इलाममा ध्रुबीकरण : जनयुद्धका योद्धा भन्छन्, ‘अन्तिम पटक लड्ने बेला आयो’

इलाममा ध्रुबीकरण : जनयुद्धका योद्धा भन्छन्, ‘अन्तिम पटक लड्ने बेला आयो’

इलाम : केही सहिद परिवार, पुर्व जनमुक्ति सेना र केही युवाहरू नेपाल कम्युनिस्ट पार्टीमा ध्रुवीकृत भएका छन् । शनिबार इलामको माइ नगरपालिकामा आयोजित एक जनभेटघाट कार्यक्रमबाट उनीहरूले नेपाल कम्युनिस्ट पार्टीद्वारा सञ्चालित एकीकृत जनक्रान्तिमा सहभागी हुने घोषणा गरेका हुन् ।

ध्रुबीकृत हुनेहरूमा : बिमल आचार्य, शिव बुढाथोकी, नारायण आचार्य, देबि भट्टराई, इन्द्र आङ्बो, हिक्मत दर्जी, सञ्जिब तिवारी, साङ्गे तामाङ्ग, दिना खाती, दिनेश बलकोटी, सुजन लिम्बु, अनिश मगर, होम बलकोटी, रण खाती, प्रदिप मगर, रञ्जना, सुमन खातीलगायत १७ जना थिए । सबैलाई पार्टीका केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज सुमनसिंहले अविर र दोसल्ला ओढाएर अभिनन्दन गर्दै स्वागत गरेका थिए ।

उक्त कार्यक्रममा सुमनसिंहले मन्तव्य राख्दै क्रान्तिलाई अलपत्र छाडेर जनताको आकाङ्क्षा बिरुद्ध गतिविधि गरिरहेका संसद्वादीहरूको सम्पूर्ण भ्रमको पर्दा च्यातिएको भन्दै अब सबै जनता नेपाल कम्युनिस्ट पार्टीमा ध्रुबीकृत हुँदै जाने बताए । उनले इलामका परिवर्तन प्रेमी जनता वैज्ञानिक समाजवाद स्थापनाको निम्ति जुट्न थालेको र जनमतसङ्ग्रहको बहस तिब्र बन्दै गएको बताए ।

कार्यक्रममा ध्रुबीकरण प्रक्रियामा समाहित हुने सहिद परिवार सदस्य तथा जनयुद्धका घाइते योद्धा बिमल आचार्यले आफूहरूलाई क्रान्ति गर्छौँ भन्नेहरूबाट धोका भएको हुनाले अब सहिदहरूको सपना साकार पार्न एकीकृत जनक्रान्तिमा ध्रुबीकृत हुनैपर्ने बताए । उनले भावुक हुँदै भने, ‘हाम्रो जीवन तहसनहस भयो, यो अन्तिम युद्ध हो भन्दै गीत गाउँदै आयौँ, अब अन्तिम पटक लड्ने बेला आएको छ ।’ उनले एमसीसी जस्तो राष्ट्रघाती सम्झौता गर्न लागिपर्ने संसद्वादीहरूलाई जनताले नछाड्ने पनि बताए ।

ध्रुबीकरण कार्यक्रममा इलाम जिल्ला सचिव मौसमले ध्रुबीकरणको प्रक्रियामा आउनेहरूलाई स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :