बाह्रखरीको पीतपत्रकारिता : दाहाल समूहको सङ्कट टार्न विप्लवका नाउँमा मनगढन्ते कथा

काठमाडौँ: सत्ता सञ्चालन गरिरहेका संसद्वादी पार्टी वा समूहहरूमा सङ्कट चुलिएपछि तिनले विभिन्न बहाना बनाउँदै दुनियाँको ध्यान मोड्न कमसल सहारा खोज्छन् र कतिपय पीतपत्रकारितामा खप्पिस पात्रहरू त्यसको गोटी बनिदिन्छन् ।

पुष्पकमल दाहालले नेतृत्व गरेको माओवादी केन्द्र नाउँको संसद्वादी समूहको कथित राष्ट्रिय सम्मेलन मुखैमा आएको समयमा त्यस समूहभित्रका गुट, उपगुट र महागुटको व्यवस्थापन मुस्किल भएपछि र गुटहरूबीच विवाद चर्को भएपछि एकीकृत जनक्रान्तिका माध्यमबाट दलाल पुँजीवादी संसद्वादी व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद स्थापनामा लागिरहेको नेपाल कम्युनिस्ट पार्टीतिर विषय मोड्न उद्यत देखिएका छन् । त्यसको एउटा भद्दा उदाहरणका रूपमा ‘१२ खरी’ नाउँको अनलाइनमा गरिएको ‘सङ्कटमा विप्लव समूह : प्रकाण्ड ओली, बास्तोला वैद्य र विप्लव प्रचण्डसँग जान खोज्दै’ शीर्षकमा गरिएको कपोलकल्पित दुष्प्रचारलाई लिन सकिन्छ ।

दलाल संसद्वादमा सत्ताको लुछाचुँडी गर्न संसद्वादी पार्टी र समूहबीच मारामार हुन्छ । पार्टीमा गुट र उपगुटहरू निर्माण हुन्छन् । विवाद र तमासा हुन्छ । स्वार्थहरू मिल्दा एकताका नाउँमा मोर्चाहरू बन्छन् र स्वार्थ टकराउनासाथ विभाजन हुन्छन् । यस्तो खेतीमा बानी परेका संसद्वादीहरूलाई क्रान्तिकारी पार्टी एक ढिक्का भएर दलाल पुँजीवादमाथि बज्रिएको सह्य हुने कुरा पनि भएन । उक्त कलोलकल्पित, भ्रामक र पीत समाचार त्यसैको एउटा निकृष्ट उदाहरण हो ।

यसै सन्दर्भमा नेकपा केन्द्रीय कार्यालयले कथित १२खरीको उक्त समाचार भ्रामक, कपोलकल्पित र षड्यन्त्रमूलक रहेको भन्दै तीव्र निन्दा र भत्र्सना गरेको छ । पार्टी एकीकृत जनक्रान्तिको कार्यदिशा कार्यान्वयन गरिरहेको, दलाल पुँजीवादको विकल्पमा वैज्ञानिक समाजवाद स्थापनामा लागिरहेको अवस्थामा जनतालाई दिग्भ्रमित पार्ने र सत्ताधारी संसद्वादी पार्टीभित्रको विवाद र विघटन टार्ने षड्यन्त्रस्वरूप योजनाबद्ध रूपमा यसप्रकारको मिथ्या समाचार प्रवाह गर्न लगाइएको केन्द्रीय कार्यालयले जनाएको छ ।

उक्त कपोलकल्पित समाचारको खण्डन गर्दै केन्द्रीय कार्यालयले कसैको गोटी बनेर एक जिम्मेवार राजनीतिक पार्टीविरुद्ध षड्यन्त्र नगर्न पनि उक्त सञ्चारमाध्यमलाई सावधान गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :