संसद्‌बाट एमसीसी पारित नगर्न महासचिव विप्लवको चेतावनी

संसद्‌बाट एमसीसी पारित नगर्न महासचिव विप्लवको चेतावनी

काठमाडौँ : नेकपाका महासचिव विप्लवले सम्पूर्ण रूपले राष्ट्रहितविरुद्ध रहेको एमसीसीलाई संसद्‌मा दर्ता नगर्न सङ्घीय संसद्का सभामुख, राजनीतिक नेतृत्व र सम्बद्ध सबै निकायलाई विशेष आग्रह गरेका छन् । मङ्गलबार साँझ विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले विभिन्न राजनीतिक पार्टीमा आबद्ध देशभक्त नेता र व्यवस्थापिका संसद् सदस्यहरूलाई पनि एमसीसीविरुद्ध आआफ्नो स्थानबाट सङ्घर्ष गर्न आग्रह गरेका छन् ।

महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध राष्ट्रिय स्वाधीनताका पक्षमा हाम्रो पार्टीसहित विभिन्न राजनीतिक पार्टी र मोर्चाहरूद्वारा आज सम्पन्न संसद् भवन घेराउ, जिल्ला बन्दलगायत देशव्यापी भएका कार्यक्रमहरूमा काठमाडौँको शान्तिपूर्ण घेराउ आन्दोलन र चितवन जिल्ला बन्दका क्रममा राज्यद्वारा गरिएको दमनप्रति हाम्रो पार्टी घोर भत्र्सना गर्दछ ।’

विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनका क्रममा घाइते हुनुभएका हाम्रो पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा पार्टी प्रवक्ता क. प्रकाण्ड, क. प्रेम, प्रकाश, वैज्ञानिक समाजवादी पार्टीका संयोजक क. आहुतीलगायत सबै राजनीतिक पार्टीका नेता–कार्यकर्ता, पेसाकर्मी र सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । गिरफ्तार गरिएका सम्पूर्ण नेता–कार्यकर्ताहरूको तुरुन्त रिहाइको माग गर्दछौँ ।’

महासचिवको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘दमनको डटेर सामना गर्दै राष्ट्रिय स्वाधीनताका लागि आन्दोलनमा नेतृत्व गर्नुहुने सबै राजनीतिक पार्टी, मोर्चा, अभियानका नेतृत्व, राजनीतिक कार्यकर्ता, सञ्चारकर्मी र सम्पूर्ण आदरणीय जनसमुदायप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ । हाम्रो पार्टी सम्पूर्ण रूपले राष्ट्रहितविरुद्ध रहेको एमसीसीलाई संसद्मा दर्ता नगर्न सङ्घीय संसद्का सभामुख, राजनीतिक नेतृत्व र सम्बद्ध सबै निकायलाई विशेष आग्रह गर्दछ । साथै सबै राजनीतिक पार्टीमा आबद्ध देशभक्त नेता र व्यवस्थापिका संसद् सदस्यहरूलाई आफ्नो स्थानबाट सङ्घर्ष गर्न आग्रह गर्दछौँ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘नेपालको सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनताविपरीत हुने भएकाले एमसीसी सम्झौता खारेज गर्न अमेरिकी सरकारसँग आग्रह गर्दछौँ । नेपालका लागि निःस्वार्थ सहयोग हो भने रकम बिनासम्झौता नेपाललाई हस्तान्तरण गर्न माग गर्दछौँ । राष्ट्रघाती एमसीसीविरुद्धको सङ्घर्ष सम्पूर्ण नेपालीहरूको साझा दायित्व हो । यसको खारेज नभएसम्म यो आन्दोलन निरन्तर अघि बढ्नेछ । त्यसैले राष्ट्रिय स्वाधीनताको यो महत्वपूर्ण सङ्घर्षमा आआफ्नो तहबाट सहभागी हुन नेपालका सबै क्षेत्र र देशबाहिर रहनुभएका सबै नेपालीहरूमा हार्दिक अनुरोध गर्दछौँ । साथै कुनै पनि स्थितिमा एमसीसी अघि बढाएको खण्डमा प्रतिरोध सङ्घर्षमा उत्रिनसमेत सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछौँ ।’ प्रेस विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :