माओ दिवससँग जोडिएको सन्दर्भ

माओ दिवससँग जोडिएको सन्दर्भ

नेपालमा माओ दिवसलाई विशेष महत्व दिइन्छ । यसका पछाडि कैयौँले नेपालबाट चीननजिक भएका कारण कम्युनिस्टहरूमा त्यसको प्रभाव हो भन्ने जसरी अथ्र्याउँछन् । वास्तविकतामा त्यस्तो नभई माओले विश्व–साम्राज्यवाद– पुँजीवाद र संशोधनवादका विरुद्ध र वैज्ञानिक समाजवाद–साम्यवादका पक्षमा जुन स्तर र मात्रामा लड्नुभयो त्यो क्रान्तिकारी कम्युनिस्ट नेताहरूले लडेको सबैभन्दा ठूलो लडाइँ थियो जुन लडाइँले विश्वभरिका कम्युनिस्टहरूलाई निकै ठूलो प्रेरणा, शक्ति र उत्साह पैदा गरिरहेको छ । आजको नेपाली सन्दर्भमा यसले झनै मेल खाइरहेको छ ।

विश्व–राजनीतिमा प्रायः सत्ता, कुर्सी, पद र अवसरलाई केन्द्रमा राखेर काम गरिन्छ । आजको विश्व र नेपालमा त यसको बिगबिगी नै छ । जो सरकार र कुर्सीमा पुग्छ उही ठीक, जसले फाइदा सोहोर्न सक्छ उही सक्षम, जसले स्वार्थको घैँटो भर्न सक्छ उही योग्यजसरी व्याख्या–विश्लेषण गरिन्छ । तर माओले कहिल्यै पनि त्यसरी सोच्नुभएन । उहाँले राजनीतिक सङ्घर्ष र कार्यलाई सधैँ श्रमिक जनताको हित, देशको स्वाधीनता र कम्युनिस्ट आदर्शसँग जोडेर सञ्चालन गर्नुभयो । उहाँले कहिल्यै पनि आफ्नो गुट, परिवार र निजी फाइदाका लागि सोच्नुभएन । हरेक सोचाइ, नीति र कामहरू बहुसङ्ख्यक श्रमिक जनताको हित र सुख–दुःखसँग जोडेर निर्माण गर्नुभयो जुन सोचाइ र शैलीले विश्वभरिका श्रमिक वर्ग र क्रान्तिकारीहरूलाई निरन्तर प्रेरित गरिरहेको छ ।

माओले जहिले पनि श्रमिक वर्ग, जनता, देश र अन्तर्राष्ट्रिय भावनालाई पकडेर नीति र निर्णयहरू गर्नुभयो । श्रमिक वर्ग, जनता र देशका विरुद्ध छ भने जतिसुकै शक्तिशाली देखिए पनि विश्व–पुँजीवाद–साम्राज्यवादसँग झुक्नुभएन बरु सशक्त विद्रोह गर्नुभयो र प्रतिरोध सङ्घर्ष सञ्चालन गर्नुभयो । नामी भनिएको जापानी साम्राज्यवादलाई लखेट्न च्याङ काईसेकसँग मिल्नुभयो तर हार खानुभएन । जापानलाई लखेटेपछि जनतामाथि हैकम र लूट मच्चाउने चिनियाँ पुँजीवादका विरुद्ध भीषण वर्गयुद्ध हाँक्नुभयो । अन्ततः जनताको विजय भयो र चीनमा नयाँ जनवाद–वैज्ञानिक समाजवाद स्थापना भयो । माओले जापानविरुद्ध प्रतिरोध युद्ध चलाउँदा होस् वा च्याङविरुद्ध जनमुक्ति युद्ध चलाउँदा होस्, एकथरी मान्छेहरूले माओलाई दुस्साहसवादी र युद्धवादीको आरोप लगाउँदै सफल हुन नसक्ने प्रचार चलाएका थिए । तर उनीहरूको बुझाइ गलत साबित भयो र चीनसँगै चिनियाँ जनताले सबै उत्पीडनबाट मुक्ति पाउन सफल भए । यसले साबित गर्यो– शक्ति र पुँजीले केही समय प्रभाव जमाउन सके पनि अन्तिम सफलता पार्टी नेतृत्वले लिने सही विचार, नीति र श्रमिक जनताको साथ, सहयोग एवम् सहभागिताद्वारा निर्धारण हुन्छ ।

माओले श्रमिक वर्ग, जनता र अन्तर्राष्ट्रिय वर्गलाई क्षति पुग्ने देखेपछि आफ्नै सहयोद्धा, सरकार र पार्टी समितिहरूसँग पनि कठोर सङ्घर्ष गर्नुभयो । श्रमिक जनताको हितका लागि आफ्नो पद, हैसियत र सुविधालाई सामान्य ठान्नुभयो । दक्षिणपन्थी बाटो लिने छन तु स्युसँग लडेर क्रान्तिलाई अगाडि बढाउँदा होस् वा लीली सान र वाङ मिङको यान्त्रिक भौतिकवादी एवम् वामपन्थी अवसरवादका विरुद्ध लडेर दीर्घकालीन जनयुद्धको कार्यदिशा विकास गर्दा होस्, माओले निकै अप्ठ्याराहरूसँग लड्नुपर्यो । उहाँलाई वाङ मिङहरूले कारबाही गर्दासमेत नरोकिएर क्रान्तिलाई अगाडि बढाउनुभयो । अन्ततः शक्तिशाली भनिएका वाङ मिङहरू पराजित भए र माओको विचारले सफलता हासिल गर्यो ।

माओले श्रमिक वर्ग र जनताका पक्षमा विद्रोहको समयमा मात्र होइन, सत्ता प्राप्त भएर आफैँले सत्ता सञ्चालन गर्दा पनि कठोर सङ्घर्ष चलाउन तयार हुनुभयो । यो सङ्घर्षमा पनि उहाँले आफ्नो हैसियत र पदको पर्वाह नगरेर श्रमिक जनता, कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवाद–साम्यवादका पक्षमा प्रत्यक्ष नेतृत्व गर्नु भयो । आफैले निर्माण गरेको सत्ता भित्र आफै अल्पमतमा परेर कैयौँ घेराबन्दिमा पर्दा पनि उहाँ विचलित हुनु भएन बरु श्रमिक जनतालाई नयाँ विद्रोहका लागि अपिल गर्न पछि पर्नु भएन । अन्ततः पद र शक्तिको दुरूपयोग गरेर गलत विचार लाद्न चाहने दक्षिणपन्थीहरूको पराजय भयो ।

माओले श्रमिक वर्ग र जनताका पक्षमा उभिँदा साम्राज्यवादी र पुँजीवादी शक्तिका विरुद्ध मात्र क्रान्ति गर्नुभएन । अपितु अद्भूत साहस गर्दै आफैँले स्थापना गरेको नयाँ जनवादी–वैज्ञानिक समाजवादी सत्तामा देखिएका विचलन र खराबीका विरुद्धसमेत क्रान्ति गर्नुभयो । महान् सर्वहारा सांस्कृतिक क्रान्तिका रूपले स्थापित यो क्रान्ति विश्वराजनीति र कम्युनिस्ट आन्दोलनका लागि अद्वितीय पहल थियो । अनेकौँ घेराबन्दी र खतराका बीच पुराना सत्ता र शासक वर्गका विरुद्ध मात्र होइन, नयाँ सत्तामा हुर्किएको शोषक वर्गका विरुद्ध पनि क्रान्ति छेड्नु कल्पनाबाहिरको विषय थियो । यसले संसारभरिका कम्युनिस्टलाई वैज्ञानिक दृष्टिकोण र वैज्ञानिक समाजवाद निर्माण गर्नका लागि शक्तिशाली हतियार उपलब्ध गरायो ।

यतिबेला नेपाली राजनीतिक सन्दर्भसँग माओ दिवसलाई जोडेर हेर्दा निकै घतलाग्दो छ । कारण हाम्रो देशमाथि विदेशी साम्राज्यवादी हस्तक्षेप, देशभित्र दलाल पुँजीवादी सत्ताको अत्याचार तथा उत्पीडन र संशोधनवादी प्रदूषण व्यापक रूपले बढिरहेको छ । यी तिनै समस्याका विरुद्ध लड्नका लागि माओको शिक्षा र दृष्टिकोण विशेष महत्वका छन् । अर्को कुरा, नेपालमा श्रमिक जनताले नेकपाको नेतृत्वमा दलाल पुँजीवादी सत्ताविरुद्ध क्रान्ति सञ्चालन गरिरहेका छन् र वैज्ञानिक समाजवाद प्राप्त गर्ने चाहना राखिरहेका छन् । स्पष्ट भन्दा माओका विचारलाई सही प्रकारले नपकडेसम्म नेपाली जनताका तीन वैरीसँग जोडदार ढङ्गले सामना गर्न र तीमाथि विजय हासिल गर्न सकिनेछैन ।

हामी देखिरहेका छौँ– आज अमेरिकी साम्राज्यवादी हस्तक्षेप निकै बढेर डरलाग्दो ठाउँमा पुगेको छ । त्यसैगरी भारतीय साम्राज्यवादी हस्तक्षेप पनि निरन्तर जारी छ । समयमै हामीले प्रतिवाद गर्न सकेनौँ भने नेपालले राष्ट्रिय स्वाधीनताको लामो लडाइँमा प्रवेश गर्नुपर्ने बाध्यता आइलाग्न सक्नेछ । संसद्‌वादी पार्टी र तिनका नेताहरू आफ्नो तुच्छ स्वार्थका लागि अमेरिकी र भारतीय हैकमका सामु थरथर काँपिरहेका छन् । उनीहरूले साम्राज्यवादीको स्वार्थभन्दा बाहिर गएर सफल नहुने मात्र होइन, बाँच्नै गाह्रो हुनेजस्तो नालायक अभिव्यक्ति दिँदै हिँडेका छन् । तर हामीले बुझ्नुपर्छ हाम्रा श्रमिक जनता र देशभन्दा अमेरिकी एवम् भारतीय हस्तक्षेप सामान्य विषय हुन् । उनीहरूले हाम्रा जनता र देशमाथि कुदृष्टि लगाउँछन् र हामीलाई २१ औँ सदीमा आफ्नो निर्देशन र नियन्त्रणमा चल्ने जस्तो ठान्छन् भने हामी अलिकति पनि तर्सिन र हच्किनु हुँदैन । हामीले कुनै पनि साम्राज्यवादी कागजी बाघका विरुद्ध डटेर प्रतिरोध सङ्घर्ष सञ्चालन गर्न तयार हुनुपर्छ ।

पछिल्लो समय देशको दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था पनि नेपाली जनताको दुर्दशा बनिरहेको छ । जनजीवनका चौतर्फी क्षेत्रमा सङकट बढ्दै गएका छन् । यसले विदेशी मालिकको इसरामा जनतामाथि असीमित शोषण गरिरहेको छ । यो सत्ता र सत्तासीन वर्गलाई आफ्नो स्वार्थ, वैभव र सुखभन्दा अरू कसैको मतलब छैन । जनताले जुन राजनीतिक परिवर्तन गरे, आफ्नो श्रम र पौरखद्वारा पुँजीको उत्पादन गरिरहेका छन्, तिनको जीवनमा कुनै परिवर्तन छैन । सामान्य जीवन निर्वाह गर्नका लागि बेचिनुपर्ने बाध्यता छ । श्रमिक जनता र सत्ताका बीचमा सङ्घर्ष चलिरहेको छ । तसर्थ यो सत्ताका विरुद्ध विद्रोह गर्न, यसको अन्त्य गर्न र श्रमिक जनताको वैज्ञानिक समाजवाद स्थापना गर्न हामीले कडा मेहनत र सङ्घर्ष गर्नुपर्छ । नेकपाको नेतृत्वमा एकीकृत जनक्रान्ति जसरी अगाडि बढिरहेको छ यसको सफलता र वैज्ञानिक समाजवादको स्थापनाबिना देश र जनताको उन्नत एवम् सुन्दर भविष्य असम्भव छ ।

हाम्रो देशमा देखापरेको अर्को समस्या कम्युनिस्ट आन्दोलनमा वर्ग विचलन र विचारको विचलन हो । सरकार, पद, अवसरका लागि सारा मूल्यमान्यताहरूलाई समाप्त पार्दै प्रतिक्रियावादी दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाकै महिमागान र पक्षपोषण गर्नेमा यो विचलन व्यक्त भइरहेको छ । श्रमिक वर्ग, समुदाय, जनता र देशको हितमा अन्तिमसम्म मेहनत, श्रम, सङ्घर्ष, त्याग गर्नु कम्युनिस्टहरूको पहिचार र सिद्धान्त हो । तर नेपाली कम्युनिस्ट आन्दोलनमा पैदा भएको विचलनकारी प्रवृत्तिले प्रतिक्रियावादी संसदीय सत्ताका पक्षमा क्रान्तिकारी विद्रोही शक्ति, पार्टी र वर्गका विरुद्ध दमनसमेत गरिरहेको छ । यसले श्रमिक जनताबीच कम्युनिस्ट आन्दोलनलाई क्षति पुर्याउनुका साथै बदनाम गरिरहेको छ । हामीले यो प्रवृत्तिका विरुद्ध निर्मम सङ्घर्ष गर्नुपरेको छ । हरेक असल कम्युनिस्ट र कम्युनिस्ट समर्थक जनताका बीचमा वास्तविक कम्युनिस्ट सिद्धान्त, विचार, नीति र संस्कारलाई नयाँ आधारमा खडा गर्न जोड लगाउनुपर्छ । त्यसका लागि श्रमिक जनता, वैज्ञानिक समाजवाद–साम्यवादप्रति प्रतिबद्ध, सारा क्रान्तिकारी मित्रशक्ति र कम्युनिस्टहरूलार्ई एकताबद्ध बनाउने कम्युनिस्ट पार्टीको निर्माण गर्न अपरिहार्य छ । हामीले बुझ्नैपर्र्छ– कम्युनिस्टलाई कम्युनिस्ट बनाइरहने सङ्घर्ष गर्न बढी नै पेचिलो छ । तर कम्युनिस्टलार्ई निरन्तर रूपान्तरण गर्दै असल कम्युनिस्ट बनाइरहन सम्भव छ र सम्भव तुल्याउनु पनि पर्छ किनकि असल कम्युनिस्ट र कम्युनिस्ट पार्टीको निर्माणबिना दलाल पुँजीवादी सत्तामाथि विजय हासिल गर्न र वैज्ञानिक समाजवादी सत्ता प्राप्त गर्न पनि सकिँदैन ।

सारसङ्क्षेपमा भन्दा माओ दिवसको अन्तर्राष्ट्रिय सम्बन्ध तीन अन्तर्विरोध र सङ्घर्षसँग जोडिएको छ : पहिलो, संसारमा अत्याचार र उत्पीडन गरिरहेको विश्व–पुँजीवादी, साम्राज्यवादी प्रवृत्तिका विरुद्ध हरेक देशको सार्वभौमिकता र स्वाधीनताका पक्षमा सङ्घर्ष गर्नु, दोस्रो, पुँजीवादी–दलाल पुँजीवादी सत्ता चलिरहेका देशहरूमा त्यसले श्रमिक जनतामाथि लादिरहेको शोषण, दमन र उत्पीडनको अन्त्य गर्न र वैज्ञानिक समाजवाद स्थापना गर्ने क्रान्ति अगाडि बढाउनु, तेस्रो, विश्व–कम्युनिस्ट आन्दोलनमा देखापरिरहेका दक्षिणपन्थी, संशोधनवादी विचालनका विरुद्ध सङ्घर्ष गर्दै कम्युनिस्ट आन्दोलनलाई मार्क्सवाद–लेनिनवाद–माओवादको आलोकमा सङ्गठित गर्नु । विश्वभरिका श्रमिक जनतालाई वैज्ञानिक समाजवाद– साम्यवादको महान् लक्ष्यमा अग्रसर गराउनु । आउनुहोस्, हामी यिनै उद्देश्यलाई मनमस्तिष्कमा राखेर एकीकृत जनक्रान्तिको झन्डामुनि १२९ औँ माओ दिवस भव्यताका साथ मनाऔँ ।

१० पुस, २०७८

प्रतिक्रिया दिनुहोस्