नेकपा जिल्ला समिति चितवनको पूर्ण बैठक सम्पन्न

नेकपा जिल्ला समिति चितवनको पूर्ण बैठक सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्ला समितिको पूर्ण बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । भरतपुरस्थित बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको अडिटोरियम हलमा शुक्रबारदेखि बसेको बैठक कार्य विभाजन, सङ्घर्ष, पार्टी निर्माण तथा स्कुलिङ अभियान सञ्चालन गर्ने निर्णय गर्दै सकिएको हो ।

बैठकले विगतमा भएको वडा स्तरिय कार्य विभाजन खारेज गर्दै स्थानीय तह अनुसारको साङ्गठनिक संरचनामा जाने निर्णय गरेको छ । सोही निर्णय अनुसार भरतपुर महानगरपालिकाको इन्चार्जमा दुर्गा सुवेदी, सेक्रेटरीमा राजकुमार तिमिल्सिनालाई तोकिएको छ । त्यसैगरी रत्ननगर नगरपालिकाको इन्चार्जमा रणदिप गौतम, इच्छाकामना गाउँपालिकाको इन्चार्जमा रघुविर शर्मा, कालिका नगरपालिकाको इन्चार्जमा पुरन राई, राप्ती नगरपालिकामा राम सेढाई, खैरहनी नगरपालिकामा अञ्जना र माडी नगरपालिकाको इन्चार्जमा बुद्धि चौधरी र सेक्रेटरीमा रमा गुरुङलाई तोकिएको छ ।

बैठकले आगामी २ महिना जिल्लाका सात वटै स्थानीय तह, विद्यार्थी र मजदुरमा पार्टी निर्माण, सुदृढीकरणका साथै स्कुलिङ अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

जिल्ला सेक्रेटरी मिनप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज सन्देश पौडेल प्रमुख अतिथि रहेका थिए । त्यसैगरी अतिथिमा विशेष कमिटी सेक्रेटरी महेश थारु, विशेष कमिटी सदस्य रुद्र भट्टराईलगायत रहेका थिए । बैठकमा उपस्थित सम्पूर्ण जिल्ला कमिटी सदस्यहरूले आ–आफ्नो कार्यक्षेत्र अनुसारको रिपोर्टिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :