नेकपा अछामद्वारा विभिन्न स्थानमा एमसीसी विरुद्ध विरोध प्रदर्शन

नेकपा अछामद्वारा विभिन्न स्थानमा एमसीसी विरुद्ध विरोध प्रदर्शन

अछामः नेपाल कम्युनिष्ट पार्टी अछामले राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्धमा जिल्लाका विभिन्न स्थानमा विरोध सभा सम्पन्न गरेको छ ।पार्टीको केन्द्रीय निर्देशन अनुसार जिल्लाका विभिन्न प्रमुख ठाउँहरुमा मंगलबार विरोध प्रदर्शन तथा विरोध सभा सम्पन्न गरिएका हुन् ।
जिल्लाको तुर्माखाद गाउँपालिकाको धमली, मंगलसेन नगरपालिकाको बस्ती र जयगद बजारमा कार्यक्रम सम्पन्न गरिएका छन् । विरोध कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलहरु र नागरिक समाजको व्यापक समर्थन रहेको थियो ।
जयगड़ बजारमा भएको विरोध प्रदर्शनपछिको सभालाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति सचिवालय सदस्य निरक शाहीले एमसीसी सम्झौता देशको हित विपरित भएको हुँदा देशभक्त नागरिकहरूले यसका विरूद्ध आन्दोलन गरेर अमेरिकी साम्राज्यवादलाई परास्त गर्नुपर्ने कुरामा जोड दिए । उनले एमसीसी जस्तो राष्ट्रघाती सम्झौता संसदबाट अनुमोदन गरेर आउने सांसदहरुलाई अछाममा प्रवेश समेत गर्न नदिने चेतावनी समेत दिए । उक्त कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति सदस्य तिलक बिष्टले संचालन गरेका थिए ।

यता मंगलसेन नगरपालिकाको बस्तीमा भएको कार्यक्रममा प्रमुख वक्ताका रुपमा नेपाल कम्युनिस्ट पार्टी अछामका सचिवालय सदस्य विराट साउदले बोल्दै एमसीसी सम्झौता राष्ट्र र जनताको हितमा नभएकोले एक पटक सम्पूर्ण जनता सडकमा आएर सँघर्ष गर्नुपर्ने आवश्यकता रहेको बताए । उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति सदस्य एवम् मंगलसेन नगर इन्चार्ज तपेन्द्रले समेत धारणा राखेका थिए भने कार्यक्रमको संचालन अखिल (क्रान्तिकारी) अछामका अध्यक्ष दिपेन्द्र जैगडीले गरेका थिए ।
यस्तै तुर्माखाद गाउँपालिकाको धमालीमा विरोध प्रदर्शन तथा सभा सम्पन्न भएको छ। विरोध सभामा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका नेता तपेन्द्र बहादुर शाहीले वर्तमान दलाल राज्यसत्ता छ सय अर्ब कर उठाउन नसक्ने तर विकासका नाममा रास्ट्रघाती परियोजना जबर्जस्ती लाद्न खोजेको भन्दै आपत्ति जनाए । उनले आफुहरु रगत बगाउन तयार रहेको तर देशलाई सङ्कटमा पर्न नदिने प्रतिबद्धता समेत जनाए । उक्त कार्यक्रमको संचालन युवा संगठन अछामका सचिव कुमार क्षेत्रीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :