न भेरियन्ट जस्तै माक्र्सवादका पनि अनेक भेरियन्ट छन् भन्दै अमेरिकामा १ प्रतिशतको पनि १ प्रतिशतले सत्ता कब्जा गरेकोले यसलाई असली लोकतन्त्र भन्न नसकिने बताए । पूँजीवादको संकट एकदम नजिक रहेकाले समाजवाद अपरिहार्य जस्तो हुँदै गएको विद्धानहरुको धारणा पनि उनले राखे ।
अमेरिकी विदेश नीतिबारे चर्चा गर्दै उनले भने, `ओबामाले चीनसँग लडेर जानेभन्दा सहकार्यमा जोड दिएका थिए तर ट्रम्प आइसकेपछि चीनलाई सामरिक रुपमै तह लगाउँनु पर्छ, चीन अमेरिकाको शत्रु देश हो भनि अफिसियल डकुमेन्टमा नै उल्लेख गरिएको छ, त्यही रणनीतिक योजना मुताविक नै एमसीसी आउन खोजेकोले यसका शर्तहरु संशोधन गरेर पनि पास गर्न हुन्न, उनीहरुले फसाउँछन्, पूँजीवादसँग पर्याप्त सूचनाहरु छन् उनीहरु हामी भन्दा बाठा छन् ।`

कार्यक्रममा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले समेत मन्तव्य राखेका थिए, कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष भेषराज भुसालले गरेका थिए भने सञ्चालन नारायण न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :